गृहपृष्ठ भ्रातृ संगठनमा खस्किँदै देउवा, ट्रेड युनियन कांग्रेसमा पाैडेल पक्ष विजयी
भ्रातृ संगठनमा खस्किँदै देउवा, ट्रेड युनियन कांग्रेसमा पाैडेल पक्ष विजयी

नेपाल ट्रेड युनियन कांग्रेसको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मैदान उतारेका पुष्कर आचार्यको प्यानल नै विजयी भएको छ । शनिबार भएको मतदानमा अध्यक्षमा ८१८ मतसहित आचार्य निर्वाचित भएका हुन् ।
संस्थापन पक्षका खिलनाथ दाहालले ५३३ मतमात्र ल्याए । १७ पदाधिकारीसहित ४१ सदस्य निर्वाचनका लागि भएको मतदानमा सभापति शेरबहादुर देउवाको पक्षका कसैले पनि जित हात पारेनन् । वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव ७५८ मतसहित विजयी हुँदा अयोध्याप्रसाद यादवले ५६७ मतमात्र ल्याए । त्यस्तै, खुला उपाध्यक्षमा तेजेन्द्रजंग कार्की, महिला उपाध्यक्षमा इन्दिरा सापकोटा र महासचिवमा योगेन्द्रकुमार कुँवर विजयी भए ।
मैदानमा युनियनका नेता भिडिरहँदा बाहिर शीर्ष नेताहरु नै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । हारसँगै आफ्नो वर्चश्व कायम राख्न ट्रेड युनियनलाई आफ्नो पक्षमा ल्याउने कसरतमा देउवा पक्ष असफल भएको छ । प्यानल जिताउन सभापति देउवाका साथै उपसभापति विमलेन्द्र निधि, महामन्त्री पुर्णबहादुर खडका, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री प्रकाशरण महत, संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाणसहितका नेता निरन्तर खटिएका थिए । संस्थापन इतरपक्षबाट पौडेल, पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, शेखर कोइराला, गगन थापा, प्रदीप पौडेललगायतका नेता खटिएका थिए । ट्रेड युनियन कांग्रेसको निर्वाचनमा देशभरबाट १३ सय ७० मतदाता सहभागी थिए ।
प्रकाशित समय १२:४४ बजे