गृहपृष्ठ न्यानो कपडा नहुँदा घाम ताप्दै पढ्छन् विद्यार्थी

न्यानो कपडा नहुँदा घाम ताप्दै पढ्छन् विद्यार्थी

‘खाली खुट्टा विद्यालय आएका छन्, कक्षा कोठाको चिसो कसरी थेग्छन् ?’

janakpur_student

जनकपुर लगायत तराइका जिल्लामा जाडो बढेसँगै शीतलहरको प्रभाव पनि बढ्न थालेको छ । न्यानो कपडा किन्न नसक्ने गरिब परिवारका लागि जाडोसँग बढ्ने शीतलहर ठूलो चुनौती बन्ने गरेको छ । शीतलहरकै कारण तराईमा वर्षेनी ज्यान गुमाउनेहरुको संख्या पनि ठूलै छ ।

चिसो र शीतलहरका कारण विद्यालय जाने कलिला बालबालिकाहरु ठूलो कष्ट उठाउन बाध्य देखिन्छन् । अहिले जनकपुरका विपन्न समुदायका विद्यार्थीहरु खाुल्ला चौरमा घाम ताप्दै पढिरहेका छन् । बाहिर पढ्दा न्यानो कपडा नहुनेले घाम तापेर न्यानो पाउने भएकाले त्यसो गरिएको शिक्षकहरु बताउँछन् ।

तराइमा पुष र माघमा प्रायः विद्यालयहरुको कक्षा कोठा नै खुल्ला चौर हुन्छ र यसबेला नियमित भन्दा भिन्न अवस्था सिर्जना हुन्छ ।

चिसो बढेसँगै विद्यार्थीहरुलाई बाहिर घामको खोजी गर्दै पढाउनु परेको धनुषास्थित नगराइन नगरपालिका–३ स्थित श्री राष्ट्रिय प्राथमिक विद्यालय हाँसपट्टीका प्रध्यनाध्यापक अशोक साह बताउँछन् । चिसो मौसममा पढ्न आउने गरिब, दलित, विपन्न परिवारका विद्यार्थीहरुले न्यानो कपडा लगाएर आउन नसकेकाले बाहिर घाम ताप्दै पठाउनु परेको उनले बताए ।

यो त प्रतिनिधि उदाहरण मात्रै हो । धनुषाका अधिकांश सामुदायिक विद्यालयको कक्षाकोठा अहिले खुल्ला चौर नै भएको छ । खुल्लाचौरमा घाम ताप्दै पढाउने गरेको दृश्य पर्याप्त देखिन्छ ।

विद्यार्थीहरुसँग पर्याप्त मात्रामा न्यानो कपडा नहुँदा जस्तापाताले छाएको घरभित्र अझै चिसो महसुस हुने भएकाले बाहिर चौरमै घाम ताप्दै पढाउनु परेको उनले बताए । ‘विद्यार्थीहरुलाई बाहिर पढाउनु हाम्रो रहर होइन,’ उनले भने, ‘अभिभावक, विद्यार्थी र विद्यालयको बाध्यता हो ।’

कक्षा ५ सम्म पढाई हुने उक्त विद्यालयमा गरिब तथा दलित समुदायका विद्यार्थीहरुका विद्यार्थिहरुको संख्या उच्च छ । विद्यालयमा दुई सय ४ विद्यार्थी भर्ना भएकामा ८० प्रतिशत नियमित उपस्थिती हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विलटन राउत बताउँछन ।

‘हाम्रो विद्यालयमा नेपालकै अति पिछडिएका मानिने मुसहर, डोम, राउत, विन, पासमानलगायतका दलित विद्यार्थीहरु पढ्न आउँछन्,’ राउतले भने, ‘विद्यार्थीहरुले पर्याप्त रुपमा चिसोअनुसारको कपडा लगाएर आउन सकिरहेको छैनन् जसका कारण खुल्ला स्थानमा घाम तपाउँदै पढाउनु परेको छ ।’

janakpur_student2

विद्यार्थीहरुले चप्पल समेत नलगाई आउने गरेको उनले बताए । त्यसैले भित्र पढाउँदा विद्यार्थीहरुलाई झन् चाँडै चिसोले समात्ने भएकाले खुल्ला चौरमा घाम तापेर पढाउने गरेको उनको भनाई थियो । ‘विद्यार्थीहरु चप्पल लगाएर आउन पनि सकिरहेका छैनन्,’ राउतले भने, ‘कक्षाकोठाको जस्ताको चिसो यिनले कसरी थेग्छन् ?’

बाहिर पढाउने गरिएको भए पनि त्यसका कारण शिक्षण सिकाइलाई व्यवस्थित बनाइएको उनले बताए ।

विद्यालयकी शिक्षिका अनिता कुमारी ठाकुर जाडोको समयमा विद्यार्थीहरुको उपस्थिती कम हुने गरेको बताउँछिन् । शिक्षकहरुले घर घरमा गएर विद्यार्थीहरुलाई विद्यालयमा ल्याउने प्रेरित गर्ने गरेको उनले बताइन् ।

त्यस्तै महोत्तरी घर भएका शिक्षक गणेश कुमार मण्डल पनि साँझ विहान विद्यार्थीहरुको जाने गरेको बताउँछन् ।

शिक्षक रामेश्वर पासवान अन्य विषय बाहिर पढाए पनि गणित पढाउन भने भित्र लाने गरिएको बताउँछन् ।

विद्यालयमा ४ वटा ब्लकमा ८ वटा कक्षाकोठा छ । विद्यालयको अफिस कोठा, स्टोर लगायत पनि व्यवस्था छ । त्यसैले कक्षाकोठाको अभावमा विद्यार्थीलाई बाहिर राख्नुपर्ने बाध्यता नभएको शिक्षिका इन्द्रा कुमारी राउत बताउँछिन् । उनका अनुसार विद्यार्थीहरुलाई जाडोबाट बचाउनैका लागि बाहिर राखेर अध्यापन गराउने गरिएको हो ।

janakpur_student

प्रकाशित समय १८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु