गृहपृष्ठ बुढो कुर्सी

बुढो कुर्सी

durga rai-कविता

धेरै समयदेखि हो
त्यो आँगनको डिलमा
अपांग, अनाथ बसिरहेछ
त्यसलाई थाहा छ, त्यहाँ लडिरहनुको अर्थ
बुढो हुनुको अर्थ पनि थाहा छ त्यसलाई ।
जवानी फूलेपछि अस्ताउँदो सूर्य
ताप्दैन, ताप्दैन सेलाउनै लागेको चुल्हो ।
त्यो बुढो कुर्सी …

मेरो बाजे जतिकै बुढो
मेरो बा जतिकै बुढो ।
त्यसै कुर्सीमा मेरा यी तमाम दिनहरू बिते
त्यसै कुर्सीमाथि राखेर मेरो बाजेले
एकादेशको राजारानीको कथा
देवता र परीको कथाहरू सुनाएका थिए
मलाई लाग्थ्यो म त्यसै कथाको राजकुमार हुँ
जति बेला म त्यस कुर्सीमा बस्थेँ
मेरा बाले धेरै चोटि कुर्सीका कथा सुनाएका छन्

मैले धेरै चोटि सुनेको छु कुर्सीको कथाहरू
धेरै युद्ध, महायुद्धहरू कुर्सीका निम्ति भए
कुर्सीको आकारप्रकार एउटै हो
शासन सत्ता भिन्न भिन्नै
त्यसै शासन सत्ताको होडमा
आपूm आफ्नाबीच संग्राम भए
मारिए आफ्ना आफन्तहरू
एउटा कहालीलाग्दो इतिहास
जुन इतिहासले भूगोल बदलिएन
बदलिए विचारहरू
त्यो बुढो कुर्सी त्यही छ

बस्दैन कोही, रङ–बेरङ भएको छ ।
जहाँ त्यो कुर्सी राखिएको थियो पहिले
त्यहाँ मुलायम, महँगो फर्निचरले ओगटेको अहिले
लाग्छ त्यो बुढो कुर्सीको कुनै अस्तित्व नै छैन
मकिएर भाँचिन लागेको त्यसका खुट्टाहरू
कुनै एउटा बतासको पर्खाइमा लडिरहेछ ।
आउँदैनन् कुनै चिनारुहरू
आउँदैनन् कुनै आगन्तुकहरू परिचय साट्न
त्यो बुढो कुर्सी त्यहीँ छ, लडिरहेछ
यस्तो लाग्छ त्यो बुढो कुर्सी
एउटा थोत्रो इतिहास हो
पुनः लेखनको प्रतिक्षामा छ ।

दुर्गा राई ‘चामलिङ’
डुवर्स, भारत
Email.:  [email protected]

प्रकाशित समय ११:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु