गृहपृष्ठ गाेविन्द नेपालकाे कविता संग्रह ‘तर्कको साम्राज्य’ विमोचित
गाेविन्द नेपालकाे कविता संग्रह ‘तर्कको साम्राज्य’ विमोचित
काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा गोविन्द नेपालको तेस्रो कृति ‘तर्कको साम्राज्य’ कविता संग्रह कवि शैलेन्द्र साकारलगायतले विमोचन गर्दै । तस्वीर : रासस
कवि गोविन्द नेपालको तेस्रो कृति ‘तर्कको साम्राज्य’ कवितासंग्रह बिहिबार विमोचन गरिएको छ । त्रिचालीस लामा छोटा कविता समाविष्ट संग्र्रहका कविता आफन्तहरुसँगको सम्बन्ध, प्रेम, सामाजिक सञ्जालप्रतिको मोह, निम्नवर्गप्रतिको सहानुभूति आदि भावका छन् । यसअघि उनका ‘ढुङ्गाको मन’ गजलसंग्रह(२०५५) र ‘अक्षर खेल्ने आँगन’( कवितासंग्र्रह (२०६३) प्रकाशित छन् ।
अभिनव साहित्य समाजद्वारा आयोजित कार्यक्रममा साहित्यकार शैलेन्द्र साकारले प्रकृतिको अनुकरण जीवन र जीवनको अनुकरण साहित्य भएको बताउँदै कविता भने जीवनजत्तिकै प्यारो हुने बताए । समीक्षक महेश पौडेलले वर्तमानलाई कवितामा निकै गहिरोसँग नियालेका कवि नेपालले कविता लेखनमा जोखिमी पनि रहेको कुरा बिर्सेको टिप्पणी गरे ।
समाजका अध्यक्ष गोविन्द वेदमणिले समाजका विभिन्न समस्या साहित्यकारले देखाउने तर समाधान नदेखाउने भनेर राजनीतिकर्मीले आरोप लगाउने गरेको बताउँदै लेखकले साहित्यका माध्यमबाट समाधान पनि दिनुपर्ने सुझाव दिए । कार्यक्रममा समाजका आजीवन सदस्य मञ्जुश्री प्रधान, साहित्यकार भीष्म उप्रेती, प्रोल्लास सिन्धुलीय, प्रकाश गफाडीलगायतले कविले छोटा र जीवन छुने प्रभावकारी कविता सिर्जना गरेको बताउनुभयो । कवि नेपालले आफ्नो ५० औं वर्षको सन्दर्भमा उक्त कृति प्रकाशन गरेको जानकारी दिए ।
प्रकाशित समय १९:२४ बजे

















