गृहपृष्ठ कर्णालीमा ६३ जना संक्रमित थपिए, ७० जना कोरोनामुक्त

कर्णालीमा ६३ जना संक्रमित थपिए, ७० जना कोरोनामुक्त

कर्णाली प्रदेशमा थप ६३ जनामा कोरोनाभाइरस (कोभिड- १९) को संक्रमण पुष्टि भएको छ । प्रदेशका तीनवटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट चार जिल्लाका ६१ र अन्य प्रदेशका दुईजनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा ५८, दैलेख अस्पतालमा गरिएको परीक्षणमा तीन र चौरजहारी पीसीआर परीक्षण प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार बिहीबार कोरोना संक्रमण पुष्टि भएकाहरुमा सुर्खेतका ३९, हुम्लाका १६, दैलेखका चार, रुकुमपश्चिमका दुई र अन्य प्रदेशका दुईजना रहेका छन् । । योसँगै कर्णालीमा हालसम्म कोरोनाभाइरस संक्रमण पुष्टि हुनेको संख्या ६ हजार ५ सय ६ पुगेको छ ।

त्यस्तै बिहीबार नै प्रदेशभरका ७० जना कोरोनामुक्त भएको महाशाखाका प्रमुख बृषबहादुर शाहीले जानकारी दिए । उनका अनुसार प्रदेशभर हालसम्म संक्रमणमुक्त हुनेको संख्या पाँच हजार ९ सय ५८ पुगेको छ । प्रदेशका डोल्पा जिल्लाबाहेक नौ जिल्लामा चारसय २० जना विभिन्न अस्पतालका आइसोलेशन तथा होमआइसोलेशनमा रहेको महाशाखाको तथ्यांक छ । आइसोलेशनमा रहेको सक्रिय संक्रमितहरुमा सुर्खेतमा दुईसय ५८, दैलेखमा ३२, जाजरकोटमा एक, सल्यानमा ५७, रुकुमपश्चिममा १२, जुम्लामा ३५, कालिकोटमा दुई, हुम्लामा २० र मुगुमा तीनजना रहेका छन् ।

हालसम्म कर्णालीमा कोरोना भाइरसको संक्रमणका कारण १८ जनाले ज्यान गुमाइसकेका छन् । जसमा सुर्खेतका नौ, दैलेखका चार, डोल्पाका एक, कालिकोटका एक, रुकुमपश्चिमका एक र अन्य प्रदेशका दुईजना रहेका छन् ।

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु