गृहपृष्ठ डा केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

डा केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा

आज माइतीघरमा बृहत प्रदर्शन

डा. गोविन्द केसीको समर्थनमा देशभरका चिकित्सक सडकमा उत्रेका छन् । अनसनको २३ दिनसम्म माग सम्बोधन र जीवनरक्षाका लागि सरकारले पहल नगरेको भन्दै देशभरका चिकित्सक सडकमा उत्रेका हुन् । चिकित्सा शिक्षामा सुधार माग राखेर अनशन बसेका डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै चिकित्सकहरू विरामीको उपचार गर्नेगरी शान्तिपूर्ण आन्दोलनमा होमिएका हुन् ।
केसीको माग पूरा गर्न र जीवनरक्षाका लागि सरकारलाई दबाब दिन नेपाल चिकित्सक संघको अगुवाइमा आन्दोलन सुरु गरिएको हो । प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकले पनि केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका छन् । चिकित्सक संघका अनुसार देशभरका मुख्य सहरहरू विराटनगर, धरान, जनकपुर, चितवन, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगन्ज, धनगढीलगायतमा चिकित्सक डा. केसीको पक्षमा सडकमा उत्रेर प्रदर्शन गरेका छन् । केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनको जीवनरक्षाका लागि देशभर चिकित्सक सडकमा आएको संघले जनाएको छ । चिकित्सकले केसीको समर्थनमा रिले अनशन पनि जारी राखेका छन् ।
डा. केसीको मुख्य माग १५औं अनशनका क्रममा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन बनाउनुपर्ने छ । सरकारले सहमतिविपरीत चिकित्सा शिक्षा विधेयक ल्याएकाले डा केसीको समर्थनमा आन्दोलनमा उत्रनुपरेको चिकित्शक संघका अध्यक्ष डा. मुक्तिराम क्षेष्ठले बताए ।
‘सरकारले विधेयक सच्याउनुपर्ने माग सुनुवाइ गरेन । उहाँ अनशन बसेकै बेला सरकारले प्रतिनिधिसभामा विधेयक पेस ग¥यो । त्यसको विरोध स्वरुप डा केसीको समर्थनमा हामीले आनद्योलन गरेका हौं’ उनले भने ।
सरकारलाई दबाब दिन बिहीबार माइतीघर मण्डलामा बृहत सभा तथा प्रदर्शनी गर्ने संघले जनाएको छ । डा. केसी आफ्नो १५औं अनशन क्रममा सरकारले गरेको सहमति कार्यान्वयन माग राखेर पुस २५ गतेदेखि अनशनमा छन् । उनी अनशन बसेको बिहीबार २३ दिन पुगेको छ । लामो समयसम्म खाना नखाँदा केसीको स्वास्थ्य अवस्था गम्भीर अवस्थामा पुगेको चिकित्सकले जनाएका छन् । चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर केसी अनशन बसेको यो सोह्रांैपटक हो । अहिले उनी त्रिवि शिक्षण अस्पताल, काठमाडौंको गणेशमानसिंह भवनमा अनशनरत छन् ।
संघकै नेतृत्वमा त्रिवि शिक्षण अस्पताल, काठमाडौंमा केसीको पक्षमा सोमबारदेखि सुरु रिले अनशन पनि जारी छ । रिले अनशनमा अश्रदिन भन्दा विहीबार चिकित्सकहरुको उपस्थिति उल्लेख्य रहेको छ । केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक अवस्थामा पुगेकाले सरकारको ध्यानाकर्षण गराउन चिकित्सक रिले अनशन बस्न र सडकमा उत्रिनुपरेको उनीहरुले बताए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका आवसीय चिकित्सकले पनि डा. केसीको माग पूरा गराउन र जीवनरक्षाका लागि तत्काल वार्ता थाल्न सरकारलाई दबाब दिन बुधबारदेखि रिले अनशन सुरु गरेका छन् ।

प्रकाशित समय १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु