गृहपृष्ठ नयाँ वर्ष र मनभरि फुलेका सपनाहरू
नयाँ वर्ष र मनभरि फुलेका सपनाहरू
दिनहरु बित्दै गए
हप्ताहरु बित्दै गए
महिनारु फेरिँदै गए
ऋतुहरु बदलिए
पत्तै नपाई वर्ष पनि फेरिए
तर अहँ मैले चाहेको दिन कहिले आएन
पर्खंदा पर्खंदै वर्ष बितेछ, पत्तै भएन
तर मेरो जीवनमा बसन्त कहिल्यै आएन
त्यो दिन कहिल्यै आएन ।
पोहोर पनि नयाँ वर्षको सुरुवातसँगै
हर नयाँ कुराको प्रतिक्षा थियो मेरो
पक्कै मेरो लक्ष्यमा पुग्छु भन्ने विश्वास थियो
जीवनमा केही नयाँ गर्छु भन्ने सोच थियो
सबै हराएर गए
सबै आसा मरेर गए
वर्ष फेरिए तर म फेरिन सकिनँ
मेरो जीवन फेरिएन
मैले बाँचेको संसार पनि फेरिएन ।
मनमा खुसी सजाउन खोजेकै हो
जीवनमा केही गर्न सोचेकै हो
हाँस्न खोजेकै हो, बाँच्न खोजेकै हो
तर सोचेजस्तो भइदिएन समय
चाहेजस्तो भइदिएन जीवन ।
तर पनि आसा मरेको छैन अझै
अझै पनि पर्खाई छ त्यो दिनको, त्यो समयको
योे वर्ष पनि प्रतिक्षा गर्नेछु
फेरि नयाँ योजनाहरु बनाउनेछु
हार मानेको छैन मैले
न आफ्नो लक्ष्यबाट भागेको छु
मलाई थाहा छ,
सफलता एकदिन पक्कै आउनेछ
मलाई पछ्याउँदै, मलाई नै खोज्दै आउनेछ
बस् त्यतिन्जेल मैले धैर्य गर्नुछ ।
मैले वर्षौदेखि प्रतिक्षा गरेको खुसी, समृद्धि
मैले चाहेकोजस्तै मेरो जीवन
मैले खोजेकोजस्तै मेरो सफलता
मैले पुग्न चाहेको मेरो लक्ष्य
विश्वास छ अर्को वर्ष
पक्कै आउनेछ
सायद गएका दिनहरु मेरा लागि थिएनन्
चाहेका कुरा पाउन मेरै मेहनत पुगेन
आफ्नाहरु टाढा भए, पराई आफ्ना बन्न आए
सम्बन्ध सधैँ एकनास कहिल्यै हुदैनन्
दिनपछि रात, रातपछि बिहान
कहिले हरियाली वसन्त, कहिले तुसारे शिशिर
साँच्चै समय कहिल्यै एकनास चल्दैन ।
नयाँ वर्षसँगै नयाँ रहरहरु
मनभरि छचल्किएका नवीन सपनाहरु
चाहँदा चाहँदै पनि पूरा गर्न सकिनँ
मेरा मनका इच्छाहरु ।
विगत जे थियो, गुनासो छैन
वर्तमान जे छ, दुखी पनि छैन
तर सुन्दर भविष्यको मिठो आसा छ
अबका दिन मेरै लागि चल्नेछ
जीवन मैले सोचेजस्तै हुनेछ
त्यो दिनको प्रतिक्षामा छु म
जसको लागि अर्को वर्ष पक्कै आउनेछ ।
प्रकाशित समय १८:२० बजे

















