गृहपृष्ठ पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई
पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई
लिग चरणदेखि सबै खेल जित्दै उपाधि
दोस्रो पोखरा प्रिमियर लिग (पिपिएल) टी-ट्वान्टी क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो ।
गत संस्करणको फाइनलमा पोखरासँग पराजित भएको चितवनले यसपटक लिग चरणदेखि सबै खेल जित्दै उपाधि हासिल गरेको हो ।
२ सय ३ रनको लक्ष्य पाएको विराटनगरले पूरा २० ओभरमा ७ विकेट जाँदा १ सय ७० रन मात्र बनाउन सक्यो । मोहम्मद जायद आलमले विराटनगरका लागि ४८ बलमा ५७ रन बनाए । उनले ५ चौका ३ छक्का हाने । सुनिल धमलाले ४ बलमा ४ रन र लोकेश बम २ बलमा १ रन बनाएर आउट भए ।
नोमन खान १८ बलमा १८ रन बनाउँदा रनआउट भए । पुनित मेहराले १३ बलमा ३२ रन बनाए । उनले २ चौका ३ छक्का हाने । २ बल खेलेका दिलिप नाथ कुनै रन नजोडी आउट भए । कप्तान प्रदीप सिंह ऐरीले २५ बलमा ३६ रन बनाए । चितवनका लागि करण केसीले तीन विकेट लिए । सन्नी पटेलले दुई साथै रोहन मुस्तफाले एक विकेट लिए ।
यसअघि पोखरा रंगशाला क्रिकेट मैदानमा विराटनगर टाइटन्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको चितवनले पूरा २० ओभर बलिङ गर्दै ५ विकेट जाँदा २ सय २ रन बनाएको थियो ।
चितवनका लागि अनिल कुमार साह र रोहन मुस्तफाले अर्धशतक बनाए । अनिलले ३३ बलमा अर्धशतक बनाएका हुन् । उनले ३ चौका ३ छक्का हाने । रोहन मुस्तफाले ४२ बलमा अर्धशतक हानेका हुन् । उनले ३ चौका १ छक्का हाने ।
चितवनका कप्तान पारस खड्काले ११ बलमा ४ चौका र १ छक्कासहित २५ रन बनाए । बाबर हयात ५ बलमा ५ रन बनाएर आउट भए । आरिफ शेखले ११ बलमा १९ रन बनाए । उनले १ चौका २ छक्का हाने । अविजित रहेका सन्नी पटेलले ८ बलमा १६ रन साथै करण केसीले ८ बलमा २६ रन हाने । विराटनगरका पुनित मेहरा र मोहम्मद जायद आलमले दुई/दुई विकेट लिए । किशोर महतोले एक विकेट लिए ।
पिपिएल विजेताले २७ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । साथै उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल पुरस्कार दिइँदै छ । जसमा म्यान अफ दि सिरिज, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यान रहने छन् ।
प्रकाशित समय १५:३२ बजे

















