गृहपृष्ठ टेबल तिमी, म र फूलदानी (कविता)

टेबल तिमी, म र फूलदानी (कविता)

reshav-newskarobar

कौतुक तिम्रा नजरले
पहिले देख्यो कि फूलदानले
टेबलमाथिको फूलदानीले
हेर्यो कि तिम्रो बदन
यकिन गर्न गाह्रो छ
फूलदानी र तिम्रो दृष्टिगोचर

 

उस्तै छ फूलदानीको
फूल र तिम्रो कौमार्य
टेबलभरि फिँजिएको छ
तिम्रो र फूलदानीको कौमुदी किरण
केही सर्वदा
दुई थुङ्गा करविर
तिम्रो छातिमा फुले जस्तै
मलाई पनि फुलाउन मन छ
तिम्रो नयन तलाउको फूलदानीमा
रातो कमल

 

आह्वान गरिरहेका छन्
टेबलका मजबुत खुट्टाहरुले
हामीले पनि प्रेमको
फूलदानी अड्याउन
टेबलले जस्तै टेक्नुपरेको छ
दरिला खुट्टाहरू
फूल, फूलदानी र टेबलको जस्तै
अनुपम सम्बन्धबाट
हामीले पनि सिक्नु छ

अजम्मरी प्रेमालाप

 

तिम्रो टेबलको फूलदानीमा
सजाएर ‘ग्याडुलस’को
एक ‘स्टिक’
फूल र प्रेमको महिमा नजान्नेहरुलाई
सिकाउनु छ नयनोत्सवको महत्त्व
काँचको पारदर्शी फूलदान र टेबलले जस्तै
स्थिर भएर हेर्नु छ
तिम्रो पवित्र
काञ्चन काया
सजाउन फूलदानीमा
तिमी टिप एक झुप्पो
स्वस्थानी फूल
म धुपिको पात टिपेर
ल्याउनेछु र राख्नेछु टेबलमा
अनि लेख्नेछु
टेबल, तिमी, म र फूलदानीको
कविता

 

तिमी फूलको पर्याय
म टेबलको बिम्ब
हामी फूलदानीको प्रतीक
तिमी सजाइरहनु
फूलदानमा फूल
म फूल नमुर्झाउन
लागि रहनेछु पानी
बनेर तिम्रै एकलव्य माली ।

प्रकाशित समय १९:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु