गृहपृष्ठ ‘अर्धभूमिगत’ विष्णु माझी, घरमै नजरबन्द !
‘अर्धभूमिगत’ विष्णु माझी, घरमै नजरबन्द !
धेरैको चाहना हुन्छ, आफ्नो छुट्टै स्टार्डम होस्, पब्लिकमा क्रेज होस् । खासगरी रंग क्षेत्रमा क्रियाशील सर्जकहरुमा यस्तो चाहना बढी पाइन्छ । नेपाली रंग क्षेत्रमा कतिपय कलाकारले त हिट हुनका लागि अनेक हर्कत गरेका उदाहरण प्रशस्त छन् । तर, यही क्षेत्रमा लोक गायिका विष्णु माझी पनि छिन्, जसका लाखौं फ्यान छन् तर सामाजिक जीवन छैन । उनलाई एक झलक हेर्न र एउटा सेल्फीका लागि पर्खिनेहरु हजारौं छन् तर उनी खुलेर बाहिर आएकी छैनन् ।
धेरैलाई थाहा नहुन सक्छ, करिब डेढ दशकयता हजारौं नेपाली लोकदोहोरी गीतमा आवाज दिएकी गायिका विष्णु माझी ‘अर्धभूमिगत’ छिन् । विश्वका नेपालीहरु उनलाई सार्वजनिक कार्यक्रममा हेर्न पर्खिरहेका छन् । तर, उनी घर र स्टुडियोमै सीमित छिन् । गीत गाउन पनि उनी फरियाले मुख छोपेर स्टुडियोसम्म पुग्छिन् । धेरैजसो उनी रातको समय पारेर स्टुडियो जाने गरेकी उनीसँग काम गरेका कलाकार बताउँछन् ।
विष्णु माझीको जादुमय स्वरकै कारण उनले गाएका हरेक गीत हिट छन् । त्यसैले उनलाई देश–विदेशका थुप्रै कार्यक्रममा दर्शक हेर्न चाहन्छन्, कार्यक्रम आयोजकहरु विष्णु माझी स्टेजमा आउन तयार भए मागेजति रकम दिन तयार छन् । तर पनि विष्णु माझी घर र स्टुडियोमै सीमित हुनुले धेरैको मनमा प्रश्न उब्जाएको छ, आखिर किन विष्णु माझी सार्वजनिक हुँदिनन् ?
यसबारे विष्णु माझीसँग सिधै बुझ्न मुस्किल छ । किनकि, न उनी मोबाइल नै बोक्छिन् न स्टुडियोमा भेटिँदा खुलेर बोल्छिन् नै । व्यावसायिक कुरा पनि लम्ब्याएर गर्न नचाहने उनी व्यक्तिगत कुराको प्रसंग पनि रुचाउँदिनन् । केही दिनअघि ४० हजार रुपैयाँ तिरेर विष्णुलाई गीत गाउन लगाएका एकजना शब्द संकलकले सेल्फी लिन खोज्दा विष्णुले अस्वीकार गरेकी थिइन् । हुन त उक्त घटना नौलो होइन, देशका नाम चलेका कलाकारले आग्रह गर्दा पनि विष्णु माझी सेल्फी वा कुनै पनि फोटो खिचाउन मान्दिनन् । एल्बममा पनि उनको एउटै फोटो वर्षौंदेखि प्रयोग हुँदै आएको छ । गुगलमा उनको नाम सर्च गर्दा मुस्किलले दुई–चार वटा फोटो भेटिन्छन् ।
विदेशका कैयौं कार्यक्रममा उनलाई लान चाहने आयोजक थुप्रै छन् । तर, उनीहरु विष्णु माझीसम्म पुग्नै सक्दैनन् । कतै स्टुडियोमा कुरेर विष्णु माझीसँग यो प्रसंगमा कुरा गर्न खोज्दा पनि उनीहरु असफल हुने गरेका छन् । ‘जब देशभित्रकै कार्यक्रममा त उहाँ सहभागी हुनुभएको छैन भने विदेश त टाढाकै कुरा भयो,’ उनीसँग थुप्रै गीत गाएका गायक कुलेन्द्र विश्वकर्मा भन्छन्, ‘उहाँ सामाजिक जीवनमा आएको हेर्न चाहने थुप्रै छन्, उहाँ सार्वजनिक भइदिए राम्रो हो ।’
केही महिनाअघि एउटा ब्लगले विष्णु माझीले सार्वजनिक कार्यक्रममा दोहोरी गाएको भिडियो सार्वजनिक गर्यो । ‘अर्ध भूमिगत’ भनिएकी विष्णु माझीलाई सार्वजनिक कार्यक्रममा, त्यो पनि लाइभ दोहोरी गाइरहेको देखेर धेरै अचम्ममा परे । कतिपयले विष्णु माझी सामाजिक जीवनमा फर्किएको अड्कल गरे । तर, त्यो भिडियो पोखरामा २०६१ सालमा कैद गरिएको पाइयो, जुन उनी गायनमा चर्चित हुनुअघिको थियो ।
किन खुल्दिनन् विष्णु माझी ?
विष्णु माझी सार्वजनिक नहुनुका केही कारण अवश्य छन् । कतिपय कलाकारको ठम्याइमा उनी आफ्नो पढाइ, रुप र श्रीमानका कारण सार्वजनिक हुन सकिरहेकी छैनन् । उनी साक्षरमात्रै छिन् । हतपत्त नबोल्ने उनी व्यावसायिक डिल गर्ने क्रममा पनि सहज रुपमा बोल्दिनन् । अर्थात्, उनीसँग कन्फिडेन्ट कम छ । स्वरले जोकोहीलाई पनि लठ्याउने गायिका विष्णु माझी पढाइ र रुपका कारण आफूलाई कमजोर ठान्छिन् ।
तेस्रो कारणमा कयौं भिडियो बनिसकेका छन् भने कैयौं ब्लक र स्ट्याटस बनिसकेका छन् । एक वर्षअघि कवि तथा कलाकार बादल घिमिरेले विष्णु माझीलाई श्रीमान सुन्दरमणि अधिकारीले आफ्नै घरमा नजरबन्दमा राखेको भन्दै उद्धारका लागि सार्वजनिक अपिल गरेका थिए । युट्युब र ब्लगरहरुले पनि यो विषयलाई भाइरल बनाए । तर, यसबारे न सुन्दरमणिले नै जवाफ दिए न विष्णुले नै ।
विष्णु माझी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका (साविक रत्नपुर) काली नदीको किनार खोरियाघाटमा जन्मेकी हुन् । जुन स्थान वरिपरि भगवान भण्डारी, बद्री पंगेनी, एकनारायण भण्डारी, रूपक डोटेल, रामजी खाणजस्ता गायक कलाकार पनि जन्मिएका छन् ।
विष्णु माझीलाई सांगीतिक क्षेत्रमा ल्याउने सुन्दरमणि नै हुन् । करिब एक दशकअघि बुटवल महोत्सवमा विष्णुको स्वर सुनेर नतमस्तक बनेका सुन्दरमणिले विष्णुलाई रात्रिबस चढाएर काठमाडौं ल्याएका थिए । विष्णु काठमाडौं आएपछि उनै सुन्दरमणिसँग ‘लिभिङ टुगेदर’ बसिन् । केही वर्षअघि मात्रै उनीहरुले विवाह गरेको भन्ने खबर बाहिरिएको थियो । तर, विवाह कहाँ र कसरी भयो भन्नेबारे सार्वजनिक गरिएको छैन ।
काठमाडौं आएपछि विष्णुले केही गीत गाइन् । उनको स्वर सुरिलो र जादुमय भएकै कारण धेरैले मन पराए र उनले एकपछि अर्को गीतहरु पाउन थालिन् । उनलाई त्यतिबेलै चर्चित गायिकाहरु बिमाकुमारी दूरा, लक्ष्मी न्यौपाने र शर्मिला गुरुङको विकल्पका रुपमा हेरियो । त्यो समयमा उनले २ हजारदेखि २५ सयसम्ममा एउटा गीत गाउँथिन् । पछि विकल्प होइन, उनी पहिलो रोजाइ बनेर निस्किइन् । कारण थियो, उनको जादुमयी स्वर ।
उनको लोकप्रियता बढ्दै गएपछि सुन्दमणिले विष्णुको ‘भाउ’ बढाएर १० हजार पुर्याइदिए । विष्णु माझी लोकदोहारीमा एउटा ब्रान्डको रुपमा चिनिएकाले १० हजार तिरेरै भए पनि गीत दिनेहरु भेटिए । सुन्दरमणिले फेरि विष्णुको रेट बढाएर ४० हजार पुर्यादिए । त्यसपछि भने विष्णुले विरलै गीतहरु पाउन थालिन् । किनकि, सामान्यतः ४० हजारमा एउटा लोकदोहोरी गीतको सबै काम सकिन्छ । विष्णु माझीले गर्ने हरेक काम र पारिश्रमिकको सेड्युल सुन्दरमणिले नै बनाउने गरेको जानकारहरु बताउँछन् । विष्णु माझीलाई देश–विदेशका कार्यक्रममा जान पनि सुन्दरमणिले नै बाधा गरिरहेको बताइन्छ । ‘विष्णु टिभी हुन् भने सुन्दरमणि रिमोट हुन्,’ एकजना दोहोरी गायक भन्छन्, ‘विष्णु माझी घरभित्रै हिंसाको सिकार बनेको कुरामा मिडिया किन बेवास्ता गरिरहेको छ ?’
धेरैले आशंका गरेका छन्, विष्णु माझीको जीवनमा केही रहस्य त अवश्य लुकेको छ । स्टुडियोमा गीत गाउन आउँदा कसैले ठट्टा गर्छन्, वरिपरिका सबै हाँस्छन्, विष्ण हाँस्दिनन् । रोमान्टिक गीत गाउँदा उनको स्वरमा जति चञ्चलता र स्वतन्त्रता महसुस गरिन्छ, त्योभन्दा कयौं गुणा बढी उकुसमुकुस र बन्दी देखिन्छिन् विष्णु माझी ।
कलाकारको हकहितका लागि भन्दै च्याउसरी खुलेका संगठन यसबारे मौन छन् । कतिपय कलाकारले व्यक्तिगत रुपमा विष्णु माझीको जीवनबारे चासो राख्ने गरेका छन् । सुन्दरमणिले विष्णुलाई नजरबन्दमा राखेको हो वा होइन भन्नेबारे कलाकारका छाता संगठनहरु बुझ्न आवश्यक नै ठानेका छैनन् । विष्णुलाई नजरबन्दमा राखिएको हल्ला सत्य हो भने उनी अन्यायमा परेकी छन्, होइन भने सुन्दरमणि अन्यायमा परेका छन् । को दोषी र को पीडित भन्नेबारे कलाकारका छाता संगठनले बुझ्न नखोज्दा लाखौं दर्शक र हजारौं कलाकार चर्चित गायिक विष्णु माझीबारे कैयौं प्रश्न गुम्स्याएर बसेका छन् ।
प्रकाशित समय १३:३३ बजे

















