गृहपृष्ठ विराटनगरबाट माउन्टेन फ्लाइट सुरु
विराटनगरबाट माउन्टेन फ्लाइट सुरु
काठमाण्डौंबाट भन्दा सस्तोमा यात्रा
आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विराटनगरबाट हिमाली उडान (माउन्टेन फ्लाइट) सुरु गरिएको छ । शनिबार प्रदेश १ को अस्थायी राजधानी विराटनगरबाट निजी क्षेत्रको पहलमा माउन्टेन फ्लाइट सुरु गरिएको हो ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायत प्रदेशका मन्त्री, प्रदेशका मुख्य सचिव, उच्चपदस्थ कर्मचारी, पर्यटन व्यवसायीले कञ्चनजङ्घा, लोत्से, मकालु, लगातयका हिम शिखरको उडानबाट अवलोकन गरेका छन् ।
यति एयरलाइन्सको भाडामा लिइएको सि आरजे जेट स्ट्रिमको २३ सिटे विमानले प्रत्येक शनिबार बिहान हिमाल उडान हुने छ । भारत र बंगलादेशसहितका आन्तरिक पर्यटकलाई काठमाडौं भन्दा सस्तोमा विराटनगरबाट माउन्टेन फ्लाइटको साप्ताहिक उडान गरिने छ ।
पर्यटन व्यवसायीहरु आवद्ध ‘विराट होलिडेज’ नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट चार्टर विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाईट गराइने छ । विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार साप्ताहिक रुपमा गरिने माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्ससँगको साझेदारी गरिएको छ ।
यति एयरलाइन्सलाई कुल ५५ मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाइट लागि प्रतिउडान १ लाख ८० हजार दिने सहमति भएको छ । विराटनगर ट्राभल्स एसोसियसनका अध्यक्ष फडिन्द्र अधिकारीका अनुसार यात्रुले ९ हजार ९ सयमा माउन्टेन फ्लाइट भर्न पाउनेछन ।
विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाइट काठमाण्डौ भन्दा सस्तो हो । काडमाण्डौंबाट माउन्टेन फ्लाइटका लागि प्रति यात्रु ११ हजार ६ सय ३५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाइटको उडानमा सरिक भएपछि मुख्यमन्त्री शेरधन राईले प्रदेशको विकासका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेकोबताए । उनले माउन्टेन फ्लाइट सुरु हुनुले बाह्य र आन्तरिक पर्यटन भित्र्याउन कोशेढुङ्गा सावित हुने बताए ।
उनले प्रदेश भित्र रहेका पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गरी प्रदेशलाई समृद्धिको यात्रामा अघि बढाउने बताए । उनले प्रदेश सरकारले नीजि क्षेत्रको सहयोगमा यस प्रदेशको विकास गर्न चाहेको भन्दै प्रदेश सरकारको विकासको योजनालाई साझा बनाएर अघि वढन आवश्यक रहेकोमा जोड दिए ।
उनले माउन्टेन फ्लाइटको उडान अब कुनैपनि अबस्थामा नरोकिने र यसलाई नियमित गर्नका लागि प्रदेश सरकारले सम्बन्धित एयरलाइन्स कम्पनीसँगपनि कुरा गर्ने आवश्वसन दिए । सो अवसरमा प्रदेश १ का पर्यटनमन्त्री जगदिश कुशियतले माउन्टेन फ्लाइटलाई निरन्तरता दिन प्रदेश सरकार जुनसुकै सहयोग गर्न तयार रहेको बताए ।
विराटनगर ट्राभल्स एशोसियशनका अध्यक्ष फडिन्द्र अधिकारीले विराटनगरबाट माउन्टेन फ्लाइटको उडानलाई व्यवसायीक रुपमा नियमित गर्न चुनैती रहेको बताए । उनले आन्तरिक पर्यटनको भरमा मात्र उडानलाई नियमित गर्न सम्भव नहुने भन्दै बाह्य पर्यटन आर्कषित गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक नीतिका साथै प्रचारप्रसारका लागि सहयोग आवश्यक रहेको बताए ।
यात्रुको चापलाई हेरेर साप्ताहिक रुपमा शनिबारमात्र गरिने माउन्टेन फ्लाइटलाई शुक्रबारपनि गर्ने योजना रहेको छ । विराटनगरबाट सुरु भएको माउन्टेन फ्लाइटमा पर्यटकले प्रदेश १ भित्र पर्ने आठ हजार मिटरमाथिका हिमश्रृंखलाको अवलोकन गर्न पाउनेछन् ।
प्रदेश १ मा मात्रै अहिले १४ वटा विमानस्थल रहेका छन् । जसमध्ये लुक्काका लागि मात्रै सरकारले उडान अनुमति दिएमा विराटनगरदेखि दैनिक पाँचवटा फ्लाइट हुनसक्ने व्यवसायीहरुले बताएका छन् ।
प्रकाशित समय १४:४६ बजे

















