गृहपृष्ठ भारतको अनकन्टार भूमिमा ‘अल्झिएका’ गोर्खाली सपूतहरुको नाममा

भारतको अनकन्टार भूमिमा ‘अल्झिएका’ गोर्खाली सपूतहरुको नाममा

एक केजी नुनको मूल्य १५० रुपैयाँ । एक केजी चिनीको मूल्य २ सय ५० र एक बोरा सिमेन्टको मूल्य ७ हजार रुपैयाँ भनेको सुन्दा कसलाई अचम्म नलाग्ला ? तर यो कुनै काल्पनिक कथा हैन, सत्य कुरा हो । अझ यो यथार्थ अरु कसैको नभएर तपाईं हाम्रै नेपाली गोर्खाली दाजुभाइहरुको भोगाइ हो ।

नयाँ-नयाँ साथी बनाउने मेरो रुचिले कहिलेकाहीँ गज्जबै हुनेगर्छ । साथी बनाउन खुबै मन पराउँछु म । केही दिनअघि मेरो एकजना साथी सरमान मुखियासँग गान्तोकमा भेट भयो । हामीबीच सामान्य बोलचाल त थियो नै तर विस्तृत कुराकानी भने गरेका थिएनौं । संयोगवश उहाँ मेरो निवासमै आइपुग्नु भएको थियो । गान्तोकमै बसेर अनलाइन जब गर्ने उहाँलाई मैले कुरैकुरामा ‘तपाईं कहाँको हुनुहुन्छ ?’ भनेर सोध्दा मैले कहिल्यै नसुनेको र नसोचेको ठाउँको नाम सुनेँ । त्यतिमात्र कहाँ हो र, अहिलेको एक्काइसौँ शताब्दीमा पनि सडक, बिजुलीबत्ती, सञ्चारमाध्यम, अस्पताल आदि अतिआवश्यक सेवासुविधाहरुबाट बञ्चित उक्त गाउँको कुरा सुन्दा म अचम्ममा परेँ । त्योभन्दा बढी गोर्खाली दाजुभाइहरुको जीवन भोगाइबारे सुनेर भावविभोर बने । सरमानजीबाट सुनेको त्यस गाउँको वृत्तान्त बाल्यकालमा हामीले सुने/पढेको ‘एकादेशको कथा’जस्तै लाग्यो ।

सरमानजीका अनुसार आजभन्दा करिब ६० वर्षअघि सन् १९६०-६१ तिर म्यानमार (तत्कालीन नाम बर्मा)छेउमा हाल भारतको अरुणाञ्चल प्रदेशको चाङलाङ जिल्लाको डाओडी भन्ने ठाउँ चारैतिर पहाड र जंगलले घेरिएको ठूलो उपत्यका थियो । सबैभन्दा पहिले सन् १९६१ मा भारतीय अर्धसैनिक बल आसाम राइफल्सका मेजर ए.एस. गुरैयाको नेतृत्वमा गोर्खाली फौजलाई उक्त जग्गामा बसोवासका लागि पठाइएको थियो । त्यतिबेला आसाम राइफल्समा कार्यरत ती गोर्खालीहरुलाई त्यस ठाउँमा गएर बसेबापत सम्पूर्ण सेवासुविधाको व्यवस्था गरिदिने आश्वासन दिइएको थियो । अन्यथा, पेन्सनसमेत नपाउने त्रास देखाएर गोर्खालीहरुलाई त्यस क्षेत्रमा जान बाध्य पारिएको थियो ।

प्रलोभन वा बाध्यतामा परेका गोर्खालीहरुले त्यस घना जंगललाई फडानी गरेर बस्न योग्य बनाएका थिए । अहिले योबिन जाति र गोर्खा जाति त्यस ठाउँका रैथाने बासिन्दा भएको सरमानजीले बताउनु भयो । गोर्खाली (नेपाली), हिन्दी र अंग्रेजी त्यहाँ बोलिने भाषा हुन् । अधिकांश क्षेत्र जंगलैजंगल भएकाले त्यहाँका मानिसहरूले पशुपालन र कृषि पेशा अँगालेका छन् । फुर्सदको समयमा स्थानीयहरु शिकार गर्दै म्यानमारसम्म नै पुग्ने गरेको सरमानजीले जानकारी दिनुभयो । सो ठाउँलाई मेजर ए. एस. गुरैयाको छोरा विजयको नामबाट ‘विजयनगर’ नामकरण गरिएको हो ।

विजयनगरका गोर्खालीहरू ।

धान, गहुँ, कोदो, मकै र अलैँची त्यहाँका मुख्य बालीहरु हुन् । अहिले त्यहाँ माध्यमिक तहसम्म पठनपाठनका लागि विद्यालय सञ्चालित छन् । उच्च शिक्षाका लागि विजयनगरका विद्यार्थीहरु झण्डै सात दिनको यात्रा तय गरी मिओ भने ठाउँ पुग्नु पर्दछ । विगत केही वर्षअघि त्यस ठाउँमा भारतीय स्टेट बैंकको शाखा खोलिएको छ । साथै अहिले इन्टरनेट सुविधा पनि उपलब्ध भएको छ । जसले गर्दा स्थानीयवासीलाई बाँकी विश्वसँग जोडिन केही सहज भएको छ । विद्युत नभएको कारणले गर्दा त्यहाँ सोलार जडान गरिएको छ ।

विजयनगरमा जम्मा नौ वटा गाउँ छन् । गाउँमा कुनै झैझगडा भएको खण्डमा स्थानीय ‘गाउँ बुढा’ले छिनोफानो गर्ने व्यवस्था छ । सामान्य बिरामीहरु एकघण्टा लगाएर आर्मी हस्पिटलमा पुग्छन् । आकस्मिक र जटिल अवस्था सिर्जना भए आर्मी हेलिकप्टरबाट मिओ लगिन्छ । विजयनगरमा हाल बसोवास गरिरहेका जति पनि गोर्खेहरु छन् उनीहरु सबैको पुर्खा आसाम राइफल्समा कार्यरत थिए । यतिका वर्षहरु बित्दा पनि सरकारबाट पाउनुपर्ने सुविधाहरु नपाएको उनीहरुको गुनासो छ ।

उक्त ठाउँ भौगोलिक दृष्टिकोणले एकदमै दुर्गम छ । तीनतिर म्यानमार र एकतिर घनाजंगलले घेरिएको विजयनगर अनकण्टार भूमि हो । जहाँ पुग्न अहिलेसम्म सडक सुविधा छैन । पैदल या आर्मी हेलिकप्तर यी दुई मात्र विजयनगर पुग्ने विकल्पहरु हुन् । उक्त गाउँ पुग्न पैदल यात्रामा एक हप्ता र हेलिकप्टरमा जाँदा आधा घन्टा लाग्छ । यही कारणले दैनिक उपभोग्य वस्तुदेखि त्यस ठाउँमा पाइने हरेक सामान महँगो हुनेगरेको सरमानजी बताउनुहुन्छ ।

प्राकृतिक स्रोतसाधनले धनी र पर्यटनको प्रशस्त सम्भावना बोकेको विजयनगरसम्म सडक निर्माण हुने सन् २०१३ मै चर्चा चलेको थियो । तर त्यस ठाउँमा पर्ने राष्ट्रिय संरक्षण क्षेत्रको विवादका कारण अहिलेसम्म काम अगाडि बढेको छैन । सडक मार्ग पुगेको स्थान मिओबाट बर्सेनि ठूलो संख्यामा प्रकृतिप्रेमीहरु हिँडेरै विजयनगर पुग्छन् । र त्यहाँका खोलानाला, डाँडाकाँडासँग रमाउँछन् । फर्कंदा भने उनीहरु पनि आर्मी हेलिकप्टर नै प्रयोग गर्छन् ।

सन् १९६०-६१ तिर म्यानमार (तत्कालीन नाम बर्मा)छेउमा हाल भारतको अरुणाञ्चल प्रदेशको चाङलाङ जिल्लाको डाओडी भन्ने ठाउँ चारैतिर पहाड र जंगलले घेरिएको ठूलो उपत्यका थियो । सबैभन्दा पहिले सन् १९६१ मा भारतीय अर्धसैनिक बल आसाम राइफल्सका मेजर ए.एस. गुरैयाको नेतृत्वमा गोर्खाली फौजलाई उक्त जग्गामा बसोवासका लागि पठाइएको थियो ।

विजयनगरमा दश वर्ष अघिसम्म स्वास्थ्य संस्थाहरु थिएनन् । सन् २०१७ देखि मात्र विजयनगरवासीले डाक्टरको सेवा पाउन थालेका हुन् ।अहिले त्यहाँका गोर्खेहरुको सबैभन्दा प्रमुख समस्या भनेको पीआरसी (पर्मानेन्ट रेसिडेन्सल सर्टिफिकेट) हो । जुन अहिलेसम्म उनीहरुले पाएका छैनन् । पीआरसीको माग गरेको वर्षौं बितिसके पनि भारत सरकारले सुनुवाइ गरेको छैन । पूर्वसैनिक डबलसिंह तामाङ र मनमति मुखिया त्यहाँका पहिला पुस्ता हुनुहुन्छ । उहाँहरु अहिले एकसय वर्ष हारहारीको उमेरमा हुनुहुन्छ । विजयनगरमा राई, लिम्बू, तामाङ, बाह्मण जातका गोर्खाहरुको बसोवास छ । गोर्खाहरुको सामाजिक संगठनको रुपमा आ. ए. सा. र भिक्सु सक्रिय छन् ।

त्यतिका असुविधा र असहजता खेपेर भए पनि आफ्नो काम र वचनप्रति सदैव कटिबद्ध नेपाली सन्तान वीर गोर्खाहरुको कथा-व्यथा सुनेर म भावुक बनेँ । कर्मभूमिको रक्षार्थ खाएको कसम र दिएको वचन अझै पनि पालना गरिरहेका उनीहरुको बाँकी दिनहरु के-कसरी बित्ला ? आफ्नो मातृभूमि, आफ्नो माटो, आफ्नो पुर्खा जन्मेहुर्केको थातथलोबाट टाढिएका ती वीर गोर्खालीका सन्तानहरुको माग सम्बोधन होला कि नहोला ? उनीहरुको सन्तान-दरसन्तानको जीवनशैली सहज बन्दै जाला कि थप कष्टकर हुने होला ? अहिले मेरो मनभरि यस्तै-यस्तै तर्कनाहरु समुन्द्रको छालजसरी उर्लिरहेछ ।

सायदै विश्वमा त्यस्तो ठाउँ होला, जहाँ गोर्खा जाति (नेपाली) नपुगेको होस् । संसारको जुनसुकै भूभागमा बसे पनि हाम्रो भाषा मिल्छ, संस्कृति मिल्छ । अझ भनौं महत्वपूर्ण कुरो त हाम्रो मन मिल्छ । एउटाको दुखमा अर्काको मन पोल्छ । अर्काको खुशीमा आफ्नो मन रमाउँछ । यही साझा स्वभाव र भावना बोकेका हामी नेपालीहरु विश्वभर छरिएर रहे पनि एकले अर्कालाई माया र सम्मान बाँड्दै मनभरि मातृभूमिको माया साँचेर बाँचेका हुन्छौं ।

तर, जब मित्र सरमान मुखियाजीबाट विजयनगरवासी हाम्रा वीर गोर्खालीका सन्ततिहरुकाबारे सुन्न पाएँ, ममा कता-कता बेचैनी थपिएको छ । विजयनगरमा जस्तै अन्य कति हाम्रा सन्तानहरु त्यस्ता अन्जान र बिरानो भूमिलाई कर्मथलो बनाएर बसेका होलान् ? उनीहरुको मनले के सोँच्दो होला, के ठान्दो होला ? लाहुरको आँधीबेहरीमा हेलिएर बर्मा, बंगलादेश र भारतका अनेकन् बिरानो भूभागमा कति पुगेका होलान् ? अहिलेसम्म लेखाजोखा भएको छैन, न अब लेखाजोखा गरेर सम्भव छ । उनीहरुले जसरी आफ्नो मातृभूमिलाई सम्झिपठाउँछन् बिरानो संसारबाट, हामीले पनि उसैगरि ती बिरानो संसारवासी हाम्रा सन्ततिहरुको नाममा शुभेच्छा र शुभकामना भनिपठाउनशिवाय अरु गर्न सक्ने के नै छ र !

(पेमा शेर्पा, संखुवासभा । हाल : सिक्किम विश्वविद्यालय, बागवानी विभाग, सिक्किम)

प्रकाशित समय १३:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु