गृहपृष्ठ घरबन्दीका कारण ३७ लाख नेपाली रोजगारी संकटमा
घरबन्दीका कारण ३७ लाख नेपाली रोजगारी संकटमा
कोरोना भाइरस महामारी (कोभिड–१९)को संक्रमण विस्तारका लागि अबलम्बन गरिएको घरबन्दीका कारण ३७ लाख नेपालीको रोजगारी संकटमा परेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले जनाएको छ ।
आईएलओले कोभिड–१९ का कारण नेपालको श्रम बजारमा पारेको असरबारे स्थितिपत्र सार्वजनिक गर्दै निर्माण, उत्पादनमूलक (औद्योगिक) र व्यापारिक क्षेत्रका हरेक पाँचमध्ये चार श्रमिक जोखिममा परेको जनाएको हो ।
‘विद्यमान संकटका कारण नेपालमा १६ लाखदेखि २० लाख रोजगारीमा तत्कालै अवरोध आएको छ, जहाँ या त पूर्ण रोजगारीविहीनको अवस्था छ वा कार्यसयम र तलब घटाइएको छ,’ आईएलओको स्थितिपत्रमा भनिएको छ, ‘कोभिड–१९ संकटका परिणाम स्वरुप आर्थिक उत्पादकत्वमा कमी आएका कारण करिब ३७ लाख श्रमिकहरूले मध्यमदेखि उच्च तहसम्म आफ्नो जीविकोपार्जनका लागि आर्जन गुमाएका छन् ।’
आईएलओका अनुसार लामो समयको घरबन्दीका कारण थोक तथा खुद्रा बिक्री क्षेत्रका ७ लाख ८० हजार, औद्योगिक क्षेत्रका ४ लाख ४६ हजार, निर्माणका ४ लाख ४ हजार, यातायात क्षेत्रको २ लाख ११ हजार, ६२ हजार आवास तथा खाद्या सेवासँग सम्बन्धित गतिविधि तथा ८३ हजार रियलइस्टेट, प्रशासकीय र अन्य सेवाजन्य गतिविधिको रोजगारी संकटमा परेको छ ।
कोभिड–१९ महामारी र ७७ दिनको घरबन्दीले रोजगारीमा पारेको असरबारे आईएलओको यो तेस्रो क्षेत्रगत विश्लेषण सार्वजनिक भएको हो । स्थितिपत्रअनुसार यी सर्वाधिक प्रभावित क्षेत्रमा पुरुषका तुलनामा महिलाको श्रम सहभागिता कम भएकाले उनीहरूलाई पार्ने असर पनि कम छ ।
‘उच्च जोखिमको अवस्थामा समग्र ६ लाख ३१ हजार महिलाको रोजगारी जोखिममा (कुल महिला श्रमशक्तिको २४.३ प्रतिशत) पर्दा १३ लाख पुरुषको रोजगारी (पुरुष श्रमशक्तिको ३०.३ प्रतिशत रोजगारी जोखिममा छ,’ स्थितिपत्रमा भनिएको छ ।
पर्यटन नेपालको रोजगारी र विदेशी मुद्रा आर्जनको मुख्य स्रोतका रूपमा रहेको र यसले ५ लाख ७३ हजार व्यक्तिहरूलाई रोजगारी दिएको अवस्थामा यो क्षेत्र बढी प्रभावित भएको स्थितिपत्रमा उल्लेख छ ।
‘पर्यटन क्षेत्रका तीन चौथाइ कामदारहरू अनौपचारिक रोजगारीमा संलग्न छन्, यो क्षेत्र रोकिएको अवस्थामा उनीहरू सुरक्षा र आयविहीन अवस्थामा पुगेका छन्,’ प्रतिवेदनमा भनिएको छ ।
आईएलओले नेपालका ५७ लाख अर्थात कुल रोजगारीमध्ये ८०.८ प्रतिशत अनौपचारिक क्षेत्रमा संलग्न रहेका अवस्थामा सामाजिक सुरक्षा छातामा नसमेटिएका निर्माण, व्यापार र उत्पादन क्षेत्रमा संलग्न यी श्रमिकहरू सर्वाधिक प्रभावित भएको बताएको छ ।
‘आर्थिक मन्दी, बिमारी वा क्वारेन्टिनका कारण उनीहरूको काम रोकिन्छ भने उनीहरूका लागि राज्यले लगानी गरेको कुुनै सुरक्षा छाता छैन,’ आईएलओले भनेको छ ।
स्थितिपत्रमा वर्तमान संकटका कारण नेपालका १४ लाख घरेलु महिला श्रमिकको आयआर्जन अनिश्चित भएको उल्लेख छ । ‘करिब १४ लाखका हाराहारीमा रहेका घरेलु श्रमिक, जो करिब करिब सबै महिलाहरू छन्, उनीहरूले निर्यातका लागि वस्तु उत्पादन गर्ने गरेका छन् । महामारीका कारण विश्वव्यापी आपूर्ति अवरुद्ध हुँदा उनीहरूको जीविकोपार्जनको यो स्रोत पनि खतरामा परेको छ,’ आईएलओले भनेको छ ।
आईएलओले वैदेशिक रोजगारीमा रहेका नेपालीको दुर्दशाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ । स्थितिपित्रमा हाल वैदेशिक रोजगारीमा रहेका ३५ लाख नेपाली कामदारको रोजगारीमा अवरोध आउँदा उनीहरूले पठाउने रेमिट्यान्स पनि घट्दै गएको उल्लेख छ ।
वर्तमान संकटका कारण आप्रवासी कामदारहरू मुलुक फर्कनबाट अवरोध खेप्नु परिरहेको, श्रम गन्तव्य मुलुकमा विनाशकारी आय गुमाउनु परिरहेको र स्वास्थ्य जोखिम झेल्नु परिरहेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।
यो पनि पढ्नु होस्
घरबन्दीबाट झन्डै ८४ लाख नेपाली ‘अतिप्रभावित’
प्रकाशित समय १४:४१ बजे

















