गृहपृष्ठ गुटगत पूर्वाग्रह र लेनदेनकाे आधारमा मन्त्रिपरिषद पुनर्गठन : साह

गुटगत पूर्वाग्रह र लेनदेनकाे आधारमा मन्त्रिपरिषद पुनर्गठन : साह

लेनदेनको आधारमा भन्नु आपत्तिजनक : रिमाल

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीमण्डल पुनर्गठन गरेपछि सत्तारुढ दलभित्रै विवाद सिर्जना भएको छ । सत्ता रुढदलकै नेताहरुले काम गर्न नसकेको भनिएता पनि गुट र लेनदेनकै आधारमा मन्त्रीमण्डल पुनर्गठन गरेको आरोप लगाएका छन् ।

नेकपा प्रदेश २ का अध्यक्षसमेत रहेका पूर्वमन्त्री प्रभु साहले आफ्नो फेसबुकमा स्टाटस लेख्दै मन्त्रिपरिषद पुनर्गठनको विषयमा सरकारको तीब्र आलोचना गरेका छन् । गुट र लेनदेनकाे आधारमा मन्त्रिपरिषद पुनर्गठन भएकाे उनको आरोप छ ।

उनले लेखेका छन्, ‘कार्य सम्पादनको आधारमा मन्त्रिपरिषद पुनर्गठन गर्ने भनिए पनि अन्ततः गुटगत पूर्वाग्रह र लेनदेनकै आधारमा गरेको देखियो । मन्त्री हटाउँदा वा राख्दा सामान्य कम्युनिष्ट मूल्य मान्यता पनि लागू भएको देखिएन । योग्यहरूलाई हटाउने र अयोग्यलाई मन्त्री बनाउने नेतृत्वको यस्तो महान कार्यले हामी फेरी एकचोटि लज्जित भएका छौं ।’

उनको भनाइलाई खण्डन गर्दै नेकपाकै नेता विष्णु रिमालले भनेका छन्, ‘पार्टीका केन्द्रीय सदस्य तथा २ नम्बर प्रदेशका अध्यक्ष प्रभु साहको यो स्टाटस देख्दा लाज लागेको छ । मन्त्रीका लागि अपेक्षा गर्नु वा दौडधुप गर्नु एउटा कुरा हो । तर, निर्णय भइसकेपछि ‘लेनदेनकै आधारमा’ गरेको भन्नु आपत्तिजनक छ । कसैले उहाँसँग यति ‘लेनदेन’ गरेपछि मन्त्री बनाइदिन्छु भनेको थियो भने बेग्लै कुरा, नत्र यति हावादारी कुरा कसरी गर्न मिल्छ ?’

उनले पार्टीले गरेका कामको विरोध गर्नु अराजक र अनुशासनहीनको संज्ञा पनि दिएका छन् । उनले लेखेका छन्, ‘पार्टीको अनुशासन आयोग भर्खरै बनेको छ । यस्ता अराजक र अनुशासनहीन अभिव्यक्तिप्रति ध्यान जान जरूरी छ ।’

रिमालले व्यङ्ग्य गर्दै लेखेका छन्, ‘अँ, साच्चै काशी तिवारी हत्याकाण्डको फाइल पनि खुल्न लागेको हो र ? सभामुखमाथि त निर्मम रूपमा प्रस्तुत हुने सरकार र पार्टी नेतृत्वले कसैमाथि ढाकछोप गर्दैन है ।’

प्रकाशित समय १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु