गृहपृष्ठ त्रिविमा ठूलो घोटाला छ, छानविन हुनुपर्छ : नेविसंघ
त्रिविमा ठूलो घोटाला छ, छानविन हुनुपर्छ : नेविसंघ
बुधबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी संघले गरेकाे पत्रकार सम्मेलन ।
नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले त्रिविका प्राध्यापकहरुले ठूलो आर्थिक घोटाला तथा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा नेपाल विद्यार्थी संघ, त्रिभुवन विश्वविद्यालय समितिले पत्रकार सम्मेलन गरेर युएसएआइडीमार्फत मानवशास्त्र संकायका प्राध्यापकहरुले ठूलो आर्थिकसँगै नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएको छ ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका सभापति हरि आचार्यले विदेशी अनुदानबाट आएको करोडौं रुपैयाँ अनुशन्धानमा खर्च नगरेर त्रिविका कर्मचारीहरुले आफ्नो खल्तीमा हाल्ने गरेको आरोप लगाएका छन् । ‘हाम्रो मान्यता त्रिविका सम्पूर्ण विभागहरु विद्यार्थीको हित र पक्षमा बन्न सक्नुपर्छ भन्ने हो । अध्ययन अनुशन्धानमा विभागहरु क्रियाशील हुनुपर्छ भन्ने हो,’ आचार्यले भने, ‘तर, त्रिविको लोगो र स्ट्याम्पसमेत दुरुपयोग गरी अनधिकृत रुपमा कार्यालय खडा गरेर वार्षिक लाखौं रकम बुझ्ने गरेका छन् ।’
उनले भने, ‘त्रिविका भीसी, रेक्टर र रजिष्ट्रारसमेत यस कार्यमा संलग्न छन् भन्ने हाम्रो आशंका छ, नत्र त्रिविको लोगो र स्ट्याम कसरी दुरुपयोग भयो ? विदेशी प्रोजेक्टलाई त्रिविको विधानभित्र रहेर क्रियाकलापहरु गर्न पाइने भनिएको छ, तर युएसएआइडीसँग मिलेर यस्तो काम भएको छ, त्रिविका कार्यकारी पदाधिकारीहरुको अनुमतिविना यो काम कसरी भयो ? कति आर्थिक दुरुपयोग भयो ? त्यसका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बोल्नुपर्छ ।’
आफूहरुले मानव संकाय प्रमुख प्रा.डा. लयप्रसाद उप्रेतीलाई यसबारेमा छलफल गरौं भन्दा उनले मानव शास्त्रको विभागीय प्रमुखको जिम्मेवारीबाट राजिनामा दिएको उल्लेख गर्दै आचार्यले भने, ‘राजिनामा दिएर पन्छिन मिल्दैन । त्यो समाधान होइन, त्रिविलाई राम्रो र हाम्रो बनाउने हो भने त्रिविका कार्यकारी पदमा रहेका विशिष्ट व्यक्तिदेखि कर्मचारीसम्मले सच्चिनुपर्छ, यो नेविसंघको माग हो ।’
नेपाल, नेपाली र त्रिविको हितविपरित विदेशी संस्थाहरुबाट आएका कुनै पनि प्रोजेक्टलाई त्रिविका पदाधिकारीहरुले अस्वीकार गर्नुपर्ने आफूहरुको माग गरहेको उनले बताए । उनले कार्यकारी परिषद्को स्वीकृतिबिना कुनै पनि विदेशी अनुदान लिएर अनुशन्धानलगायतका अन्य कार्यक्रमहरु गर्न नपाइने पनि बताए ।
त्रिविको लोगो दुरुपयोग गर्नेलाई कडा भन्दा कडा कानुनी कारबाही हुनुपर्ने आचार्यले बताए । उनले भने, ‘कुनैबेला ४ हजार विद्यार्थीहरुले मानवशास्त्र पढ्ने गर्दथे, तर आज ४ जना विद्यार्थी मुस्किलले भेटिन्छन्, कसका कारणले यो स्थिति आयो ? त्रिविले यस बारेमा कुनै चिन्ता गर्नु पर्दैन ? एउटा प्राध्यापक भएर पनि विदेशी एनजिओको पैसा खाएर बस्ने ? कुनै नैतिकताले उहाँहरुलाई छोएकोजस्तो देखिँदैन ।’
कार्यक्रममा नेविसंघ त्रिविका उपाध्यक्षद्धय रोहन महतारा र दिनेश लामिछाने, सचिव दुर्गा घिमिरे, नेता वशन्त पौडेललगायतले त्रिविका समस्याहरु समाधान गर्न सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
प्रकाशित समय १५:४७ बजे

















