गृहपृष्ठ स्वास्थ्य बिमा गर्दा फाइदै फाइदा छ : डा. भुवन पौडेल

स्वास्थ्य बिमा गर्दा फाइदै फाइदा छ : डा. भुवन पौडेल

चार वर्षअघि कैलालीबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम विस्तारका लागि सरकारले बर्सेनी बजेट बढाइरहेको छ । चालू आर्थिक वर्ष ०७५/७६ मा यो कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर, बिमितको आकर्षण भने उत्साहजनक छैन । यसै सन्दर्भमा स्वास्थ्य बिमा कार्यक्रमको प्रभाव, सम्भावना र चुनौतीलगायतमा केन्द्रित रही स्वास्थ्य मन्त्रालय मातहतको महत्वपूर्ण मानिने स्वास्थ्य बिमा बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलसँग सञ्जय श्रेष्ठले गरेको कुराकानी ।

स्वास्थ्य बिमा कार्यक्रमको उद्देश्य के हो ?
सबै नेपालीलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । यसको अर्थ, नागरिकको स्वास्थ्य जोखिम सरकारले ग्रहण गर्ने भन्ने हो ।

स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको तीन वर्ष भइसकेको छ । अहिलेसम्म कति नागरिकले गरे त स्वास्थ्य बिमा ?
बिमा कार्यक्रममा नागरिक सहभागीता बढ्दो छ । अहिलेसम्म १२ लाख ५० हजार नागरीकले स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । यो क्रम जारी रहेकाले चालू वर्षमा गुणात्मक रुपमा थपिने हाम्रो अपेक्षा छ । यो आर्थिक बर्षमा कार्यक्रमलाई हामी सबै जिल्लामा विस्तार गर्ने तयारीमा छौँ ।
अहिलेसम्म कति जिल्लामा सञ्चालित छ र कति जिल्लामा संचालन गर्ने तयारी छ ?
अहिलेसम्म आउँदा ३६ वटा जिल्लामा कार्यक्रम चलिरहेको छ । अन्य ९ वटा जिल्लामा संचालनको तयारी भइरहेको छ ।

स्वास्थ्य बिमा कार्यक्रम कुन जिल्लामा बढी प्रभावकारी छ ?
यो चाहिँ ठ्याक्कै भन्न गार्हो छ । अब बिमितको आधारमा भन्ने हो भने सबैभन्दा बढी छन् । यो जिल्लाको जनसंख्याको करिब ५० प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । त्यस्तै झापा, चितवनलगायतका जिल्लामा पनि कार्यक्रम प्रभावकारी छ । कतिपय जिल्लामा २÷३ प्रतिशतमै पनि सीमित छ । सेवा प्रदायक सस्थाहरुको सहज पहुँच भएका जिल्लामा बढी प्रभावकारी छ । धेरैजसो जिल्लामा कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।

स्वास्थ्य बिमा कार्यक्रम खासै प्रभावकारी हुन नसक्नुको कारण के हो ?
सेवा सुविधा राम्रोसँग पाइने जिल्लामा कार्यक्रमको प्रभावकारीता राम्रो छ । तर, सहज रुपमा सेवा पाउन नसकिने जिल्लामा पनि निराशाजनक नै छ । एक जिल्लाबाट अर्को जिल्लामा जानुपर्ने अवस्था रहेकाले पनि त्यस्ता जिल्लामा कार्यक्रम प्रभावकारी हुन नसकेको हो । स्वास्थ्यको भौतिक पूर्वधार कमजोर भएका जिल्लामा र शिक्षा तथा जनचेतनाको कमी भएको जिल्लामा बिमाको प्रभाव कम छ । यसमा कुनमा बढी प्रभाव र कम प्रभावभन्दा पनि हामीले यसलाई कसरी परिचालन गरेका छौं तथा सेवा सुबिधालाई कसरी प्रदान गरीएको छ, त्यसले मुख्य भूमिका निर्वाह गर्छ भन्ने लाग्छ ।

स्वास्थ्य बिमा नविकरण नगर्नेको संख्या पनि बढी नै छ भनिन्छ, कति छ यसको प्रतिशत ?
स्वास्थ्य बिमा नबिकरण नगर्नेको संख्या ५० प्रतिशतकै हाराहारीमा छ । बिमितहरुले नविकरण नगर्नुको कारण विभिन्न छन् । आफ्नो अपेक्षाअनुसार सेवा पाउन नसक्नु र नविकरणको समय थाहा नहुनु दुई कारण मुख्य हुन् ।
राज्यले तोकिदिएको सेवा सुविधा तल्लो तहमा सेवा प्रदायकले नदिँदा बिमितहरु निराश बन्ने गरेका छन् । जसका कारण धेरै चाहिँ कार्यक्रममा सहभागी नै हुन रुचाउँदैनन् भने सहभागी भएकाहरु नविकरण गर्दैनन् । त्यसो त, बिमितहरुमै पनि सरकारले सञ्चालन गरेको कार्यक्रम भनेपछि अपेक्षा र महत्वाकांक्षा निकै बढी हुन्छ । तर, उनीहरुले गरेको अपेक्षा मिट भएन भने पनि नविकरण नगर्ने निर्णय लिन पुगेका हामीले पाएका छौँ । उदाहरणका लागि, बिमा गर्ने मान्छेले अस्पतालमा लाइन बस्न नचाहानु ।

नागरिकले बिमा नविकरण नगर्नु भनेको त बिमाप्रतिको विकर्षण भएन र ?
बिमाप्रती आमनागरिक विकर्षित नै भएको अवस्था छैन । बिमा गरिसकेपछि त्यसबाट पाउने सेवा सुविधाप्रति नागरिकले चित्त नबुझाएका हुन् । बिमामा आकर्षण नै नभएर आमनागरिक निराश भएका होइनन्, हाम्रा संयन्त्रको कामकार्बाही सुधार्न उनीहरुले भनिरहेका हुन् जस्तो मलाई लाग्छ ।
हाम्रो बिमा योजना विश्वको बिमा योजनाभन्दा फरक ढङ्गको छ । अन्य देशमा औपचारीक क्षेत्रबाट सुरु गरेको पाइन्छ, तर हामीले अनौपचारीक क्षेत्रबाट सुरु ग¥यौं । त्यसले गर्दा हामी अलि तल देखिएका छौँ । खासगरी बिमा योजना भनेको निम्न वर्ग जो आधारभूत स्वास्थ्य सेवासम्म पनि पहुँच नहुनेहरुका लागि ल्याइएको अवधारणा हो । यो योजनालाई प्रभावकारी बनाउन हामीले जनस्तरको अवस्थालाई हेरेर योजना बनाएको छौं । नेपालमा सबै भूगोलको अवस्था एउटै छैन, सबै नागरीकको अवस्था एउटै छैन, सहर र गाउँको अवस्था एउटै छैन । हामीले बिमालाई सेवाको रुपमा विकास गर्न खोजेको छौं न कि व्यापारको रुपमा ।

प्राइभेट बिमा कम्पनीसँग सहकार्य नगर्नुको कारण के हो ?
म फेरि दोहोर्याउँछु कि हामी व्यापार नभइ सेवाका रुपमा बिमालाई अघि सारिरहेका छौँ । प्राइभेट बिमा कम्पनीहरु नाफामूलक संस्था हुन् । कसरी नाफा कामउने भन्नेमा उनीहरुको ध्यान हुन्छ । त्यसैले अहिले हामीले सहकार्य गर्ने कुरा छैन । तर, हामी बिमा कम्पनीसँग यो कार्यक्रमलाई कसरी अगाडी बढाउने र धेरैभन्दा धेरै नागरिकसम्म पुर्याउने भन्ने विषयमा छलफल भने गरिरहेका छौँ । हुनेखाने र सम्पन्न वर्गले सहर केन्द्रित प्राइभेट कम्पनीमा बिमा गरेको पाइन्छ । हामीले सिमान्तकृत वर्गलाई बिमाको दायरामा ल्याइ स्वास्थ्य सेवामा सहज पहुँचको अवस्था सृजना गर्ने गरी काम गरिरहेका छौँ ।
अघिल्लो वर्ष कति स्वस्थ्य बिमा शुल्क संकलन भयो ?
५१ करोड बिमा शुल्क संकलन भयो । ६० करोड भुक्तानी दियौं ।

यो वर्षको अवस्था के छ ?
यो बर्षको प्रिमियम कार्तिक मसान्तसम्म संकलन हुन्छ । त्यसपछि थाहा हुन्छ ।

अहिलेसम्म कति दाबी परेको छ ?
६० करोडको आसपासमा दाबी परेको छ । सबै दाबी सही हुँदैन । कतीपय अवस्थामा दाबी नगर्नुपर्ने केस पनि आएको छ ।

सेवा प्रदायक कति क्रियाशिल छन् ?
२ सयभन्दा बढी सेवा प्रदायक संस्थाहरु सक्रिय छन् ।

यो वर्ष स्वास्थ्य बिमाका लागि ६ अर्ब रुपैयाँ छुटिएको छ ? के छन् कार्यक्रमलाई प्रभावकारी बनाउने योजना ? सबै बोर्डले खर्च गर्ने हो ?
यो आर्थिक बर्षका लागि सरकारले बिमा बोर्डलार्ई ६ अर्ब रकम छुट्याएको छ । सबै रकम बिमा बोर्डले नै खर्च गर्छ । सबैभन्दा बढी खर्च सेवा प्रदायक संस्थाहरुलाई दिइन्छ । बोर्ड मातहत रहेका कर्मचारीलाई तलब, भत्ता, आवश्यक सामाग्री खरिद, प्रचार–प्रसार, भुक्तानी, कतीपय सेवा प्रदायक संस्थालाई मोबाइल, ल्यापटप खरिद तथा अन्य विभिन्न कार्यक्रम शीर्षकमा यो रकम खर्च गरिने छ । हामी पोलीसी बनाएर बिमालाई प्रभावकारी बनाउन लागेका छौँ । यो स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण शाखा पनि हो ।

कति जति खर्च होला यसपटक ?
अहिले हामीले बनाएको योजना अनुरुप हामीले सबै रकम खर्च गर्ने छौं । हामी ७७ वटै जिल्लामा जाने हो भने यो रकम खर्च हुन्छ नै । हामीले गर्ने कार्यक्रम तथा भुक्तानीमा कति हुन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । काम गर्दै जाने क्रममा कुनै पनि समस्या आएन भने सबै रकम खर्च हुन्छ । बिमीतहरुले लिने सेवाले पनि रकम कति खर्च हुन्छ भन्ने कुराको निर्धारण गर्छ ।

स्वास्थ्य बिमा कार्यक्रम विस्तारमा स्वास्थ्य बिमा बोर्डको भूमिका के हो ?
स्वास्थ्य बिमा कार्यक्रमलाई बिस्तार गर्न र यसलाई प्रभावकारी बनाउन सबैभन्दा बढी भुमिका स्वास्थ्य बिमा बोर्डकै हुन्छ । नागरिकलाई बिमाबारे जनचेतना प्रदान गर्ने, बिमा गराउनेदेखी यस किसिमको बिमा योजना पनि स्वास्थ्य बिमा बोर्डले नै गर्ने गर्दछ । त्यसैले बिमा बिस्तारको पहिलो भूमिका नै बिमा बोर्डको हुन्छ । तर, स्वास्थ्य सेवा दिने कुरामा हामीले मात्र गरेर हुँदैन । स्थानीय सरकार, प्रदेश सरकारलगायतको पनि हामीलाई महत्वपूर्ण सहयोगको आवश्यकता पर्दछ ।

प्रकाशित समय १५:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु