गृहपृष्ठ नेउवा महासंघमा पदभार हस्तान्तरण
नेउवा महासंघमा पदभार हस्तान्तरण
निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको शनिबार सम्पन्न साधारण सभाबाट निर्वाचित नयाँ कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ ।
साधारण सभाबाट शेखर गोल्छा स्वतः अध्यक्षमा चयन भएका थिए भने वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल, उपाध्यक्षहरूमा दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघाइ निर्वाचित भएका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले आफ्ना हजुरबुवा स्व. रामलाल गोल्छाले नेपालको पहिलो उद्योग खोल्नेदेखि आफ्ना बुवा हुलासचन्द्र गोल्छा तथा दाजु दिवाकर गोल्छाले महासंघको संस्थागत विकासमा गरेको योगदानको स्मरण गर्दै आफूले महासंघलाई संगठित बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
निर्वाचनका क्रममा गुट-उपगुट सिर्जना भए पनि अब एकताका पक्षमा आफू लाग्ने भन्दै उनले महासंघको गरिमा अगाडि बढाउन आफूले तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना आफूले बनाएको बताए ।
निर्वाचित पदाधिकारी र कार्यकारी सदस्यहरूलाई मुख्य निर्वाचन अधिकृत उपेन्द्रकेशरी न्याैपाने र निर्वाचन अधिकृतहरू लीलामणी पाैडेल र रमण कर्णले प्रमाणपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष भवानी राणाले नवनिर्वाचित अध्यक्ष गोल्छालाई र गोल्छाले पदाधिकारी र कार्यकारी सदस्यहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।
सो अवसरमा कान्तिपुर दैनिकका कृष्ण आचार्य, कारोबारका विपेन्द्र कार्की, न्युज २४ का नवराज चालिसे, शिलापत्रका भागवत भट्टराई, दिलीप पौडेल, हिमाल पौडेल, ऋषि धमलासहित विभिन्न सञ्चारमाध्यमका सात जना पत्रकारहरूलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो ।
प्रकाशित समय १८:४१ बजे

















