गृहपृष्ठ राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव
पूरा होला डा. केसीको माग ?
अनसनरत डा. गोविन्द केसीको पक्ष-विपक्षका प्रतिक्रियाहरू आइरहेका बेला राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव परेको छ । सरकारमा सहभागी नभएको तर सत्तापक्षका रूपमा संसदमा रहेको राष्ट्रिय जनता पार्टीले उक्त विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएको हो ।
राष्ट्रियसभामा राजपाका सांसद वृषेशचन्द्र लालले उक्त संशोधन प्रस्ताव दर्ता गराएका हुन् । प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयकमा संशोधन प्रस्ताव परेपछि अनसनरत डा. केसीको मागका बारेमा सदनमा छलफल हुने भएको छ ।
लालले दर्ता गराएको संशोधनमा अनशनरत डा.गोविन्द केसीको मागसँग सम्बन्धित छ । प्रतिनिधिसभाबाट पारित सो विधेयक राष्ट्रियसभाबाट पनि पारित भइसकेको छ । पारित भए पनि नियमअनुसार संशोधनका लागि ७२ घण्टा समय सकिन केही घण्टा मात्र बाँकी रहँदा लालले उक्त संशोधन प्रस्ताव दर्ता गराएका हुन् । यस अवधीमा परेको संशोधन प्रस्तावले केसीका माग अझै सम्बोधन हुन सक्ने कतिपयको विश्वास छ ।
विगत ६ वर्षदेखि चिकित्सा क्षेत्रको सुधारका माग राखेर पटक-पटक अनसन बसेका केसी अहिले पनि १६ औं अनसनमा छन् । लम्बिँदो अनसनका कारण केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ । यता, उनका पक्ष-विपक्षमा बहस तथा तकविर्तक पनि पेचिलो बन्दै गएका छन् ।
यसै समयमा सरकारलाई समर्थन गरेको राजपाकै सासदले संशोधन प्रस्ताव पेश गरेका हुन् । सत्तापक्ष र प्रतिपक्ष केसीका मागका सम्बन्धमा स्पस्ट रुपमा दुई खेमामा विभाजित छन् । केही अधिकारकर्मी र पूर्वप्रधानन्यायाधीशहरु पनि गोविन्द केसीका माग सरकारले पूरा गर्नुपर्ने बताइरहेका छन् । यस अवस्थामा सरकारलाई समर्थन गरेको राजपाका सांसद पनि केसीकै पक्षमा उभिएका छन् ।
प्रतिपक्षी कांग्रेसले भने सत्तापक्षले विधेयक पेलेर पास गराएको भन्दै छलफलमा भाग नलिने बताएको छ । विधेयकको बाँकी प्रकृयामा सामेल नै नहुने कांग्रेस नेताहरुले चेतावनी दिइरहेका छन् । कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले भने ‘हामीले अवरोध गर्दागर्दै बलजफ्ती मार्सल लगाएर, हामीलाई छेकेर विधेयक पेश गरिएको छ, यसैले यसको बाँकी प्रक्रियामा कांग्रेस भाग लिँदैन ।’
प्रतिपक्ष कांग्रेसले बाँकी प्रकृयामा सामेल नै नहुने चेतावनी दिए पनि सत्तापक्ष भने यो विषय प्रकृयाबाटै किनारा लगाउने मनस्थितिमा छ । जननिर्वाचित सार्वभौम संसदले गरेको निर्णय सबैले मान्नुपर्ने बताउँदै नेकपाका सासद योगेश भट्टराई भन्छन्, ‘लोकतन्त्र संसदीय अभ्यास मान्नेले संसदले गरेको निर्णयलाई स्वीकार गर्नुपर्छ । विधेयकमाथि परेका संशोधन प्रस्तावबारे संसदीय प्रक्रिया अनुसार छलफल हुन्छ, त्यसबेला सांसदहरुले जे मत राख्छन्, सोही अनुसार विधेयक परिपक्व हुन्छ ।’
आफूसँग सरकारले गत साउनमा गरेको सहमतिविपरित विधेयक ल्याइएकोमा असन्तुष्टी जनाउँदै डा. केसी २३ दिनदेखि आमरण अनसनमा छन् । उनको अनसनकैबीच प्रतिनिधिसभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिपक्षी कांग्रेसको अवरोधकाबीच पारित गरेको थियो ।
प्रकाशित समय १३:१४ बजे
















