गृहपृष्ठ पार्टीभित्र विवाद आउनुमा प्रधानमन्त्री ओलीकै कमजोरी : भीम रावल

पार्टीभित्र विवाद आउनुमा प्रधानमन्त्री ओलीकै कमजोरी : भीम रावल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भिम रावलले पार्टीभित्र विवाद आउनुमा प्रधानमन्त्री केपी शर्मा ओलीकै कमजोरी भएको बताएका छन् । धनगढीस्थित पार्टीको प्रदेश कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले स्थायी कमिटीले गरेका निर्णय कार्यान्वयन नगर्नुमा प्रधानमन्त्री ओलीलाई नै दोषी ठहर्‍याएका हुन् ।

स्थायी कमिटीको बैठकले संघिीय सरकार र प्रदेश सरकार हेरफेर गर्ने निर्णय गरे पनि त्यसको कार्यान्वयनमा प्रधानमन्त्रीले ढिलाई गरेको रावलले बताए । कामको मूल्याकंन हेरेर हेरफेर गर्ने भनिए पनि त्यसअनुसार बैठक र छलफल नभएको भन्दै उनले आपत्ति जनाए । स्थायी कमिटी सदस्यहरुका हस्ताक्षरसहित निर्णय गरेर पनि कार्यान्वयन नगर्नुमा प्रधानमन्त्रीको कमजोरी देखिएको रावलको भनाइ थियो । कुनै गुट-उपगुटका लागि सरकार परिवर्तन गर्नु भन्दा पनि सरकारको समीक्षा गर्दै तीव्र गतिमा काम गर्नका लागि मन्त्रिमण्डल हेरफेर गर्ने निर्णय भएको समेत रावलले बताए ।

उनले पार्टी कुनै हालतमा नफुट्ने बताए । नेकपा माटोको हाँडी नभएको भन्दै उनले कुनै व्यक्तिले लठ्ठीले हानेर पाटी फुट्यो भनेर फुट्ने कुनै कमजोर आधारमा बनेको पार्टी नभएको स्पष्ट पारे । आठ लाख कार्यकर्ता भएको पार्टीलाई फुटाएर कसैलाई फाइदा नहुने उनले धारणा राखे । पार्टी विभाजनको लागि पनि आवश्यक प्रक्रिया पुरा गर्नुपर्ने हुँदा त्यो प्रक्रियामा अहिले कोही नरहेको उनले स्पष्ट पारे । उनले भने, ‘पार्टी विभाजन हुन सैद्धान्तिक विषय हुनुपर्छ । त्यसलाई विभाजन गर्ने मान्छेहरूले सहमति गर्ने, पत्रहरूमा हस्ताक्षर गर्ने प्रक्रियामा गएको हुनुपर्छ । अहिलेसम्म त्यस्तो भएको छैन ।’

उनले प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवै पार्टी फुटाउने योजनामा नरहेको बताए । ‘प्रधानमन्त्रीले पार्टी फुटाएर त्योभन्दा ठुलो पद के पाउनुहुन्छ ? किन फुटाउनु हुन्छ ? प्रचण्डले पनि यति विशाल पार्टी फुटाएर के प्राप्ति हुन्छ ?’ उनले भने, ‘दुवै नेता पार्टी फुटाउने कुरामा हुनुहुन्न ।’ नेता रावलले यही १३ गते बोलाइएको सचिवालय र स्थायी कमिटी बैठकसँगै केन्द्रीय कमिटीको बैठकमा विवाद हुने अवस्था देखिए पनि सबै समस्या तथा मनमुटाव समाधान हुने दाबी गरे ।

बोलेका कुरा कार्यान्वयन गर्न चुनौती

नेता रावलले पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई आफूले बोलेका कुरा कार्यान्वयन गरेर देखाउन चुनौती दिएका छन् । नेकपाभित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री ओलीले ‘अब नेतृत्व युवालाई सुम्पनुपर्छ’ भन्दै आएको प्रसंग कोट्याउँदै रावलले सो कुरा बोलेर हैन पार्टीको निर्णयसहित कार्यान्वयन गरेर देखाउन चुनौती दिए । ‘प्रधानमन्त्री ज्यूले पटक-पटक नेतृत्व युवालाई सुम्पिनुपर्छ भन्दै युवामाझ लोकप्रिय बन्ने प्रयत्न गरिरहनु भएको छ,’ नेता रावलले भने, ‘यदि प्रधानमन्त्री साँच्चै त्यसका लागि तयार हुनुभएको हो भने पार्टीबाट निर्णय गरेर सो निर्णय कार्यान्वयन गर्न म चुनौती दिन्छु, अन्यथा बोलेर लोकप्रिय हुने कुरा भ्रम मात्रै हो ।’

नेता रावलले नेतृत्व युवालाई हस्तान्तण गर्न पार्टीले औपचारिक निर्णय गरेको खण्डमा आफू पनि राजनीति त्याग्न तयार रहने बताए । ‘मेरो उमेर ६५ वर्ष भएको छ,’ रावलले भने, ‘पार्टीले ६५ वर्षपछि राजनीति गर्न नपाइने भने निर्णय गरेमा सबैभन्दा पहिला राजनीति त्याग्न म नै तयार हुनेछु ।’

सरकार हेरफेर हुने

रावलले सरकार हेरफेर गर्ने निर्णय भएको खुलासा गरेका छन् । नेता रावलले भदौ २६ गतेको स्थायी कमिटी बैठकले संघीय सरकार र प्रदेश सरकार हेरफेर गर्ने निर्णय भएको बताएका हुन् । ‘भदौ २६ गतेको स्थायी कमिटिको बैठकले प्रदेश सरकार र संघीय सरकार हेरफेर गर्ने निर्णय भएको छ,’ उनले भने, ‘सबै सरकारको मूल्यांकन गर्ने र त्यहाँ के-के हेरफेर गर्ने भन्ने कुरा त प्रष्ट भएको छ । ३ वर्ष बित्दा सरकारको समीक्षा गरेर बाँकी २ वर्षमा अगाडि कसरी बढाउने भन्ने विषयले सरकार फेरबदल गर्ने भनिएको हो ।’

प्रकाशित समय १८:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु