गृहपृष्ठ स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा विद्यालयमा बढ्यो संक्रमणको जोखिम

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा विद्यालयमा बढ्यो संक्रमणको जोखिम

वीरेन्द्रनगर नगरपालिका- ११, झुप्राखोलामा रहेको नवजीवन प्राथमिक विद्यालयमा करिब ७० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा आउने बस्तीका विद्यार्थी कसैले पनि कोरोनाभाइरस (कोभिड- १९) को संक्रमणबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दैनन् । न उनीहरुलाई बारम्बार हात धुनको लागि प्रशस्त पानी नै छ नत उनीहरुले मास्क र स्यानिटाजरकै प्रयोग गरेका छन् ।

विद्यालयको सानो प्रांगणमा कक्षा एकदेखि पाँच सम्मका विद्यार्थीहरु दुरी कायम नगरिकनै हिँड्छन् । शिक्षकहरुले समेत कोरोनाभाइरसबाट बच्नको लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रयोग गरेका छैनन् । महामारीका बिच विद्यालय सञ्चालनका लागि नेपाल सरकारले स्थानीय तहलाई नै जिम्मा दिएको छ ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर- ६ मा यो शैक्षिक सत्रमा करिब ६ सय विद्यार्थी भर्ना भएका छन् । उनीहरु मास्क लगाएर विद्यालय आउने भए पनि दुरी भने काम गर्दैनन् । विद्यालयका सबै विद्यार्थीहरु पहिलेकै जसरी खुला रुपमा हिँड्छन् । महामारीका बिच विद्यालयहरुले पठनपाठन कार्य सुरु गरे पनि स्वास्थ्य सुरक्षा सावधानी भने गरेको पाइँदैन । सामाजिक दुरी कायम, मास्क, स्यानिटाइजर प्रयोग गरी अध्ययन अध्यापन गर्नुपर्ने भए पनि विद्यालयहरुले भने लापर्बाही गर्दै आएका हुन् ।

अभिभावक छविलाल वादीले झुप्राखोलामा न्यून आर्थिक स्थिति भएका समुदाय बस्ने भएकाले स्वास्थ्य सुरक्षाको सामग्री प्रयोग गर्न नसक्ने बताए । केही समयअगाडि वडा कार्यालयको मास्क तथा स्यानिटाइजर सकिएकाले पनि उनीहरु मास्क नलगाई विद्यालय जाने गरेको छविलालले बताए ।

विद्यालयकी सहायक प्रधानाध्यापक निर्मला चपाईले विद्यार्थीहरुलाई जति भन्दा पनि नमान्ने बताइन् । ‘हामीले वडाबाट आएको मास्क र स्यानिटाइजर वितरण गरिसकेका छौं,’ उनले भनिन्, ‘यस विषयमा विद्यालयभन्दा पनि अभिभावक र स्थानीय सरकार सचेत हुनुपर्छ ।’ उनले झुप्राखोला विकट भएकाले पनि भनेको समयमा स्वास्थय सुरक्षाका सामग्रीहरु नपाउने जानकारी दिइन् ।

प्रधानाध्यापक गणेशकुमार न्यौपानेले दसैंतिहारपछि अपेक्षाभन्दा बढी विद्यार्थी आएकोले व्यवस्थापन गर्न समस्या भएको बताए । उनका अनुसार आगामी दिनमा सिफ्टअनुसार अध्यापन गर्ने विद्यालयले तयारी गरिरहेको छ । गत चैत्रदेखि सम्पूर्ण रुपमा पठनपाठन बन्द भएका विद्यालयहरु खोल्नका लागि नेपाल सरकारले स्थानीय तहलाई जिम्मा दिएको छ । तर विद्यालयहरुले भने लापर्बाही तरिकाले पठनपाठन सुरु गरेका छन् । सम्बन्धित स्थानीय तहहरुले समेत अनुगमन गरेका छैनन् । जसले गर्दा कोरोना संक्रमण फैलिने जोखिम झनै बढेको हो ।

प्रकाशित समय १८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु