गृहपृष्ठ कार्यदल भंग भएपछि नेकपामा अर्को विवाद, तल्ला कमिटीको एकता अझै अन्योलमा

कार्यदल भंग भएपछि नेकपामा अर्को विवाद, तल्ला कमिटीको एकता अझै अन्योलमा

छुट्टै प्रतिवेदन बुझाउँदै नेपाल पक्ष

nekapa-newskarobar

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदल भंग गर्ने सचिवालयको निर्णयप्रति पार्टीभित्र विवाद झन् चुलीएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले सांगठनिक एकता टुंगो लगाउन गठन भएको एकता कार्यदललाई भंग गरेपछि माधवकुमार नेपाल पक्षले आपत्ति जनाएको हो ।

कार्यदलको काम सचिवालय आफैंले गर्ने र त्यसलाई टुंग्याएर स्थायी समिति बैठकमा पेस गर्ने निर्णय सचिवालयले गरेपछि विवाद चुलिएको हो । पुस १३ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले तल्ला र प्रदेश कमिटी गठनमा देखिएको विवादका विषयमा छलफल गरी प्रस्ताव पेस गर्न ९ सदस्यीय कार्यदल बनाएको थियो ।

सुरुमा दुई साताको समय पाएको कार्यदल सहमतिमा पुग्न नसक्दा पटकपटक म्याद थपिएको थियो ।  तर, थपिएको समयमा पनि कार्यदलले कुनै सहमति जुटाउन नसकेको भन्दै सचिवालयले विगठन गरेको हो । कार्यदल भंग गर्ने सचिवालयको निर्णयप्रति रुष्ट देखिएको नेपाल समूहले भने कार्यदलले काम गर्न नसकेको नभई गर्न नदिइएको भन्दै सचिवालय निर्णयप्रति आपत्ति जनाएको छ । उनीहरुले यसबारेको छुट्टै प्रतिवेदन पार्टीका अध्यक्षहरुलाई बुझाउने चेतावनी दिएका छन् ।

नेपाल पक्षका नेताहरुले ७ पृष्ठ लामो फरक मतसहतिको समानान्तर प्रतिवेदन ओली र प्रचण्डलाई बुझाउन लागेका जनाइएको छ ।

कार्यदलका एक सदस्यले भने, ‘पार्टी एकतासम्बन्धी आफूहरुको धारणा समेटेर पार्टी अध्यक्षहरुलाई प्रतिवेदन बुझाँउछौं, जसमा कार्यदलले अहिलेसम्म गरेका काम र छलफलका विषय समेटिने छ, कार्यदलमा पहिला सहमति भएका विषय समेत अहिले हटाईएपछि छ्ट्टै प्रतिवेदन बुझाउन लागेका हौं ।’

कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, रघुवीर महासेठ थिए । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबाट सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र लेखराज भट्ट थिए । त्यस्तै, नेता माधवकुमार नेपाल समूहबाट योगेश भट्टाराई, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल थिए । थापालाई संयोजकको जिम्मा दिइएको थियो ।

नेपाल समूहका ३ जना सदस्यका कारण आफूअनुकूल निर्णय गराउन नसक्ने भएपछि अध्यक्ष ओलीले कार्यदललाई निष्क्रिय बनाउन चाहेको आरोप नेपाल समूहले लगाउने गरेको थियो । कार्यदलले आफूलाई केही समय दिए एकीकरणको खाका बुझाउन सक्ने बताएको थियो । तर, कार्यदलको समयावधि थप्ने विषयमा अध्यक्षद्वयबीच नै मतैक्य हुन सकेको थिएन ।

सांगठानिक एकताको विषयमा सहमतिमा पुग्नै लाग्दा विघटन गरिएको कार्यदल सदस्य बेदुराम भुसालले बताए । ‘हामीले काम गरिरहेका थियौं, तर अचानक बिघटन गरियो ’ उनले न्युज कारोबारसँग भने, ‘अब सचिवालयले नै गर्ने होला खै थाहा भएन ।’ उनले कार्यदलका सदस्यले भन्दा संयोजक र पार्टीका महासचिवले काम गर्न नचाहेको आरोप लगाए ।

दोहोरो जिम्मेवारी पाएका प्रदेश कमिटीमा रहेका सदस्यलाई कुनै एक पद खोस्ने विषयमा छलफल भए पनि ओल पक्षले असहमति जनाएको थियो । पार्टीका गण्डकी प्रदेश र ५ का ईन्चार्ज नै मुख्य मन्त्री छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेश कमिटी इञ्चार्ज समेतको दोहोरो जिम्मेवारी दिइएकोप्रति पनि नेता नेपाल पक्षले असहमति जनाउँदै आएको थियो ।

उनीहरुलाइ ‘अहिले नचलाउने’ इच्छा व्यक्त गरेपछि कार्यदलको काम अघि बढ्न सकेको थिएन । यसै अवस्थामा कार्यदल विगठन गरिएपछि नेपाल पक्ष रुष्ट भएको हो ।

प्रकाशित समय १९:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु