गृहपृष्ठ मानव विकासमा नेपालको पाँच स्थानको फड्को

मानव विकासमा नेपालको पाँच स्थानको फड्को

HDR 2020_NewsKarobar

नेपालले मानव विकास सूचकांकमा उल्लेखनीय फड्को मारेको छ । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूनडीपी)द्वारा बुधबार सार्वजनिक गरिएको विश्वव्यापी मानव विकास प्रतिवेदन-२०२० अनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ, यो मध्यम मानव विकास भएको सूचक हो । सन् २०१८ मा नेपालको सूचक ०.५९५ थियो ।

सूचकमा वृद्धिसँगै नेपालको स्थान पाँच स्थानले सुधार भइ १४२ औं स्थानमा उक्लेको छ, यसअघि नेपाल १४७ स्थानमा थियो । दक्षिण एसियाली मुलुकहरूमध्ये नेपाल छैठौं स्थानमा छ ।

दक्षिण एसियाली मुलुकहरूमध्ये श्रीलंका ०.७८२ र माल्दिभ्स ०.७४० एचडीआई सूचकसिहत उच्च मानव विकास भएको दक्षिण एसियाली मुलुकका रूपमा माथिल्लो सूचीमा छन् । यी दुवै मुलुक विश्वका १८९ मुलुकमध्ये क्रमशः ७२ र ९५ औं स्थानमा छन् ।

यस्तै, भुटान ०.६५४ सूचकसहित १२९ औं स्थानमा, भारत ०.६५४ सूचकसहित १३१ औं स्थानमा छन् भने पाकिस्तान ०.५५४ सूचकसहित १५४ औं स्थानमा छ, यो मध्यम मानव विकास भएको स्थान हो । अफगानिस्तान ०.५११ सूचकांकसहित १६९ औं स्थानमा छ, यो न्यून मानव विकासको स्थान हो ।

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालगायतले बुधबार प्रतिवेदन सार्वजनिक गरेका हुन् ।

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु