गृहपृष्ठ बसन्ताको सांगीतिक यात्रा

बसन्ताको सांगीतिक यात्रा

बसन्ता प्रकृति नेपाली सांगीतिक श्रेत्रमा सुनिइरहने नाम हो । वसन्ताले गाएका गीतका कारण दर्शक, स्रोताले उनलाई चिन्दै आएका छन् ।

संगीतसँगै व्यवसायिक क्षेत्रमा आफूलाई उभ्याउन सफल बसन्तामा सानै उमेरदेखि गायिका बन्ने सपना थियो । सानैदेखिको गायिका बन्ने सपना बोकेकी उनलाई भाग्यले डोर्याएर यही क्षेत्रमा ल्याइदियो ।

‘संगीत नै जीवन हो,’ वसन्ता दार्शनिक पारामा भन्छिन्, ‘जीउन जानियो भने यो अति सुन्दर छ ।’ समाजका लागि योगदान दिन र जीवनमा नयाँनयाँ कुराहरु सिक्न मन लाग्ने बताउने बसन्ता सोही कारण सांगीतिक क्षेत्रमा पाइला टेकेको बताउँछिन् ।

दाङमा जन्मिएकी उनलाई सानैदेखि गीत संगितको रुची थियो । उनले सांगीतिक ‘करियर’सँगै व्यवसायलाई पनि निरन्तरता दिइरहेकी छन् । सुमधुर स्वरकी धनी, जिउडाल पनि मिलेको, मान्छेसँग अन्तरक्रिया गर्न नहिच्किचाउने भएकाले उनले स्टेजमा राम्रै प्रस्तुती दिन्छिन् । त्यसैले उनलाई मेला महोत्सवमा निम्तो आइरहन्छ । ‘धेरै गीत नगाएर के भयो त मैले थोरै गीत गाएको छु राम्रो प्रशंशा पाएको छु,’ उनी भन्छिन् ।

बसन्ताले यही क्षेत्रमै स्थापित हुने सपना देखेकी छन् । आफ्नो सांगीतिक यात्रा उकाली लाग्दै गरेको उनको विश्लेषण छ । ‘कति बस्छौ टाढा–टाढा’ लगायतका गीत गायकी उनले ‘मनमा’ एल्बम निकालेकी छन् । दोस्रो एल्बमको तयारीमा रकेको बताउने उनी रेकर्डिङ सुरु भएको बताउँछिन् ।

उनका अनुसार दोस्रो एल्बममा समेटिने एउटा गीतमा राजनराज शिवाकोटीले उनलाई स्वरमा साथ दिएका छन् । उक्त गीतमा डा. राजुबाबु पौडेलेको शब्द र राजनराजको संगीत छ ।

बरिष्ठ संगीत साधक चण्डिप्रसाद काफ्लेसँग ६ वर्षदेखि संगीत सिक्दै आएकी बसन्ता संगीतमै एमएम गर्ने तयारीमा छन् । सांगितिक करियर रमाईलो ढङ्गले चलिरहेको बताउने उनी आफूलाई त्यसले आनन्द दिइरहेको बताउँछिन् । उनका आमाबाबु पनि उनीसँग सन्तुष्ट छन् भने आमाबाबुलाई खुसी दिन सकेकामा उनी पनि ।

घर परिवारले बसन्तलाई पछिल्लो समय भन्न थालेको छ, ‘अब तेरो विहे गर्ने बेला भयो है ।’ उनी आँफै पनि विवाह गर्न चाहन्छिन् तर, केही वर्ष पछि मात्र । विहे कहिले गर्नुहुन्छ ? उनी भन्छिन्, ‘समय त भयो, अब एक-दुई बर्षभित्रै ।’

प्रकाशित समय १३:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु