गृहपृष्ठ यो समय
यो समय
आजकालका बिहानीहरु पहिलेझैँ हतारका, व्यस्तताका,
थोरबहुत विवशताका
कतै कुदिरहेका, कतै गएर सकिनका निम्ति आतुर देखिनन्
मानौं कि समय पनि सत्याग्रहमा लागेको
आन्दोलनकर्ताझैँ
मौन, स्तब्ध
एकटक, एकैठाउँमा अडिक छ
आफ्नै जियाद्रो अडान लिएर ।
ऊ तलको चौतारीको घुम्ती
मोडहरुले
मानौं कि मोडहरुले मोडिन बिर्सिसके
एकछिन त लाग्छ,
ती मोड, घुम्तीहरु अनि तीसँग जोडिएका यावत्
उतारचढावहरु,
वर्षौंअघिका इतिहास नै पो बन्छन् कि ।
भनिन्छ नि
घाम हुनेसँग जून हुँदैन
जून हुनेसँग घाम हुँदैन
होइन,
न जून न घाम भएका के हुन्छ
फगत
भ्रम मात्र
अनाहकको, अफसोचको अनि
पराजयको
भ्रम मात्र ।
आशा छ,
मौन समयले दम तोडेको दिन
नयाँ दिन हुनेछ
भरोसा, विश्वास अनि
यकिनको नयाँ अध्याय कोरिनेछ
किनकि हामीलाई थाहा छ
यो समय पनि बितेर जानेछ ।
प्रकाशित समय १२:०० बजे

















