गृहपृष्ठ कोरोना संक्रमित सबै स्वास्थ्यकर्मी निको भए, अस्पतालको सेवा सुचारु
कोरोना संक्रमित सबै स्वास्थ्यकर्मी निको भए, अस्पतालको सेवा सुचारु
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कोरोना संक्रमित भएका सबै स्वाथ्यकर्मी निको भएका छन् । अस्तालमा कार्यरत नौ जना स्वास्थ्यकर्मीहरु आईतबार निको भएका हुन् ।
कोरोना संक्रमितको उपचारमा खटिएका दुई चिकित्सकसहित ९ जनामा कोरोना संक्रमण देखिएपछि गत असार ११ गतेदेखि अस्पतालको ओपीडी सेवासमेत बन्द गरिएका थिए । आइतबार सबै स्वास्थ्यकर्मीहरु निको भएपछि अस्पतालको सेवा सुचारु भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले जानकारी दिए ।
हालसम्म कर्णालीमा कोरोनामुक्त हुनेको संख्या १ हजार २ सय ३१ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार मात्रै प्रदेशका विभिन्न अस्पतालबाट ३० जनाले कोरोना जितेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको पीसीआर परीक्षणमा १ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा ८ जना गरी कर्णालीमा नयाँ संक्रमित संख्या ९ जना पुष्टि भएकोसमेत मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कर्णाली प्रदेशभर आईसोलेसनमा रहेका कोरोना संक्रमितको संख्या २ सय ६१ रहेको छ ।
प्रकाशित समय १९:१३ बजे
















