गृहपृष्ठ ‘द फेस अफ साउथ एशिया’ मा नेपालका ९ मोडल

‘द फेस अफ साउथ एशिया’ मा नेपालका ९ मोडल

भारतको पुनामा आयोजना हुने मोडलहरुको अन्तराष्ट्रिय प्रतियोगिता ‘द फेस अफ साउथ एशिया’ मा नेपालका ९ मोडल सहभागी भएका छन् । अप्रिल २५ अप्रिल (बिहीबार ) देखि तीन दिन आयोजना हुने प्रतियोगिताका लागि नेपाली मोडलहरु बुधबार साँझ भारत प्रस्थान गरेका हुन् ।
‘द फेस अफ साउथ एशिया’ एशियाको फेसन जगतकै सबैभन्दा ठूलो र प्रतिष्ठित प्रतियोगिता हो । प्रतियोगितामा आशिष केसी (विजेता, मोडल हन्ट नेपाल २०१८) मसिष सुवेदी, पोषण शर्मा, शास्वत शाही, राघव अग्रवाल (मोडल हन्ट सहभागी) रुविष्का श्रेष्ठ (फस्ट रनर अप, मोडल हन्ट नेपाल २०१८), निर्मला न्यौपाने, थिन्ले ल्हामे र सुष्मिता थापा (मोडेल, नेक्स्ट मोडेल नेपाल) सहभागी छन् ।
नेपाल, भारत, श्रीलंका र अरबिया लगायत एसियाभरिका देशका उत्कृष्ट मोडलको प्रतिस्पर्धा रहने कार्यक्रममा हरेक देशबाट सहभागीमध्ये एकलाई राष्ट्रको नाम जोडेर फेस अफ द देश घोषणा गर्ने गरिन्छ ।
यस प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र एक पुरुष मोडलले कोरियामा आयोजना हुने ‘एशिया मोडल फेष्टिभल’ मा सहभागी हुनेछन् । बिगतका बर्षभन्दा यस बर्ष अझ बृहतर रुपमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
प्रतियोगिताका लागि नेपाली मोडलहरु नेक्स्ट मोडल्स नेपालले पठाएको हो । प्रतियोगितामा सहभागीले नेपाली कला संस्कृति झल्कने पहिरन, भेषभुषालगायत बिभिन्न पक्ष प्रस्तुत गरेर नेपाललाई बिश्वमा अझ राम्रोसँग चिनाउने नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले जानकारी दिए ।

प्रकाशित समय १९:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु