गृहपृष्ठ प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा

प्राज्ञसभाबाट विभिन्न पुरस्कार घोषणा

नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । बैठकले दुई लाख रूपैयाँको ‘नेपाल सामाजिक शास्त्र\संस्कृति\दर्शनशास्त्र पुरस्कार’ प्रा. डा. वीरेन्द्रप्रसाद मिश्र र ‘नेपाल प्रज्ञा भाषा पुरस्कार’ प्रा. डा. तेजरत्न कंसाकारलाई प्रदान गर्ने निर्णय गरेको हो ।

एक लाख राशिको ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’ हरिहर खनाल र रविमान लम्जेल तथा हिमाल, पहाड र तराईमा बोलिने मातृभाषा साहित्यतर्फ पूर्ण वैद्य, इन्द्रबहादुर गुरुङ, चतुर्भजलाल दास केवरत र हंसावती कुर्मीलाई प्रदान गर्ने निर्णय गरिएको सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी दिए ।

बैठकले दुई\दुई लाख राशिको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ भारत, आसामका लीलबहादुर क्षेत्री, ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ कृष्णप्रकाश श्रेष्ठ र विदेशी नागरिकलाई दिइने तीन हजार अमेरिकी डलर वा सो बराबरको ‘नेपाल प्रज्ञालंकर सम्मान’ चीनका प्रा. वाङ हङ्वेईलाई प्रदान गर्ने निर्णय गरेको छ । बैठकले डा. महेशराज पन्त र प्रा. डा. सूर्यप्रसाद सुवेदीलाई प्रज्ञा–प्रतिष्ठानको मानार्थ सदस्यता र आनन्ददेव भट्टलाई आजीवन सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले गत आर्थिक वर्षको खर्च पारित गर्दै चालु आवका लागि १९ करोड ५० लाखको बजेट पारित गरेको छ । सभाले वार्षिक नीति र कार्यक्रमसमेत पारित गरेको छ । बैठकमा कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा–प्रतिष्ठानले गरिरहेका कार्यक्रमको समीक्षा र भावी कार्यक्रमिक योजनाबारे सभामा छलफल भएको बताए। सभामा मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल शुभकामना सम्बोधन गरेका थिए । (रासस)

प्रकाशित समय ११:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु