गृहपृष्ठ डाक्टर साबलाई अनुरोध !

डाक्टर साबलाई अनुरोध !

डाक्टर साब !
मेरो चस्माको पावर बढाइदिनुपर्‍यो
बुढी आमाको अनुरोध,
पहिले यहि चस्मा लगाउँदा
बाबाश्री देख्थे
अहिले यहि चस्माले खै किन
दादाश्री देखाउँछ ।

मेरा फुलेका केशहरुले बुनेको जाल हो
वा
मेरा झरेका दातभित्रको प्रतिशोध
वा
मेरा मुजा परेका छालाले निम्त्याएको कुरुपता
वा
मेरा लत्रेका स्तनहरुबाट बग्न छोडेको दूधले जमाएको कुण्ठा
वा
मेरो कुप्रो परेको ढाडले देखाएको जमिन
वा
म भित्र सेलाएको वासनाले जगाएको दुर्गन्ध
म चित्रहरुलाई बिचित्र देख्न थालेकी छु

डाक्टर साब !
मेरो चस्माको पावर बढाइदिनुपर्‍यो
आफ्नै दृष्टि भ्रम ठानी
जब उतार्छु चस्मा
तब झन्
श्री नै श्रीहरुको श्रीङ्खला देख्छु

डाक्टर साब !
मेरो चस्माको पावर बढाइदिनुपर्‍यो ।

प्रकाशित समय १३:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु