गृहपृष्ठ ललितपुरमा कोरोना संक्रमणबाट निको हुने दरमा वृद्धि

ललितपुरमा कोरोना संक्रमणबाट निको हुने दरमा वृद्धि

ललितपुरमा कोरोना संक्रमण निको हुनेको संख्या बढेको छ । जिल्लाभर शनिबारसम्म रहेका कूल ११ हजार ६९० संक्रमितमध्ये नौ हजार ६०३ ले स्वास्थ्य लाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ ।

ललितपुरमा सक्रिय संक्रमितको संख्या एक हजार ९६९ र मृतकको संख्या ११८ पुगेको कार्यालय प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । ललितपुर महानगरपालिकामा पनि कोरोना निको हुनेको संख्या बढेको छ । महानगरपालिकामा रहेका कूल सात हजार ७२ संक्रमितमा पाँच हजार ९२६ घर पठाइसकेको कोभिड स्थानीय स्रोत व्यक्ति देवी गुरुङले बताए । उनले भने, ‘महानगरपालिकामा सक्रिय संक्रमित संख्या एक हजार ४५ र मृतकको संख्या ४८ पुगेको छ ।’

त्यसैगरी गोदावरीमा आजसम्म कूल कोरोना संक्रमित संख्या ८९९ र यसमा निको भएर घर फर्कनेको संख्या ६८१ पुगेको नगरपालिकाले जनाएको छ । गोदावरीमा सक्रिय संक्रमित २०४ र मृतकको संख्या १४ पुगेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी गराए । महालक्ष्मी नगरपालिमा संक्रमित संख्या एक हजार ५४६ र यसमा संक्रमणमुक्त भई स्वास्थ्य लाभ गर्नेको संख्या एक हजार ३०० पुगेको छ । नगरपालिमा सक्रिय संक्रमित २३४ र मृतकको संख्या १२ पुगेको सूचना प्रविधि अधिकृत सन्तोष पोखरेलको भनाइ छ ।

कोञ्ज्योसोम गत शुक्रबारदेखि कोरोनामुक्त गाउँपालिका भएको स्वास्थ्य शाखा संयोजक नवलकिशोर महतले बताए । यसअघि कोञ्ज्योसोमका १४ जनालाई कोरोना भएको थियो । गाउँपालिकाका हालसम्म एक व्यक्तिको पनि मृत्यु भएको छैन । महांकालमा कोरोना संक्रमित संख्या १७ पुगेको छ । ती मध्ये १५ डिस्चार्ज भइसकेका गाउँपालिकाले जनाएको छ । महांकलका एक व्यक्ति होम आइसोलेशन र अर्का एक पाटन अस्पतालमा भर्ना भइरहेका स्वास्थ्य शाखा संयोजक ज्ञानेन्द्र चन्दले जानकारी दिए । उनले भने, ‘गाउँपालिकामा कुनै व्यक्तिको कोरोनाका कारण मृत्यु भएको छैन ।’ बागमतीमा कोरोना संक्रमितको संख्या बढी नै रहेको छ । यति नै बढ्यो भने यकिन जानकारी लिन बाँकी रहेको स्वास्थ्य शाखा संयोजक नवराज तिमिल्सिनाले जानकारी दिए ।

महानगरपालिकाले भने कोरोना नियन्त्रणका लागि छ/छ जनाको टोली खटाएर भीडभाड गर्न नदिएको, नगर प्रहरी खटाएर मास्क लगाउन लगाइरहेको र भौतिक दूरीसमेत कायम गर्न लगाइरहेको श्रोत व्यक्ति गुरुङले जानकारी दिए । (रासस)

प्रकाशित समय १८:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु