गृहपृष्ठ सञ्चारकर्मी अधिकारीको ‘आधा आकाश’ बजारमा

सञ्चारकर्मी अधिकारीको ‘आधा आकाश’ बजारमा

सञ्चारकर्मी प्रवेश अधिकारीको पहिलो उपन्यास ‘आधा आकाश’ बजारमा आएको छ । चितवनमा लामो समय रेडियो प्रस्तोताको रुपमा काम गरी अध्ययनका लागि बेलायत पुगेका लेखक अधिकारीले लेखेको २२३ पृष्ठ लामो उपन्यासमा विद्यार्थी भिसामा बेलायत पुगेका युवायुवतीको भोगाइ र प्रेमकथा समेटिएको छ ।
सोसाइटी मिडियाले आयोजना गरेको कार्यक्रममा प्रा. डा. तुलसी भट्टराई, वरिष्ठ साहित्यकार डा. बेञ्जु शर्मा, कवि विप्लव प्रतीक, साहित्यकार वियोगी बुढाथोकी, पत्रकार नकुल अर्याललगायतले उपन्यासको संयुक्त विमोचन गरेका थिए ।
वरिष्ठ साहित्यकार डा. भट्टराईले उपन्यासको भिडमा बेग्लै शैली र कथालाई ‘आधा आकाश’ ले प्रस्तुत गरेको बताउँदै विदेश जाने युवायुवतीको कथा समेटिएको उक्त कृति लेखनमा दार्शनिक प्रयोग पनि गरिएको उल्लेख गरे । साहित्यकार डा. शर्माले उपन्यासमा रहेका पात्रले पाठकलाई प्रेमानुभूति गराउने बताए । कवि विप्लव प्रतीकले ‘आधा आकाश’ ले नयाँ तथा पुराना सबै खाले पाठकलाई न्याय गर्ने र युवा पाठकका लागि ‘आधा आकाश’ पठनीय हुने जनाए ।
साहित्यकार बुढाथोकीले ‘आधा आकाश’ का लेखकबाट यस्तै सशक्त कृतिको अपेक्षा गरेको भन्दै पाठकका लागि उत्कृष्ट उपन्यास बजारमा प्रवेश गरेको बताए । सोसाइटी मिडियाका अध्यक्ष नकुल अर्यालले कृतिले सञ्चारकर्मीका रुपमा रहेका लेखकको परिचय मात्रै नभइ उपन्यासको चालु बजारको गति पनि बदल्ने दाबी गरे ।
(रासस)

प्रकाशित समय २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु