गृहपृष्ठ लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहुविषय अध्ययनमा जान सुझाव
लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बहुविषय अध्ययनमा जान सुझाव
लुम्बिनी बौद्ध विश्वविद्यालयले १४औं वार्षिकोत्सव साताव्यापी रुपमा मनाउन थालेको छ । वार्षिकोत्सवमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री एवं सांसद विष्णु पौडेलले कानुन संशोधन गरेरै बहुविषय अध्ययनमा विश्विद्यालय जानुपर्ने बताए ।
लुम्बिनी, बौद्ध दर्शन र विश्वविद्यालय एक–अर्काका परिपुरक भएर अघि बढ्दा समग्र क्षेत्रको विकास हुने उनको भनाइ छ । विश्वविद्यालयका लागि पूर्वाधार निर्माण गर्न १०० बिघा जमिन आवश्यक रहने र त्यसको प्रक्रिया छिट्टै टुंगिने विश्वाससमेत उनले दिलाए । जनस्तरबाट सञ्चालन हुने ऐन भए पनि सरकारले बजेट विनियोजन गर्दै बौद्ध शिक्षाको विकासमा योगदान पुर्याउने उनले बताए ।
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य खिमलाल भट्टराईले बौद्ध दर्शन शिक्षा र लुम्बिनीको माध्यमबाट पर्यटन विकास गर्न सकिने भन्दै अवको योजना त्यसतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे । त्यस्तै प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले बौद्ध दर्शन अध्ययन गर्नेमात्रै नभई व्यावहारिक रुपमा प्रयोग गर्नुपर्ने बताए । उनले पनि विश्वविद्यालयबाट बौद्ध दर्शनसँगै अन्य विषय अध्ययनलाई पनि जोड दिनुपर्ने विचार राखे ।
प्रदेश ५ का सांसद फकुरुद्धिन खानले लुम्बिनीमा बहुविषययुक्त क्याम्पसको आवश्यक भएको भन्दै लुम्बिनीलाई बौद्ध दर्शनमा सीमित गर्न नहुने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले लुम्बिनीमा विश्वभरबाट बौद्ध दर्शन खोज्दै आउने वातावरण बनाउनका लागि विश्वविद्यालय र कोष एक भएर अघि बढ्नुपर्ने धारणा राखे ।
कार्यक्रममा विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिस्टार तिलक आचार्यले बजेट अभावमा विश्विद्यालयले लक्ष्यअनुरुप शैक्षिक गतिबिधि अघि बढाउन नसकेको गुनासो गरे ।
कार्यक्रममा विश्वविद्यालयको पुस्तकालय भवनको शिलान्यास भएको छ । १२ करोड ६८ लाखमा पुस्तकालय भवन बन्न लागेको हो । विश्वविद्यालयले १४औं वार्षिकोत्सव साताव्यापी कार्यक्रम गरी मनाउँदै छ । मंसिर २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीको आतिथ्यतामा समापन कार्यक्रम हुनेछ । सो अवसरमा विश्वविद्यालयका नबनिर्मित छात्रावास, अनुसन्धान केन्द्रलगायतका भवन उद्घाटन गर्ने कार्यक्रम छ ।
प्रकाशित समय ०९:५९ बजे

















