गृहपृष्ठ सोचेँ, गुरुहरुकै बारेमा केही शब्द किन नलेखूँ ?

सोचेँ, गुरुहरुकै बारेमा केही शब्द किन नलेखूँ ?

आज गुरु पूर्णिमा । तर मलाई यादै भएन छ । पछि फेसबुक खोलेर बस्दा फेसबुकका भित्ताहरु गुरुहरुका लागि शुभकामनाका तस्विर र शब्दहरुले रंगिएको पाएँ । एकछिन त गुरुपूर्णिमाजस्तो विशेष दिन याद गर्न नसकेकोमा रिस पनि उठ्यो । बिहानै सम्झेको भए मेरा गुरुहरुलाई शुभकामना दिन पाउँथे, ‘कस्तो बिर्सेछु’ लागिरह्यो । तर सोचेँ, उहाँहरुकै बारेमा केही शब्द किन नलेखूँ ।

अनि मनभरी स्कुल जीवनदेखि कलेजसम्म शिक्षा दिने मेरा गुरुहरुलाई सम्झिएँ । सबै जनाको अनुहार आँखाअगाडि झल्झली आयो । मैले स्कुुलको पहिलो कक्षामा मलाई अक्षर चिनाउने मेरो गुरुहरुलाई सम्झिएँ । सबै जनाप्रति मनदेखि नमन गरेँ । साँच्चै त्यही गुरुहरुकै कारण आज म यहाँ छु । मैले मेरो बाल्यकालको स्कुल जीवनमा एकपटक फर्केर हेरेँ । न मलाई राम्रोसँग शुद्ध नेपाली उच्चारण गर्न आउँथ्यो न म शिक्षासम्बन्धी केही कुरा नै जान्दथेँ । तर मेरा ती गुरुहरु, जसले मलाई आफूसँगै नेपाली उच्चारण गर्न सिकाउनु भयो, अक्षर चिनाउनु भयो । हात समाएर लेख्न सिकाउनु भयो ।

प्रारम्भिक शिक्षा लिने क्रममा कति गुरुहरुले मैले नपढ्दा सजाय दिनुहुन्थ्यो । भोलिपल्ट म स्कुल नै जाँदिन थिएँ । स्कुल नजाँदा मेरो गुरुले अभिभावकलाई फोन गरी स्कुल पठाउन भनेपछि म स्कु्ल जान बाध्य हुन्थेँ । म सोच्थेँ, म ठूलो त हुन पाउँ । मलाई सजाय दिने गुरुलाई मैले पनि सजाय दिनेछु । म पढ्दिनथेँ । तर गुरु मलाई बारम्बार पढ्न घच्घच्याइरहनुहुन्थ्यो । गुरुहरुप्रति मलाई रिस उठ्थ्यो । तर त्यही गुरुहरुको कडा अनुशासन र सिकाइको कारण पढाई भने राम्रो बन्दै गयो । राम्रै अंक लिएर पास हुन्थे । पछि स्कुलका चार कक्षाबाट कहिल्यै दोस्रो भइनँ । सधै प्रथम नै भएँ ।

गुरुहरुको अगाडि म ‘आँखाको नानी’जस्तै बन्दै गएँ । मैले आफू राम्रो पढेर पास भएकोमा गुरु, आफन्त तथा अभिभावकबाट प्रशंसा पाउँथेँ तर ती प्रतिस्पर्धी साथीहरुसँग भने मनमुटाव । मेरै विषयलाई लिएर कतिपटक साथीहरुले गुरुहरुसँग नराम्रो शब्दले बोल्थे । सबैले प्रशंसा र माया गर्न थालेपछि झन् उत्साह मिल्यो र अझ मिहिनेत गरेर पढ्न थालेँ । माध्यमिक तहमा पुग्दा मेरो पढाई अझ राम्रो बन्दै गइरहेको थियो । तर आर्थिक कमजोरीका कारण मैले माध्यामिक तहमा नियमित स्कुल गएर पढ्न पाइनँ । त्यसैले घरमा काम हुँदा स्कुल जाँदिनँ थिएँ । म स्कुल नजाँदा पनि मेरा एकजना गुरु हुनुहुन्थ्यो । जो आज पनि मेरो प्रेरणाको स्रोत हुनुहुन्छ । किताबी शिक्षा त दिनुहुन्थ्यो नै, जीवनउपयोगी व्यावहाारिक शिक्षा पनि दिइरहनुहुन्थ्यो ।

साँच्चै गुरु महान हुनुहुन्छ । आदर, सम्मानयोग्य हुनुहुन्छ । त्यसैले त भनिन्छ, गुरु मैनबत्ती हो, जो आफूू जलेर संसार उज्यालो बनाउँछ । जो निस्वार्थ भावाना राखेर शिष्यहरुका लागि आफूलाई रित्याएर अरुको भविष्यको लागि लागिरहन्छ ।

भविष्यको लागि पढ्नुपर्ने, मिहिनेती हुनुपर्ने, आफ्नै लागि पढ्नुपर्नेजस्ता अर्ती उहाँले दिनुहुन्थ्यो । जीवनमा शिक्षाको महत्वबारे बुझाइरहनुहुन्थ्यो । त्यतिमात्रै हैन उहाँले मेरो ट्युसन शुल्कसमेत लिनुहुन्थेन । जसका कारण मैले पैसा नहुँदा पनि पढ्न पाएँ । तलबको लागि मात्र पढाउने गुरु नभएर शिष्यको भविष्य सोचेर हामीलाई व्यवहार गर्नुहुन्थ्यो उहाँले । मलाई त्यतिखेर मेरा भविष्यको बारेमा त्यति चिन्ता थिएन होला तर त्योभन्दा कैयौँ गुणा चिन्ता मैले मेरा गुरुको आँखामा देखेको थिएँ मैले ।

मेरा बुवा-आमा पछिको दोस्रो माता-पिता नै मेरा गुरुहरु हुन् । जसले मेरा भविष्य उज्वल बनाउन खटिरहे । अथाह ज्ञान बाँडिरहे । बाबु आमाले जन्माइदिन्छन्, हुर्काइदिन्छन् । पढ्न, खान खर्च जुटाइदिन्छन् तर गुरुले भविष्य बनाइदिन्छन् । गुरुको बारेमा जति वर्णन, प्रशंसा गरे पनि पूर्ण हुँदैन । भविष्य निर्माता हुन् गुरु । त्यही गुरुहरुकै योगदानको कारण एउटा व्यक्ति सक्षम बन्न सक्छन् । सुन्दर भविष्य बनाउन सक्छन् ।

गुरुहरु आफ्नो शिष्यहरुलाई कतिसम्म वास्ता र चिन्तित हुन्छन् भनेर स्कुले जीवनको अन्तिम समयमा मात्र मैले महसुस गरेँ । हामीलाई उच्च शिक्षाको लागि विदाई गर्ने क्रममा मेरा गुरुहरुका आँखाहरु खुसी र पीडा दुवैको कारण रसाएका थिए । एकातिर आफ्ना विद्यार्थीहरुबाट छुट्नु पर्दाको पीडाको आँसु । अर्को, उच्च शिक्षा पढ्नेसम्म बनाएकोमा गर्वसहित खुुसीको आँसु ।

कति जना गुरुहरु रुनु पनि भयो । ‘कति वर्षसम्म गाली गरेर पढाउने, पिटे पनि सबै तिमीहरुकै लागि गरेँ तर अब तिमीहरु आफ्नो भविष्यको लागि ती कुरालाई बिर्सेर अघि बढ’ भनेर गुरुहरु सम्झाउन थाल्नुभयो । साँच्चै गुरु महान हुनुहुन्छ । आदर, सम्मानयोग्य हुनुहुन्छ । त्यसैले त भनिन्छ, गुरु मैनबत्ती हो, जो आफूू जलेर संसार उज्यालो बनाउँछ । जो निस्वार्थ भावाना राखेर शिष्यहरुका लागि आफूलाई रित्याएर अरुको भविष्यको लागि लागिरहन्छ ।

यसै परिवेशमा हिन्दीमा एउटा कविता पाएँ, कविर भन्ने स्रष्टाले लेखेको कविताका एक अंश यस्तो छ:

‘जीवन के घोर अँधेरी मे
प्रकाश जो बनकर आता है
हर लेता है वो दुख सारे
खुशियों की फसल उगाता है
न कोही लालच कर्ता है
सच्चाईका सबक सिखता हे
सागर से ज्ञान के भरा हुआ
बस् वही गुरु कहलता है’

स्कुले जीवनमा मात्र हैन क्याम्पस तहमा पनि मैले धेरै राम्रा गुरुहरु पाएँ । क्याम्पस तहमा पनि धेरै राम्रा गुरुहरु हुनुहुन्थ्यो । मैले सुनेको थिएँ- ‘स्कुलमा जस्तो कलेजमा गुरुहरुले विद्यार्थीको वास्ता गर्दैनन् । विद्यार्थीले पढे पढ्छन्, नपढे पढ्दैनन् त्यसमा केही लिनेदिने हँुदैन उहाँहरुमा । अनि मतलव पनि हुँदैन । स्कुलका गुरुहरुले जस्तो कलेजका गुरुहरु दयालु हुँदैनन् । केवल जागिरको लागि मात्र आफ्नो कर्तव्य निभाउने हो ।’ ती कुराहरु कति सही पनि होलान् । तर मलाई पढाउने गुरुहरुमा मैले त्यो पाईनँ ।

मलाई शैक्षिक ज्ञान दिने स्कुलदेखि कलेजसम्मका गुरुहरु सबैलाई गुरुपूर्णिमाको शुभकामनासहित धन्यवाद । अनि म कार्यरत पत्रकारिता क्षेत्रमा मलाई अगुवाई गर्नेे, लेख्न सिकाउने मेरा गुरुहरुलाई पनि हार्दिक नमन । जीवन भोगाईको यात्रामा सल्लाह-सुझाव र ज्ञान उपदेश दिने सबै पनि गुरु हुन्, उहाँहरुप्रति पनि सम्मानसहित धन्यवाद ।

खटेर नै पढाउनुहुन्थ्यो सबै गुरुहरुले । मेरा एकजना गुरु हुनुहुन्थ्यो । जो मेरा एकदम नजिकको गुरु उहाँ नै हुनुहुन्थ्यो र अहिले पनि हुनुहुन्छ । सधैँ कलेजमा सहयोग, सल्लाह, सुझाव दिइरहनुहुन्थ्यो । उहाँले पनि कडा मिहिनेतको लागि भनिराख्नुहुन्थ्यो । गुरु साथी पनि हो भन्ने कुरा मैले उहाँसँगको सम्बन्धबाट थाहा पाएँ । साथीजस्तै व्यवहार, आमा बुवाजस्तै जिम्मेवार, दिदीबहिनीकोजस्तै माया गुरुले दिन सक्नुहुन्छ भन्नेमा म स्पष्ट भएँ ।

गुरु जसलाई हामी मनका कुरा बाँड्न सक्छौं । गुरुले केवल सही र गलत मात्र सिकाउने काम गर्दैन । आफ्ना शिष्यले सही र गलत के गरिरहेछ त्यसको वास्ता पनि राखिराखेको हुन्छ । मैले उहाँबाट त्यही व्यवहार पाएँ । एउटा साथीलाई जस्तै सबै कुरा भन्ने गर्थेें । उहाँ सबै विद्यार्थीलाई त्यस्तै व्यवहार गर्नुहुन्थ्यो, त्यसैले सबैको प्यारो हुनुहुन्छ । मेरो त भइहाल्यो । मेरा पढाईदेखि मेरा हरेक क्षेत्रमा उहाँको साथ अहिले पनि छ ।

मलाई शैक्षिक ज्ञान दिने स्कुलदेखि कलेजसम्मका गुरुहरु सबैलाई गुरुपूर्णिमाको शुभकामनासहित धन्यवाद । अनि म कार्यरत पत्रकारिता क्षेत्रमा मलाई अगुवाई गर्नेे, लेख्न सिकाउने मेरा गुरुहरुलाई पनि हार्दिक नमन । जीवन भोगाईको यात्रामा सल्लाह-सुझाव र ज्ञान उपदेश दिने सबै पनि गुरु हुन्, उहाँहरुप्रति पनि सम्मानसहित धन्यवाद ।

म सधैँ कृतज्ञ छु, मेरो गुरुप्रति अनि ऋणी पनि । थाहा छैन जीवनमा मेरा गुरुहरुले लगाउनुभएको ऋण तिर्न सक्छु या सक्दिनँ । तर उहाँहरुले दिनुभएको शिक्षालाई शिरोपर गरी अघि बढिरहनेछु, उहाँहरुप्रति सधैँ सद्भाव र श्रद्धा रहिरहनेछ ।

प्रकाशित समय १९:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु