गृहपृष्ठ सर्वाधिक हेरिएका नेपाली गीतका १२ भिडियो

सर्वाधिक हेरिएका नेपाली गीतका १२ भिडियो

विगतमा केहीबाहेक हिन्दी गीतमात्र सुन्ने र हेर्ने बानी परेका नेपाली दर्शक तथा स्रोताहरुले केही वर्षयता भने नेपाली लोक, आधुनिक तथा चलचित्रका गीतहरु रुचाउन थालेका छन् । नेपाली गीतहरु स्तरीय बन्न थालेको तथा इन्टरनेटमा अधिक नेपालीहरुको पहुँच बढेका कारण नेपाली गीतहरुको स्रोता/दर्शक अप्रत्यासित ढंगले बढेको हो ।

रेडियो, टेलिभिजनमा कम गीतहरु जानु, तर युट्युबमा गीतहरु अपलोड भइरहने भएकाले अहिले युट्युबमा यसरी ह्वात्तै दर्शक बढेको गायक प्रेमध्वज प्रधानको बुझाइ छ । युट्युबमा सस्क्राइबको आधारमा पनि भ्युज बढ्ने उनी बताउँछन् । भन्छन्, ‘पहिला-पहिला नेपालमा इन्टरनेटको सुविधा थिएन । जसको कारण राम्रा गीतहरु पनि ओझेलमा पर्थे । तर अहिले देशैभर इन्टरनेटको सुविधा छ । यसमार्फत दर्शक/श्रोतालाई आफूलाई मन पर्ने गीत सुन्न र हेर्न सक्ने सुविधा छ ।’

नेपाली सांगीतिक बजारमा धेरै भ्युजको आधारमा मात्र गीत चलेको वा राम्रो बनेको भन्न नमिल्ने उनको तर्क छ । ‘केही गीतहरु राम्रा पनि बनेका छन् । तर जति राम्रो हुनुपर्ने त्यति छैन । अहिले गीतहरु हेर्ने हो भने ३ प्रतिशत मात्र राम्रा छन्, बाँकी ९७ प्रतिशत राम्रा छैनन्,’ गायक प्रधान मूल्यांकन गर्छन् ।

युट्युबमा भ्युज सर्वाधिक हुने अधिकांश गीतहरु चलचित्रका नै बढी देखिन्छन् । यसको एउटा कारण भिडियोमा नायक नायिकाको अभिनयले पनि दर्शकहरु बढी प्रभावित भएका हुनसक्ने गायक प्रधानको धारणा छ । गीतमा भिडियोको गुणस्तरले पनि भूमिका खेल्ने उनी बताउँछन् । अहिले बनेका भिडियोहरु राम्रै गुणस्तरको बन्ने गरेको उनी मूल्यांकन गर्छन् । यदि राम्रा गीत बनेका छन् भने एकले सुनेर राम्रो लागेपछि अरुलाई सेयर गरिने र त्यसबाट अर्कोले अर्कोलाई सेयर गर्दै जाँदा युट्युबमा गीत हेर्नेको संख्या बढ्दै जाने गरेको यसका जानकारहरु बताउँछन् ।

भिडियो सेयरिङ वेभसाइट युट्युबमा राखिएका थुप्रै नेपाली गीतहरु एक करोडभन्दा बढी पटक हेरिएका छन् । युट्युबका आधारमा हालसम्म सर्वाधिक हेरिएको/सुनिएको गीत ‘कुटुमा कुटु सुपारी दाना’ हो । ‘दुई रुपयाँ’ चलचित्र खासै नचले पनि गीतलाई दर्शकले निकै मन पराएका छन् । चलचित्र ती वर्षअघि प्रदर्शनमा आएको थियो । गीतमा राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानले स्वर दिएका हुन् ।

गीतको म्युजिक भिडियोमा निश्चल बस्नेत, स्वस्तिमा खड्का, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय छ । गीतलाई असिम शाहले निर्देशन गरेका छन् भने लोकेश बज्राचार्यको सम्पादन छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमा अपलोड भएको यो गीतले १३ करोड ३३ लाख ३८ हजारभन्दा बढी भ्युज बटुलिसकेको छ ।

दर्शकले अति रुचाएको गीत अर्को गीत ‘माया लुकी लुकी’ रहेको छ । कार्टुन क्रुजले समूका सरोज अधिकारीले निर्देशन गरेको यस गीतमा टीका प्रसाईंले स्वर दिएकी छन् । गीतमा आनन्द अधिकारीको शब्द, आशिष अविरलको कम्पोज/एरेन्ज रहेको छ । गीतलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् । साथै आस्मा विक, सरोज र सविनको अभिनय गीतमा देख्न सकिन्छ । यस म्युजिक भिडियो सन् २०१८ मा टिका प्रसाई नामको युट्युब च्यानलबाट अपलोड भएका छ । गीतले अहिलेसम्म ९ करोड १३ लाख ८९ हजारभन्दा बढी भ्युज पाइसकेको छ ।

युट्युबमा सबैभन्दा धैरैपटक हेरिएको आधारमा तेस्रो स्थानमा पर्न सफल गीत ‘पिरिम नलाउने’ रहेको छ । सन् २०१८ मा बजारमा एल्बम ‘आरोही’बाट गीत सार्वजनिक भएको थियो । आशिष गौतम र मेलिना राईले स्वर दिएका यस गीतमा दीपक शर्माको शब्द/संगीत छ । भिडियोमा नायिका वर्षा राउत र आशिष सचिनलाई देख्न सकिन्छ । गीतलाई नविन निरौलाले सम्पादन गरेका छन् । भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट अपलोड भएको छ । गीतलाई अहिलेसम्म ६ करोड ६५ लाख २५ हजारभन्दा बढी पटक हेरिइसकेको छ ।

अर्को चर्चित गीत रहेको छ ‘गोजीमा दाम छैन’ । चलचित्र ‘चंगा चेट’को यस गीतले राम्रै सफलता पाएको छ । यो गीतलाई राजनराज शिवाकोटी, मेलिना राई र ग्रीष्मा शिवाकोटीले स्वर दिएका छन् भने राजनराज शिवाकोटीले नै संगीत दिएका छन् । गीतको म्युजिक भिडियोमा आयुष्मान देशराज श्रेष्ठ, प्रियंका कार्की, सन्दिप क्षेत्री, अर्पण थापा लगायतको अभिनय रहेको छ । ओएसआर युट्युब च्यानलबाट अपलोड गरिएको यस भिडियोले हालसम्म ६ करोड ३२ लाख ८५ हजारभन्दा बढी भ्युज बटुलिसकेको छ ।

लोक दोहोरी क्षेत्रमा सबैभन्दा चर्चित गीत हो ‘सालको पात टपरी’ । यस म्युजिक भिडियोमा मरिष्का पोखरेल, कुलेन्द्र विश्वकर्मा, र बसन्त थापाको अभिनय रहेको छ भने गीतलाई कुलेन्द्र विश्वकर्मा र विष्णु माझीले स्वर दिएका छन् । शिव विकको निर्देशन रहेको यस गीतलाई बसन्त थापा नामक युट्युब च्यानलबाट अपलोड गरेको थियो । अहिलेसम्म यस म्युजिक भिडियो ६ करोड २६ लाख ९९ हजार पटकभन्दा बढी हेरिएको छ ।

छैटौँ बढी भ्यूअर बटुल्न सफल अर्को चर्चित गीत रहेको छ ‘नाच फिरिरि’ । गायक महेश काफ्ले र गायिका मेलिना राईले स्वर दिएको यस गीतलाई गायक स्वयंको संगीत छ । चर्चित नायिका स्वस्तिमा खड्का र निश्चल बस्नेतले गीतमा अभिनय गरेका छन् । गीतलाई निर्देशन निश्चल बस्नेत गरेका हुन् । सन् २०१८ मा जी२१ डिजिटल युट्युुब च्यानलले अपलोड गरेको गीतले ६ करोड २४ लाख ३४ हजारभन्दा बढी भ्युज पाइसकेको छ ।

सातौ नम्बरमा पर्न सफल अर्को चर्चित गीत रहेको छ ‘साली मन पर्‍यो’ । ‘घामड शेरे’ चलचित्रको यस गीतलाई कालीप्रसाद बाँस्कोटा र अस्मिता अधिकारीले स्वर दिएका छन् । गीत निर्देशन पनि गायक बाँस्कोटाकै रहेको छ । ओएसआर डिजिटल प्रालि ले अपलोड गरेको यस गीत हालसम्म ५ करोड ७९ लाख ५७ हजारभन्दा बढी हेरिएको छ ।

युट्युबमा भ्युजको आधारमा ४ करोडभन्दा बढी हेरिएको उत्कृष्ट १२ गीतहरु क्रमशः ‘माया बिरानी’ ५ करोड १ लाख ३३ हजार, ‘पर्ख पर्ख मायालु’ ४ करोड ९९लाख १४ हजार र ‘पूर्व पश्चिम रेल’ ४ करोड ७८ लाख ९२ हजार भ्युज रहेको छ

त्यस्तै ‘पहिलो नम्बरमा’ ४ करोड ८० लाख ५५ हजार भ्युज, ‘नाई मलाई थाहा छैन’ ४ करोड ७० लाख ५० हजार भ्युज, ‘कसरी कसरी- २’ ४ करोड ७२ लाख ६३ हजार, ‘फन्टास्टिक वन्डरफूल’ ४ करोड ५५ लाख ८२ हजार, ‘माछीले खाने खोलीको लेउ’ ४ करोड ५२ लाख ६९ हजार भ्युज, ‘फूल हैन’ ४ करोड ३७ लाख ६० हजार भ्युज, ‘कसरी कसरी’ ४ करोड ३५ लाख ४९ हजार भ्युज, ‘गलबन्दी’ ४ करोड २० लाख ५७ हजार र ‘यो कुरा गोप्य नै राखौँला’ को ४ करोड २३ लाख ८१ हजार भ्युज रहेको छ ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु