गृहपृष्ठ कैलालीमा पनि कोरोनाविरुद्धको दोस्रो चरणको खोप सुरू

कैलालीमा पनि कोरोनाविरुद्धको दोस्रो चरणको खोप सुरू

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुुरु गरेको दोस्रो चरणको खोपअन्तर्गत पहिलो खोप लगाए । वडले खोप लगाएपछि अभियान नै सुरु भएको छ ।

आइतबारबाट सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिहरुलाई पनि कोरोना खोप उपलब्ध गराउन सुरु गरेसँगै धनगढीमा पनि खोप अभियान सुरु भएको हो । उपमहानगरपालिका प्रमुख वडले भने, ‘हामीले सबै नागरिकलाई खोप कार्यक्रममा सहभागी हुन आग्रह गरेका छौं ।’ वडसँगै पत्रकार दीपक नेपालले पनि पहिलो खोप लगाए । नेपालले खोपप्रति आम नागरिकमा सकारात्मक सन्देश प्रवाहका लागि आफूले पहिलो खोप लगाएको बताए ।

दोस्रो चरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २ गतेबाट ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका जनप्रतिनिधिहरुलाई खोप लगाउन सुरु गरेको हो ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले दोस्रो चरणमा कैलालीमा पाँच हजार नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको जानकारी दिए । उनले भने, ‘कैलालीमा पहिलो चरणमा पाँच हजारलाई खोप लगाउने तयारी गरेका छौं । त्यसपछि जिल्लाका विभिन्न स्थानबाट खोप लगाउने तयारी गर्नेछौं ।’ उनले पहिलो प्राथमिकतामा परेका तर, लगाउन छुटेकाहरुलाई पनि यसै चरणमा खोप उपलब्ध गराइने बताए ।

सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शववाहन चालक, सीमा सुरक्षामा खटिएकाहरुलाई खोप उपलब्ध गएको थियो । खोप लगाउन जाँदा आफ्नो कार्यालयको परिचय पत्र साथमै लिएर जानुपर्ने छ ।

नेपाल सरकारले माघ १४ गतेबाट कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको थियो । नेपालमा कोरोनाविरुद्ध कोभिसिल्ड खोप प्रयोगमा ल्याइएको छ । कोभिसिल्ड खोप भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको हो । यो खोप ७० प्रतिशत प्रभावकारी मानिएको छ । खोपले कुनै असर नगर्ने भएकाले निर्धक्कका साथ खोप लगाउन सरकारले सबैमा सरकाले अपिल गरेको छ ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु