गृहपृष्ठ खुल्यो अन्नपूर्ण बेसक्याम्प (फोटो फिचरसहित)

खुल्यो अन्नपूर्ण बेसक्याम्प (फोटो फिचरसहित)

अनिश्चितकालका लागि बन्द भएको अन्नपूर्ण बेसक्याम्प खुलेको छ । करिब एक महिनाअघि बेसक्याम्पको हिंकु केभ र देउरालीबीचको भागमा हिमपहिरो खसेपछि अन्नपूर्ण बेसक्याम्प अनिश्चितकालीन बन्द भएको थियो ।

छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलिप गुरुङले माघ २७ गतेदेखि अन्नपूर्ण पदमार्गमा पदयात्री र पदमार्गीमाथि लगाइएको बन्देज खुलाएको बताएका छन् । उनल भने, ‘हिउँको मात्रा घटिसकेको छ, बाटोमा हिँड्नलाई कुनै पनि असहज छैन ।’ सचिव दिलिप गुरुङले ढुक्क भएर पाहुनालाई पदयात्रामा आउन आग्रह गरे । बेसक्याम्प आउने संख्यासँगै बुकिङ पनि बढिरहेको उनले बताए । मार्च अप्रिल अफसिजन भए पनि पाहुनाहरुको चाप बढिरहेको उनले जानकारी दिए ।

‘हिमपहिरोमा परी हराएकाका सात जनाका लागि अहिले पनि खोजी कार्य जारी छ । हराएका सातजना हिउँभित्रै छन्, तार र जाली राख्ने काम भइरहेको छ, त्यो ठाउँमा हिउँको थुप्रो बढी भएकाले मुस्किल भएको हो,’ उनले भने । हराएको ठाउँमा मान्छे लगाएर निरीक्षण गर्ने कार्य भइरहेको उनले बताए । उनले थपे, ‘बेसक्याम्प सामान्य अवस्थामा आइसकेको छ, बन्द हुनुका कारण पनि जुन ठाउँमा दुःखद घटना भयो त्यसकै कारण हो, अहिले हामी त्यो ठाउँमा सबै व्यवसायी मिलेर खोजी कार्य जारी राखेका छौं ।’

माघ ३ गते हिंकुकेभमा गएको हिमपहिरोमा परी चार कोरियाली र तीन नेपाली हराएका थिए । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरु अझै भेटिएका छैनन् । हिमपहिरो गएको ठाउँमा खोला रहेकाले पनि खतरा भएको स्थानीय बताउँछन् । अहिले हिमपहिरो गएको ठाउँमा पुल निर्माण गर्नसके दुर्घटनाको जोखिम अलि कम हुने उनीहरुको भनाइ छ । बेसक्याम्पमा सबै पदयात्रीलाई ढुक्क भएर आउन सचिव गुरुङले आग्रह गरेका छन् ।

प्रकाशित समय १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु