गृहपृष्ठ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिन नियुक्त, पढाई कहिले हुन्छ ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिन नियुक्त, पढाई कहिले हुन्छ ?

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा प्रा डा रेशमबहादुर राना नियुक्त भएका छन् । प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्रा डा राजेन्द्रराज वाग्लेले हालै प्रा डा रानालाई सो पदमा नियुक्ति गरेको प्रतिष्ठानले जनाएको छ । स्वास्थ्य सहायक पदबाट स्वास्थ्य सेवा शुरु गरेका प्रा डा रानाले चिकित्सा शिक्षाअन्तर्गत स्नातक, स्नाकोत्तर तथा विद्यावारिधि पूरा गरेका छन् ।

विभिन्न जिल्लामा स्वास्थ्य सेवा प्रदान गरेका प्रा डा रानाले वीर अस्पताल सेवा तथा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान (न्याम्स)मा अध्यापन गराउँदै आएका थिए । साथै उनी काठमाडौं विश्वविद्यालयको चिकित्सा शिक्षा अध्यापनमा समेत संलग्न थिए । यसअघि प्रतिष्ठानले प्रतिष्ठानअन्तर्गत स्त्रीरोग विभागको प्रमुखमा प्रा डा किरण रेग्मीलाई नियुक्ति गरेको थियो ।

प्रा डा रेग्मी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पूर्वसचिव हुन् । विसं २०४४ मा २५ दिनको सुत्केरी अवस्थामा बाग्लुङ जिल्ला अस्तपालबाट सेवा सुरु गरेका प्रा डा रेग्मी २५ वर्ष दूर्गम जिल्लामा बसेर सेवा प्रदान गरेका थिए । ‘मलाई दूर्गम क्षेत्रको स्वास्थ्य अवस्थाको पीडा राम्ररी जानकारी छ, यसलाई कसरी उठाउन सकिन्छ भनेर विश्व स्वास्थ्य संगठनको सेवा नै छाडेर जुम्ला गएकी हूँ’, प्रा डा रेग्मीले भने ।

साथै डा सुनिल बुढाथोकी र डा कमल शर्मालाई बालरोग विभागमा नियुक्ति गरेको छ । डा शर्मा स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवातर्फ ११ औं तहको पदबाट राजीनामा दिई जुम्ला गएका हुन् ।
त्यसैगरी प्रतिष्ठानले एमडिजिपी कार्यक्रमको संयोजकमा यसअघि डा तरुण पौडेललाई नियुक्ति गरेको थियो । स्वास्थ्य सेवातर्फ १२ औं तहबाट उनले अवकाश लिएका थिए । प्रतिष्ठानले सोही कार्यक्रमका लागि डा भोलाराम श्रेष्ठलाई नियुक्तिको तयारी गरेको छ । यसअघि प्रतिष्ठानमा डा निरेश थापा कार्यरत थिए ।

तीनै जना चिकित्सक एमडिजिपी तथा एमडी हुन् । नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानलाई सो शैक्षिक कार्यक्रम सञ्चालन गर्न सिट संख्या निर्धारण गर्न ढिलाइ गरिरहेको छ । काउन्सिलले तीन पटकसम्म प्रतिष्ठानको स्थलगत अध्ययन पूरा गरिसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एमडिजिपी शैक्षिक कार्यक्रम सञ्चालनका लागि अघि बढ्न अनुमति प्रदान गरिसकेको छ ।

‘एमडीजिपी तथा एमबिबिएस तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति, पूर्वाधार, उपकरण तीनै दृष्टिकोणले प्रतिष्ठानले तयारी पूरा गरेको छ, अब मेडिकल काउन्सिलको अनुमतिको पर्खाइमा छौं । सिट संख्या निर्धारणको पत्र कहिले आउला भन्ने प्रतिक्षामा छौँ’, प्रतिष्ठानका उपकुलपति प्रा डा वाग्लेले भने ।

ती तहका कार्यक्रम अनुमति पाएपछि जुम्लामा पहिलो पटक चिकित्सक उत्पादन हुनेछ। प्रतिष्ठानले जुम्लामा तीन सय शैयाको अस्पताल सञ्चालन गरिरहेको छ । हाल प्रतिष्ठानले कालीकोट, मुगु जाजरकोट, अछाम, बाजुरा, बझाङ, सुर्खेत, दैलेख, सल्यान, रुकुम (पूर्व) तथा रुकुम (पश्चिम) जिल्लामा रहेका स्वास्थ्य संस्थामा चिकित्सक अभाव हुन नदिन चिकित्सक, स्वास्थ्यकर्मी तथा उपकरणको सहयोग तथा घुम्ती विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिष्ठानले प्रमाणपत्र तहमा जनरल मेडिसिन (हेल्थ असिस्टेन्ट), नर्सिङ तथा स्नातक तहमा मिडवायफरी तथा व्याचलर इन पब्लिक हेल्थ शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। अर्कोतर्फ प्रतिष्ठानले गत वर्षदेखि नै नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त बीमा कार्यक्रमलाई जुम्लालगायत प्रदेश नं ६ मा कार्यान्वयन गर्न सहयोगसमेत गर्दै आएको छ ।

जुम्लामा रहेको प्रतिष्ठानमा शैक्षिक एवं प्राज्ञिक सेवा तथा प्रतिष्ठानले सेवा दिने अति दुर्गम जिल्लामा स्वास्थ्य सेवा दिन अहिले ३०० चिकित्सकले प्रतिष्ठानमा आवेदन दिएका प्रतिष्ठानले जनाएको छ । ’प्रतिष्ठानमा सेवा दिन चिकित्सकको मोह र आकर्षण बढ्दो छ, उनीहरुको योग्यता र दक्षताका आधारमा नियुक्ति गर्छौं ,सूची तयारी गर्दैछौं’, उपकुलपति प्रा डा वाग्लेले भजे । तीमध्ये अधिकांश शहरी क्षेत्रमा कार्यरत तथा विदेश अध्ययन गरेर आएका चिकित्सक रहेको बताइएको छ । (रासस)

प्रकाशित समय १८:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु