गृहपृष्ठ निःशुल्क स्वास्थ्य शिविर आयोजना
निःशुल्क स्वास्थ्य शिविर आयोजना
मित्रराष्ट्र पाकिस्तानबाट चिकित्साशास्त्रमा उच्च शिक्षा हासिल गरी स्वदेश फर्किएका चिकित्सकहरुको सहभागितामा आज यहाँ निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । नेपालस्थित पाकिस्तानी दूतावासको सहयोगमा नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको आयोजनामा भएको उक्त शिविरमा विभिन्न रोगको परीक्षणका साथै निःशुल्क औषधि वितरण गरिएको छ ।
शिविरको उद्घाटनमा अवसरमा पूर्वउपप्रधानमन्त्री एवं नेकपा (माले) का महासचिव सिपी मैनालीले बौद्ध सभ्यता नेपाल-पाकिस्तानबीच सम्बन्ध सेतुका रूपमा रहेको उल्लेख गर्दै पाकिस्तानमा हासिल गरेको शैक्षिक ज्ञानलाई स्वदेशमा उपयोग गरी दुई देशबीचको सम्बन्धलाई अझ फराकिलो बनाएकामा नेपाली चिकित्सकलाई धन्यवाद दिए ।
पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मित्रराष्ट्र पाकिस्तानले नेपाली विद्यार्थीलाई चिकित्साशास्त्र, इन्जिनियरिङजस्ता विषयमा छात्रवृत्ति प्रदान गरी ठूलो गुन लगाएको बताउँदै नेपालमा ज्येष्ठ नागरिक र शारीरिक रूपले अशक्तहरूका लागि छुट्टै अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता औँल्याए ।
नेपालका लागि पास्कितानका राजदूत डा. मजार जाभेदले नेपाल-पाकिस्तानबीच ६० वर्षदेखि रहँदै आएको मैत्री सम्बन्धलाई यस्ता स्वास्थ्य शिविरहरूले जनस्तरमा विस्तार गर्दै लैजान सहयोग पुगेको बताए ।
उक्त अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपाल-पाकिस्तान मैत्री तथा सांस्कृतिक संघका महासचिव डा. मञ्जुरत्न शाक्य, परोपकार संस्थाका महासचिव डा- डम्बरबहादुर नेपाली, समाजवादी पार्टीका नेत्री रेखा यादवले पनि नेपाल-पाकिस्तान सम्बन्ध र स्वास्थ्य शिविरबारे बोलेकी थिइन् । संघले ११ वर्षदेखि वर्षमा दुई पटक काठमाडौँ र धुलिखेलमा यस किसिमको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । (रासस)
प्रकाशित समय १२:१४ बजे
















