गृहपृष्ठ तिहारलार्इ हेल्थ टिप्स : अत्यधिक गुलियाे र चिल्लोकाे असरै असर

तिहारलार्इ हेल्थ टिप्स : अत्यधिक गुलियाे र चिल्लोकाे असरै असर

तिहारलाई फूल र बत्तीको पर्व मानिन्छ । झिलिमिली बत्तीको उज्यालोसँगै देउसी–भैलो खेल्नु तिहारको मौलिक विशेषता हो । तिहारमा अत्यधिक मात्रामा गुलियो, चिल्लोको प्रयोग पनि हुने गर्दछ । तिहारमा दिदीबहीनीले दाजुभाइलाई टिका लगाएपछि चिल्लो र गुलियो परिकार दिने गर्दछन् । तर, गुलियो र चिल्लो बढीमात्र खाँनु स्वास्थ्यका लागि हानीकारण मानिन्छ । विज्ञहरुले दिएको रायअनुसार गुलियो र चिल्लोबाट बँच्ने निम्न किसिमका उपाय अपनाउन सकिन्छ ।

१. हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनरसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ । रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ ।

२. तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो हुन्छ, थोरै मात्रामा सेवन गर्नु उत्तम हुन्छ ।

३. घ्यू र बोसोमा हानिकार एनिमल फ्याक्ट हुन्छ, सकेसम्म तेलमा सेलरोटी पकाउनु सबै भन्दा उत्तम हुन्छ ।

४. गुणस्तरहीन तेलमा रहेका रसायनले दीर्घकालीन असर गर्छ । शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुन्छ ।

५. हट लेमनले चिल्लोलाई काट्न सहयोग गर्छ । सेलरोटीसँगै फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नु राम्रो हुन्छ ।

६. सेलरोटी खानुअघि केही खाने कुरा खानुपर्छ । खाली पेटमा सेलरोटी खाँदा अम्लपित्त अर्थात एसिडिटी बढ्छ ।

७. पसिना आउन्जेल व्यायाम गर्नुपर्छ वा दैनिक एक घण्टा हिँड्नु स्वास्थ्यको लागि राम्रो हुन्छ ।

८. मधुमेह, उच्च रक्तचाप, एसिडिटी आदि भएको व्यक्तिले सेलरोटी नखानु नै राम्रो हुन्छ । खानै परे एकदमै कम खानुहोला ।

९. अनिधो बस्दा शरीरमा पानीको मात्र कम हुने, मानसिक तनाव हुने एवं व्यायाम नहुने भएकोले अनिधो बस्नै परे समयमा खाना, पानी, निन्द्रा, व्यायाम आदिको समेत आफ्नो दैनिकीमा जोड्नु पर्छ ।

१०. चिल्लो र मदिरा सेवनले मुटु, पेट, कलेजो तथा किड्नीको समस्या आउन सक्छ । तसर्थ मदिरा सेवन नगर्नुहोला ।

११. लामो समयसम्म बन्द कोठामा सेलरोटी पकाउँदा, तेलको दियो वा मैनबत्ती बाल्दा स्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्छ । खुला ठाउँमा पकाउने, बेलाबेला बाहिरको हावामा फ्रेस हुने तथा सुत्ने बेलामा दियो एवं मैनबत्ती निभाउनु पर्छ ।

१२. तिहारमा प्रयोग गरिने रङमा विभिन्न केमिकल मिसाएको कारण हात, निधार आदिमा एलर्जी हुनसक्छ । रङको प्रयोग निकै कम गर्नुहोला ।

१३. तिहार सकिएपछि एकपटक रक्तचाप, मधुमेह, कोलेस्टेरोल, किड्नी तथा लिभरको फंक्सन आदि जाँच गराउनुहोला ।

अत्यधिक गुलियोको असर कस्तो हुन्छ ?

कमजोर महशुस

गुलियो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरीरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ ।

सुगरको कुलत

अत्यधिक गुलियो सेवन गर्नुको अर्काे हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो । किनभने, जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ । निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ ।

छालामा समस्या

गुलियोले छालामा गम्भीर असर गर्छ । निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ ।

निराश र चिन्ता

चिनीका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन् । गुलियोले मानिसलाई बढी आक्रामक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई धमिलो बनाउँछ ।

रुघाखोकीको जोखिम

गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ र दीर्घ रोगको सम्भावना बढाउँछ । तपाईलाई बारम्बार रुघा लागेको छ भने चिनी वा गुलियोको परिणाम बढी भएको हुनुपर्छ । गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ ।

अस्वाभाविक तौल बृद्धि

तपाईलाई थाहा हुनुपर्छ, चिनीले शरिरमा विभिन्न समस्या ल्याउँछ । गुलियो खाँदा केही दिनमा नै अस्वाभाविक तौल बढ्छ । सुगर र परिष्किृत कार्बोहाईड्रेडले शरिरको तौल ह्वात्तै बढाउँछ । तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ ।

प्रकाशित समय १३:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु