गृहपृष्ठ झरीले रुझाउँदैन शासकको सिंहासन
झरीले रुझाउँदैन शासकको सिंहासन
किन रुझाउँदैन
झरीले शासकको सिंहासन
किन डुबाउँदैन बाढीले
भ्रष्टाचारीको खेत
किन छ्यापिन्न
सफेद मयल पोसमा
सडकको हिलो
सत्यवादी जनताको
किन लाग्दैन पड्केलाई सराप
अति भइसक्यो
खतिको दिन अगाडि आइसक्यो
अन्यायीलाई किन दिँदैनौ
पशुपति तिमी सजाय ?
किन विषादी खुवाउनेलाई
तिमी खुवाउँदैनौ नीलोतुथो
लम्पसार पर्नेलाई किन दिँदैनौ
ब्रह्मनालको सिरानी
सरमहारा देशद्रोहीको संहारका लागि
किन जन्मदैनन् वीरभद्र र महाकाली ?
काठमाडौं रोइरहेको छ
देश चिच्याइरहेको छ
समृद्धिको कोरा सपना बाँडेर
प्रचण्ड विनाशमा पनि
चम्कन छोडेको छ खड्ग
असारे विकासमा रमाउँदै छ
मनमग्न मेरो ‘क्याबिनेट’
मन मनमा चिन्ता लिएर
कटेरो कुरिरहेकी आमालाई
दिने जवाफ छैन
निधार भरिका खोल्साहरुमा
विकास बगेको हेर्ने बाहरुलाई
दिने उचित उत्तर छैन
विषादीरहित तरकारी छैन
हिलो, धुलो नभएको सडक छैन
आशा र सम्भावना बोकेको सदन छैन
ओठहरुमा हाँसो छैन
उत्साह छैन, जोश र जाँगर छैन
सुरक्षा छैन, सुविधा छैन
हुति, हिम्मत र सामर्थ्य छैन
निरीह म यो देशको नागरिक
धिक्कार्नुबाहेकको विकल्प छैन
धिक्कार छ मेरो भोटलाई
धिक्कार छ हाम्रा भोटमा
रजाइँ गर्ने हाम्रा अप्रिय प्रतिनिधिलाई !
(ऋषभदेव घिमिरे, गोदावरी)
प्रकाशित समय १४:१३ बजे

















