गृहपृष्ठ विद्यालय भवन बनाउन नेपथ्यको सांगीतिक कार्यक्रम

विद्यालय भवन बनाउन नेपथ्यको सांगीतिक कार्यक्रम

चर्चित सांगीतिक समूह नेपथ्यले यही फागुन १७ गते काठमाडौँमा विशेष सांगीतिक कार्यक्रम गर्न लागेको छ । हेल्प नेपाल नेटवर्कसँगको सहकार्यमा ‘शिक्षाका लागि संगीत’ नाम दिइएको सो कार्यक्रम भृकुटी मण्डप बगैंचामा आयोजना हुनेछ ।

सन् २०१५ को भूकम्पबाट क्षतिग्रस्त दोलखाको राजकुलेश्वर निम्न माध्यमिक विद्यालयको भवन  पुनर्निर्माणमा सहयोग जुटाउन कार्यक्रम आयोजना गर्न लागिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ । ‘सन् २०१५ यता हामीले सिन्धुपाल्चोकको ठोकर्पा माविलगायत विभिन्न जिल्लाका विद्यालय भवनहरु पुनर्निर्माण गर्न सघाएक छौं । भीमेश्वर नगरपालिकास्थित राजकुलेश्वर निम्न माध्यमिक विद्यालय भवनको पुनर्निर्माण सुरु भइसकेको छ,’ कार्यक्रम संयोजक रोशेन्द्रध्वज खड्काले भने, ‘सो पुनर्निर्माणको काम सम्पन्न गर्न सहयोग जुटाउन नेपथ्यसँगको सहकार्यमा यो सांगीतिक साँझ आयोजना गर्न लागिएको हो ।’

‘पूर्वाधार राम्रो हुँदा बालबालिकाको पठन-पाठनमा पनि राम्रो प्रभाव पर्छ । त्यसैले हामी अरु जिल्लाहरुका लागि पनि नमूना बन्न सक्नेगरी विद्यालयको पुनर्निर्माण कार्य अगाडि बढाइ रहेका छौं,’ उनले थपे ।

कार्यक्रममा चर्चित गायक अमृत गुरुङले प्रस्तुति दिनेछन् । अहिले टिकटको मूल्य ९ सय रूपैयाँ  राखिएको छ। कार्यक्रमको दिन भने टिकटको मूल्य प्रतिव्यक्ति १२ सय ५० रूपैयाँ राखिएको आयोजकले जनाएको छ ।

‘नेपालको चर्चित सांगीतिक समूह, नेपथ्यसँग सहकार्य गरी कार्यक्रम आयोजन गर्न पाउँदा हामी अत्यन्तै खुसी छौँ । विगतमा झैँ दर्शक, श्रोताहरुले कार्यक्रम रुचाइ दिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ,’ हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह बस्नेतले भने । उनले राजकुलेश्वर विद्यालयको पुनर्निर्माणमा सघाउन हातेमालो गर्ने सबैलाई धन्यवाद पनि दिएका छन् ।

हेल्प नेपाल नेटवर्कले नेपालमा शिक्षा, स्वास्थ्य, आपत्कालीन मानवीय सहायता लगायतका क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ । ‘मातृभूमिको लागि महिनामा एक पाउण्ड वा एक डलर’ भन्ने आह्वान गर्दै २० वर्षअघि बेलायतमा सो संस्था स्थापना गरिएको थियो ।

 

प्रकाशित समय १२:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु