गृहपृष्ठ रोजगार मेलामा एकै दिन ३ सय ८५ जनालाई रोजगारी

रोजगार मेलामा एकै दिन ३ सय ८५ जनालाई रोजगारी

अरिहन्त एक्लैले दियो २४० जनालाई जागिर

विराटनगर सुनसरीको दुहवी नगरपालिकामा आयोजना गरिएको वृति परामर्श तथा रोजगार मेलामा एकै दिन ३ सय ८५ जनालाई रोजगारी दिइएको छ । रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुलाई एकै ठांउँमा समाहित गरेर आयोजना गरिएको एक दिने मेलामा ९ सय ४५ जनाले रोजगारीका लागि फाराम भरेका थिए ।

मेलामा रोजगारी पाउनेहरुमा प्राविधिकतर्फ मेसिन अपरेटर, इलेक्ट्रिसियन लगायतका छन् भने प्रशासनिकतर्फ कार्यालय ब्यवस्थापन, कार्यालय सहयोगी तथा लेखातर्फ छन् । मेलामा अरिहन्त मल्टिफाइबरले ठूलो सख्यामा २ सय ४० जनालाई रोजगारी दिएको छ ।

यस्तै बाग्मती रिलायन्सले ४०, एबी ग्रुपले १० जनालाई रोजगारी उपलब्ध गराएका छन् । मेलामा फुजिमा आयल, रिलायन्स थर्माेपोली टंकी लगायतले पनि रोजगारी प्रदान गरेका थिए ।
स्थानीय सरस्वती माध्यमिक विद्यालयमा आयोजना गरिएको मेलाको प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र सामाजिक विकास तथा श्रममन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए ।
नेपाल सरकार र स्वीस सरकारको साझेदारीमा सञ्चालित ईन्स्योर परियोजनाको सहयोगमा दुहवी नगरपालिका, बुढीगंगा गाँउपालिका, उद्योग संगठन मोरङको संयुक्त सहभागितामा मेला आयोजना गरिएको हो । मेलालाई मोरङ व्यापार संघ, हेल्भेटास नेपाल, मनमोहन मेमोरियल पोलिटेक्निक र व्यवसायिक सीप तालिम प्रदायक संघ प्रदेश नम्बर १ ले समेत सहयोग गरेका थिए ।
मेलाको उद्घाटन गर्दे प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले आगामी १० बर्षभित्र प्रदेशलाई बेरोजगार मुक्त घोषणा गर्ने लक्ष्यसहित सरकारले काम गरिरहेको बताए ।

प्रकाशित समय १८:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु