गृहपृष्ठ परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी
परिवार नियोजनमा पुरुषभन्दा महिलाको सहभागिता बढी
परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ । परिवार नियोजनका स्थायी र अस्थायी साधन दुवैमा महिलाको सहभागिता पुरुषभन्दा बढी हुने गरेको पाइएको छ ।
परिवार नियोजनको स्थायी साधन मिनील्याप महिला र भ्यासेक्टोमी पुरुषले गर्ने गरेका छन् । पुरुषमा स्थायी भ्यासेक्टोमी र अस्थायी कण्डम मात्र रहेको तथा महिलामा डिपोप्रोगेरा, इम्प्लाण्ट, पिल्स, कपर टी (आइयुसिडी) अस्थायी र स्थायी मिनील्याप छ । पुरुषप्रधान मुलुक भएको र स्थायी बन्ध्याकरण गर्दा नकारात्मक सन्देश प्रवाह हुँदा पुरुषको सहभागिता कम हुने गरेको बताइएको छ । पुरुषले स्थायी बन्ध्याकरण नगर्दा बाध्य भएर महिलाले गर्नुपरेको बताइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखाका तथ्याङ्क अधिकृत पुष्कर बिजुक्छेका अनुसार विगत चार आर्थिक वर्षमा पुरुषका तुलनामा करिब तीनगुणा महिलाले स्थायी बन्ध्याकरण गरेका छन् । सो चार आवमा भ्याक्सेटोमीमा १३ लाख नौ हजार ९ सय ५३ र मिनील्यापमा ४० लाख ४२ हजार ६ सय ९८ जना सहभागी भए । आव २०७५/७६ मा १० लाख एक हजार ८ सय ६ महिलाले मिनील्याप र तीन लाख १६ हजार २ सय ६७ पुरुषले भ्याक्सेटोमी गराएका छन् ।
यस्तै आव २०७४/७५ मा १० लाख पाँच हजार ८ सय ३० महिला र तीन लाख २५ हजार २ सय ६६ पुरुष, आव २०७३/७४ मा १० लाख ४० हजार ७८ महिला र तीन लाख ४५ हजार ६ सय ३४ पुरुष तथा आव २०७२/७३ मा नौ लाख ९२ हजार ९ सय ८४ महिला र तीन लाख २२ हजार ७ सय ९२ पुरुष स्थायी बन्ध्याकरणमा सहभागी छन् । त्यसो त पुरुषको तुलनामा महिलाले परिवार नियोजनका स्थायी वा अस्थायी साधन बढी प्रयोग गर्दा जोखिमसमेत हुने गरेको छ । एक त शिशु जन्माउनुपर्ने र अर्कातिर परिवार नियोजनका लागि सहभागी हुनुपर्ने जस्ता बाध्यताले जोखिम बढ्ने जनस्वास्थ्यविद्को भनाइ छ । भ्यासेक्टोमीमा पुरुषमा रहेको शुक्रकिट बहने नलीलाई काटिन्छ । मिनील्याप महिलाको डिम्बको दुई नशा काटेर गरिन्छ । पुरुषको बन्ध्याकरण सजिलो र महिलाको मिनील्याप जटिल खालका शल्यक्रिया हुन् ।
परिवारकल्याण महाशाखाका वरिष्ठ नर्सिङ प्रशासक कविता अर्यालले परिवार नियोजनको साधन पुरुषका तुलनामा महिलाको बढी भएकाले स्वाभाविकरूपमा महिलाको सहभागिता बढी हुने बताइन् । उनी महिलाले परिवार नियोजन गर्दा पुरुषका तुलनामा जोखिम रहेको बताउँछिन् । “एक त महिलाले बच्चा जन्माउने गर्दछन् । अर्कातिर स्थायी र अस्थायी साधन पनि महिलाले बढी प्रयोग गर्दछन्”, उनले भनिन्, “त्यही परिवार नियोजनको साधन पुरुषले गर्दा हुन्छ तर पितृसत्तात्मक कारणले महिलाले बढी गरेको पाइन्छ ।” उनी नीति नै ल्याएर पुरुषलाई परिवार नियोजनमा सहभागिता गराउनुपर्ने बताउँछिन् ।
पुरुषले यौनशक्तिमा कमी आउनेजस्ता भ्रमले गर्दा स्थायी बन्ध्याकरण कम हुने गरेको उनी बताउँछिन् । “भ्याक्सेटोमी गर्दा यौन शक्तिमा असहजता आउँछ, यौनशक्तिमा कमी आउँछ जस्ता भ्रमले गर्दा पुरुष भ्याक्सेटोमी गर्न मान्दैनन्”, उनले भनिन्, “तर त्यस्तो केही हुँदैन । भ्रमले गर्दा पुरुष स्थायी बन्ध्याकरणमा सहभागी भएका छैनन् ।”
महाशाखा तथ्यांक अधिकृत बिजुक्छेका अनुसार आव २०७६/७७ मा अस्थायी साधन डिपोप्रोगेरा प्रयोग गर्ने २० वर्षभन्दा मुनिका महिला २१ हजार ३ सय १३ र २० वर्षभन्दा माथिका दुई लाख ५० हजार २ सय ४६ जना तथा कपर टी प्रयोग गर्ने २० वर्षभन्दा मुनिका ६ सय ६७ र २० वर्षभन्दा माथिका १३ हजार ८ सय ४३ जना छन् । यस्तै इम्प्लाण्ट गर्ने २० वर्षमुनिका तीन हजार ८ सय ६९ र २० वर्षभन्दा माथिका ८३ हजार ७ सय ४२ तथा पिल्स प्रयोग गर्ने २० वर्षमुनिका ११ हजार ३ सय ९२ र २० वर्षभन्दा माथिका एक लाख ३४ हजार ८ सय ७७ जना छन् ।
यस्तै पुरुषका लागि अस्थायी साधन कण्डम आव २०७६/७७ मा दुई करोड ४३ लाख ७७ हजार ९ सय ७९ वितरण गरिएको छ । एक जनाले १ सय ५० वटा प्रयोग गरेपछि मात्र गर्भनिरोधक मानिन्छ । महाशाखाको तथ्यांकअनुसार एक लाख ६२ हजार ५ सय २० जना गत आवमा गर्भनिरोधक रहेको मानिएको छ । आव २०७५/७६ मा दुई करोड ८१ लाख ८१ हजार ७ सय ७, आव २०७४/७५ मा दुई करोड ९२ लाख ३३ हजार २१, आव २०७३/७४ मा तीन करोड ३१ लाख ९६ हजार ६ सय १८ र आव २०७२/७३ मा तीन करोड ३० लाख २८ हजार ७० वटा कण्डम वितरण गरिएको छ ।
जनस्वास्थ्यविद् तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका स्वास्थ्य सल्लाहकार डा खेमबहादुर कार्कीले हाम्रो मुलुकमा पितृसत्तात्मक समाजको असर परिवार नियोजनमा पनि देखिएको बताए । “परिवार नियोजनका स्थायी र अस्थायी साधन पुरुषको महिलाको भन्दा सस्तो र सजिलो छ”, उनले भने, “तर पुरुषप्रधान समाज भएकाले पुरुष आफैँले परिवार नियोजन नगरेर महिलालाई बाध्य बनाउने गर्छ ।” स्थायी बन्ध्याकरणको कुरा आर्थिक सशक्तीकरणसँग पनि जोडिएकाले महिलाले परिवार नियोजनको साधन बढी प्रयाग गर्ने गरेको उनी बताउँछन् ।
“श्रीमतीले पनि श्रीमानले बन्ध्याकरण गर्दा कमजोर हुन्छन्, आर्थिक उपार्जन गर्न सक्दैनन् जस्ता कारण देखाएर आफूले नै स्थायी बन्ध्याकरण गर्ने गरेको पाइएको छ”, उनले भने, “अब महिला पनि आर्थिक सशक्तीकरणमा बढ्दै गएकाले परिवर्तन आउने छ ।” उनले महिला पुरुषको दुवैको आर्थिकोपार्जनमा उत्तिकै सहभागिता देखिन थालेकाले महिलाले मात्र नभई पुरुष पनि परिवार नियोजन गर्नका लागि सचेत हुनुपर्ने बताए ।
जनस्वास्थ्यविद् डा. लक्ष्मी तामाङ स्थायी बन्ध्याकरण गर्दा नपुसङ्क हुने र कण्डम प्रयोग गर्दा सन्तुष्टि हुँदैन भन्ने भ्रमका कारण पुरुषको परिवार नियोजनमा सहभागिता कम भएको बताउँछिन् । “पुरुषमा परिवार नियोजनका स्थायी र अस्थायी साधन प्रयोग गर्दा नकारात्मक कुरा बढी फैलाइएको छ । भ्याक्सेटोमी सरल छ, यसबाट कुनै नकारात्मक असर पर्दैन । कण्डम प्रयोग गर्दा पनि कतै कुनै साइड इफेक्ट गर्दैन”, उनले भनिन्, “तर अज्ञान र भ्रमका कारण पुरुषले आफू परिवार नियोजन स्थायी वा अस्थायी साधन प्रयोग नगरी महिलालाई गर्न लगाउँछन् ।”
उनले महिलाले स्थायी र अस्थायी साधन प्रयोग गर्दा कम्तीमा तीन महिना कुनै न कुनै रुपमा साइड इफेक्ट पर्ने गरे तापनि पुरुषले बाध्य भएर महिलालाई नै परिवार नियोजनमा सहभागिता गराउने गरेको बताइन् । उनी पुरुषको परिवार नियोजनमा सहभागिता गराउनका लागि स्थानीय तहमा नै सचेतना फैलाउनुपर्नेमा जोड दिन्छिन् । (रासस)
प्रकाशित समय १७:२९ बजे

















