गृहपृष्ठ मीना ढकाल भन्छिन्– ‘डिभोर्स बाध्यताले गरिएको हो, बिहेको लागि ढोका खुला छ’

मीना ढकाल भन्छिन्– ‘डिभोर्स बाध्यताले गरिएको हो, बिहेको लागि ढोका खुला छ’

हाँस्यव्यंग्यकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद गरेपछि मीना ढकाल यतिखेर छुट्टै संसारमा रमाउन चाहिरहेकी छन् । दुईवटा गीत गाइन्, पहिलोमा लाइकभन्दा डिस्लाइक बढी आयो तर हार मानिनन् । दोस्रो गीत अलि धेरैले मन पराए । अहिले उनी फिल्म निर्माणको तयारीमा छन् । डिभोर्सपछि कलाकारितामा रमाउने प्रयास गरिरहेकी मीनासँग न्युजकारोबारका लागि सुरज घिमिरेले गरेको कुराकानी :

के गर्दै हुनुहुन्छ हिजोआज ?
अँ, मेरा दैनिक कामहरु भइरहेका छन् । बिहान ५–६ बजे उठ्छु, एक्ससाइज गर्छु, चियानास्ता गर्छु, त्यसपछि नानीलाई स्कुल पुर्याउँछु । अनि पसल खोल्छु । भेटघाट हुन्छ, मिटिङ हुन्छ । त्यस्तै–त्यस्तै काम हुन्छ ।

दुईवटा गीत ल्याउनुभयो, सम्मान कत्तिको पाउनुभा’छ ?
मेरो पेरिफेरिमा रहनुहुने सबैले माया गर्नुहुन्छ । विशेषतः लेडिजहरु, जो नेपालबाहिर हुनुहुन्छ, जस्ले आफूले मातृभूमिमा केही गर्न सक्नुभएन, उहाँहरुका आफ्नै बाध्यता थिए, उहाँहरुले एकदमै सपोर्ट गर्नुहुन्छ । उहाँहरुले मलाई भन्नुहुन्छ– तपाईंको साथमा हामी छौं, कसैसँग नडराउनुस् । उहाँहरुले मलाई बारम्बार कल गरिराख्नुहुन्छ । उहाँहरुप्रति एकदमै आभारी छु ।

श्रोताका लागि नयाँ के ल्याउँदै हुनुहुन्छ ?
अहिले तीजको गीत सुटिङ गर्दै छु । असारको दोस्रो सातासम्ममा यहाँहरुले पाउनुहुन्छ । अब विस्तारै राजनीति पनि गर्नुपर्छ । समाज सेवातिर पनि मेरो इच्छा छ ।

फिल्म बनाउने कुरा सार्वजनिक गर्नुभएको छ, कस्तो फिल्म बनाउनुहुन्छ ?
अँ, त्यो चैं हाम्रो अहिलेको कन्सेप्ट हो । अहिलेको नेपाली चलचित्र अलिक फरक धारको बनाउने कि भन्ने सोच छ । साथी आरएन शर्माले एउटा स्टोरी लेख्दै हुनुहुन्छ । स्टोरी चैं नारीप्रधान, ‘लभ स्टोरी त यस्तो पो हुनुपर्छ त !’ भन्ने खालको फिल्म बनाउने तयारी छ ।

कति सफल भएको महसुस गर्नुहुन्छ ?
सफलता केलाई मान्ने ? घर, गाडी, बंगला…, एकदमै धेरै धन–सम्पत्ति नै सफलताका सूचक हुन् त ? के यी सबै भएको मान्छे खुसी छन् त ? केलाई सफलता मान्ने ?

कस्तो कलाकार मान्नुहुन्छ आफूलाई ?
म कलाकार हैन । मलाई कलाकार नभन्नु होला । यो मेरो बच्चादेखिकै नाच्ने–गाउने सौख हो । त्यसलाई मैले मूर्तरुप दिएको मात्र हुँ । त्यसैले मलाई कलाकारसँग नदाँज्नुहोला । मैले रहर पूरा गर्न एउटा भिडियो निकालेकी हुँ । मरो प्रोफेसन गायन, कलाकारिता भएको भए म आफूलाई कलाकार भन्ने थिएँ ।

अहिले जे गरिरहनुभएको छ, त्यो कसैलाई देखाउन पनि हो कि !
म कसैलाई देखाउने कुरामा विश्वास गर्दिन । मलाई मेरो इनबक्समा आएर साथीहरुले भन्नुहुन्छ– केही गर्नुस्, यो समाजलाई केही गरेर देखाउनुस्, नडराउनुस् । तर, म डराएकै छैन, मैले कसैलाई देखाउन गर्न खोजेकै हैन, कसैलाई देखाउनु नै छैन । अरुलाई देखाउन थाल्यो भने त आफैं पछि परिन्छ । आफ्नो खुसी र सन्तुष्टिको लागि गर्ने हो । आफ्नो सम्मानको लागि हो । मैले मनोजजीको सपोर्ट गर्ने दर्शक पनि देखाउन खोजेको हैन । मनोजजीलाई पनि देखाउन खोजेको हैन । मलाई थाहा छ– म कति गर्न सक्छु, के गर्न सक्छु । मेरो क्षमता, मेरो हैसियत मलाई राम्ररी थाहा छ । जब म परिवारको बन्धनबाट केही गर्न निस्किएँ, तब मैले सबै देखिसकेको छ । कोही एकजनालाई भने देखाउनुछ, त्यो अहिले भन्दिन ।

अब अलि व्यक्तिगत कुरातर्फ जाऔं । सम्बन्धविच्छेद सहमतिमै भएको हो ?
सहमति जस्तै हो । त्यो बाध्यताले निम्त्याएको सहमति हो । सहमति भएको भए पहिले नै गर्नुपथ्र्यो तर उहाँ (मनोजजी)ले सेफ ल्यान्डिङ चाहनुभयो ।

डिभोर्सपछि मनोजजीसँग सम्पर्क छ ?
छैन । डिभोर्स हुनुभन्दा पहिला नै म चुनावका लागि विराटनगर गएको थिएँ । मैले त्यहीँ के–के कुरा सुनेँ । उहाँले बुवाममीलाई सुनाउनुहुँदोरहेछ । डिभोर्सको कुरा गर्नुहुँदोरहेछ । त्यतिकै फोन–फोनमै झगडा भएपछि मैले उहाँको फोन–फेसबुक सबै ब्लक गरेँ । त्यसपछि छैन । तर, डिभोर्स त मेरो धेरै पहिला, १०–१५ वर्ष पहिलादेखिकै प्रस्ताव हो । तर, उहाँले स्वीकार गर्नुभएको थिएन ।

राम्रो केटा पायो भने बिहे गर्छु भन्दैहुनुन्छ रे !
अँ, राम्रो केटा पायो भने आफूसँग भावना मिल्ने, मुख्य कुरा त अब एउटा अन्डरस्ट्यान्डिङ हुनुपर्यो । म के गर्न चाहन्छु, मलाई जहाँसम्म लाग्छ, हामी जतिको मान्छेले बुझिसकेको पनि छौँ । मैले राम्रो भन्नुको अर्थ अनुहार राम्रो भनेको होइन, पैसावाला भन्न खोजेको होइन । अन्डरस्ट्यान्डिङ हुनुपर्यो, मैले के गर्न चाहेको छु, सपोर्ट गर्नुप¥यो । त्यही नै हो । अहिले नै बिहे गर्ने मेरो समय होइन । बिहेका लागि ढोका खुला राखेकोमात्र हो । केही गर्छु भनेर निस्किएपछि केही गर्नैपर्छ । बिहे २–४ वर्ष लाग्छ । कम्तीमा पनि दुई वर्ष ।

अन्त्यमा, के भन्नुहुन्छ ?
सबैले मलाई देखिरहनुभएको छ, बुझ्नु नि भएको छ । म सधैँ दर्शकसँग अपडेटमै रहन्छु । मलाई मेरो कमी–कमजोरीको विषयमा कमेन्ट तथा सल्लाह–सुझाव दिनु नै हुनेछ । मलाई सधैँ हौसला तथा साथ दिनुहुने सबैलाई धन्यवाद दिन चाहन्छु । सधैँ साथ, सहयोग गर्नुहुन्छ भन्ने आशा र विश्वास छ ।

प्रकाशित समय १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु