गृहपृष्ठ मनोरम दृश्यसँगै खुम्बु पदयात्रा

मनोरम दृश्यसँगै खुम्बु पदयात्रा

पहिलो दिन : फाक्दिङसम्म

खुम्बु पदमार्ग जान काठमाडौं विमानस्थलबाट सोलुखुम्बुको लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलसम्म हवाई यात्रा गर्न सकिन्छ । नियमित जहाज तालिकामा गए ५ हजार ३५ रुपैयाँ र चार्टर उडानमा गए ८ हजार ५ सय रुपैयाँ प्रतिव्यक्ति भाडा लाग्छ । सोलुखुम्बुको सदरमुकामसम्म गाडीमा गएर त्यहाँबाट लुक्लासम्म थप दुई दिनको कठिन पैदलयात्रा गरेर पनि खुम्बुको यात्रा अघि बढाउन सकिन्छ । तर, अधिकांश पर्यटक हवाई मार्गकै प्रयोग गरेर खुम्बु भ्रमणमा जाने गर्छन् ।
विश्वका १० उच्च जोखिमपूर्ण विमानस्थलमध्ये तेन्जिङ विमानस्थल पनि एक हो । यहाँ उडान भर्ने बेलामा विमानचालकहरु निकै सचेत रहने गर्छन् । यो विमानस्थलमा पर्यटकीय सिजनका बेला दैनिक १ सय १५ वटा सम्म उडान तथा अवतरण हुन्छन् । समुद्री सतहबाट २ हजार ८ सय ६० मिटर उचाइमा रहेको लुक्ला र तेन्जिङ हिलारी विमानस्थल आफैंमा विश्वभरका पर्यटकका लागि आकर्षक गन्तव्य हो ।
लुक्लाबाट सगरमाथाको प्रवेशद्वार नाम्चेतर्फ अघि बढ्नुपर्छ । सगरमाथा क्षेत्र जानका लागि नाम्चे बजार निर्विकल्प बाटो हो । लुक्लादेखि सगरमाथा आधार शिविरसम्म करिब ६२ किलोमिटरको दूरी पार गर्न पदयात्रीले सामान्यतः १० दिन लगाउँछन् । तर, नाम्चे भने दुई दिनमै पुग्न सकिन्छ । लुक्लाबाट यात्रा सुरु गरेको आधा घण्टामै छेप्लुङ पुगिन्छ । लुक्लादेखि फाक्दिङसम्मको यात्रा गर्दाको मनोरम दृश्यले धेरैलाई लोभ्याउँछ ।


पदायात्रामा विश्वभरका पदयात्री ठेलमठेल गरेर हिँडिरहेको दृश्यका साथै सामान बोक्ने भरिया, खच्चड र चौरीको लामो लस्करका दृश्य कम आकर्षक लाग्दैनन् । सगरमाथाकै फेदबाट बगेर आएको दूधकोसी नदी सुसाएको आवाज सुन्दै, दूधजस्तै सेतो निश्चल पानीको बहावसँगै किनारै–किनार यात्रा गर्नुको मज्जा बेग्लै छ । लुक्लादेखि नाम्चेसम्म पुग्दा एउटै दूधकोसी नदीलाई सातवटा पुलबाट वारिपारि तर्न पाउँदा पदयात्रीलाई अर्कै आनन्दानुभूति मिल्छ ।
पहिलो दिन मानिस लुक्लाबाट मोन्जो या फाक्दिङ भन्ने स्थानसम्म पुगेर बास बस्ने गर्छन् । पर्यटक र पदयात्रीले लुक्लादेखि फाक्दिङ या मोन्जोसम्म पुग्न तीनदेखि ६ घण्टासम्म समय लगाउँछन् । साँझ फाक्दिङ पुगेपछि एक रात आराम गर्नुपर्ने हुन्छ । ट्रेकिङ गाइड, भरिया वा काम विशेषले खुम्बु पुग्ने नेपालीबाहेक घुम्नकै लागि नेपाली आक्कलझुक्कल यहाँ पुग्छन् । महँगी र असहज यात्राका कारण नेपालीहरु साहसिक यात्रामा ननिस्कने गरेको पाइन्छ । तर, खुम्बु पहिलेजस्तो महँगो र असुविधायुक्त नरहेको फाक्दिङका होटल व्यवसायी केशर कार्की बताउँछन् ।

नाम्चेबजारको कल्पना गर्दै दोस्रो दिनको यात्रा

भोलिपल्ट बिहान फाक्दिङबाट सुन्दर नाम्चेबजारको कल्पना गर्दै यात्रा सुरु गर्न सकिन्छ । यो यात्रा करिब ८–९ घण्टाको हुन्छ । खुम्बु पदमार्गमा नाम्चेसम्मको यात्रा नै सबैभन्दा कठिन र रोमाञ्चक पदयात्रा हो । जोरसल्लेसम्म खोला किनारै–किनार यात्रा गरेपछि नाम्चे भेट्न ठूलै साहस जुटाएर उकालो चढ्नका लागि तयार हुनुपर्छ । त्यसअघि जोरसल्लेनजिकै सगरमाथा राष्ट्रिय निकुञ्जको चेकपोस्ट छ । यहाँ निकुञ्ज हाताभित्र प्रवेश गरेबापत विदेशी पर्यटकलाई शुल्क लिइन्छ । सार्क राष्ट्रभित्रका नागरिकलाई १५ सय रुपैयाँ र अन्य देशका नागरिकका लागि ३ हजार रुपैयाँ शुल्क लिइँदै आएको छ । नेपाली पर्यटकका लागि भने कुनै शुल्क लाग्दैन ।
नाम्चेको उकालो लाग्नुअघि कोङ्दे हिमाल र सगरमाथा क्षेत्रबाट बगेर आएका दुई खोलाको दोभान भेटिन्छ । यही दोभानबाट दूधकोसी नदीको पहिचान सुरु हुन्छ । यही नदीमाथिको पुलमा अधिकांश पर्यटकको आँखा लाग्छ ।


यही पुलको यात्रापछि नाम्चेका लागि ठाडो उकालो सुरु हुन्छ । उकालोको आधा बाटोमा विश्रामस्थल छ, जसलाई तोपडाँडा भनिन्छ । तोपडाँडा समुद्रीसतहबाट ३ हजार २ सय मिटर उचाइमा रहेको स्थान हो । तोपडाँडाबाट सगरमाथादेखि थामसेर्कु हिमालसम्मको अवलोकन गर्न सकिन्छ । नाम्चे पुग्ने बेलामा चेकपोस्ट छ, जहाँ विदेशी पर्यटकको प्रवेश अनुमतिपत्र जाँच गरिन्छ । विश्वसम्पदा सूचीमा सूचीकृत सगरमाथा राष्ट्रय निकुञ्ज हाताभित्र प्रवेशमा सुरक्षा र शुल्कका लागि सरकारले ठाउँ–ठाउँमा चेक प्वाइन्ट राखेको छ । सामान्यतः दिन ढल्केपछि मौसम प्रतिकूल बन्छ । बिहानीको समयमा मौसम सफा हुने आशमा नाम्चे पुगेका यात्री रात बिताउँछन् ।

तेस्रो दिन : अाँखैअगाडि सगरमाथा

आकाश खुलेका बेला नाम्चेबाट हिमालपारिसम्मको मनमोहक दृश्य देख्न सकिन्छ । गगनचुम्बी हिमाल हेर्दै यात्रालाई अघि बढाउन पाउँदा थकान नै महसुस हुँदैन । सर्वाेच्च शिखर सगरमाथालाई आँखै अघि हेर्ने ठूलो रहर पूरा गर्दै नाम्चेबजारको शिर सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय परिसरतर्फ पाइला अघि बढाउनुपर्ने हुन्छ । नाम्चेबाट सगरमाथा नियाल्न यो नै सबैभन्दा उत्तम स्थान हो । खुला आकाशमा नजिकैका हिमाल अवलोकन गर्दै पदयात्री त्यसै–त्यसै टहलिन्छन् ।

हिमशृंखला देख्नेबित्तिकै सगरमाथा कुन हो ? यो सबैले गर्ने पहिलो प्रश्न हो । विश्वकै अग्लो शिखर सगरमाथाको आरोहण कठिन यात्रा हो तर नजिकबाट हेर्ने हुट–हुटी नहुने सायदै हुन्छन् । सगरमाथासँगै आमाडब्लम, थामसेर्कु र कोङदे हिमालले जो–कोहीलाई मोहित बनाउँछ ।


केही रकम खर्च गरेर नाम्चे वा स्याङबोचेसम्म मात्रै जान सक्ने हो भने पनि सगरमाथा पुगेको आभाष भिल्छ । खर्चका दृष्टिले पनि महँगो नपर्ने भएकाले नेपाली पर्यटकका लागि समेत नाम्चे वा स्याङ्बोचेसम्मका यात्रा ठूलो कुरा होइन ।
समुद्री सतहबाट ३ हजार ४ सय ४० मिटर उचाइमा रहेको नाम्चे पुग्दा पर्यटक नरमाउने कुरै भएन । बिहानीको समयमा पहाडको काखैमा रहेको नाम्चे बजारको सुन्दरताले जो–कोहीलाई मुग्ध बनाउँछ । अझ रातभर जागा बस्ने नाम्चे साँच्चै सुन्दर सहर हो । यहाँबाट आसपासका सबै दृश्य अवलोकन गरिसकेपछि नाम्चेबजारलाई तलतिर पारेर स्याङबोचेका लागि उकालो लाग्न सकिन्छ । नाम्चेदेखि स्याङ्बोचेसम्मको करिब एक घण्टाको पैदल उकालो शारीरिक रुपमा कठिनपूर्ण छ । तर, वरपरका दृश्य नै त्यस्तै छन्, जहाँ यात्रीले जस्तोसुकै कठिन उकालाहरु पनि सहजै पार गरिदिन्छन् ।


स्याङबोचे विमानस्थल, उचाइसँगै भौगोलिक कठिनाइ र व्यवस्थापनको अभावमा पिल्सिएको छ । यो विमानस्थलमा विमान अवतरण नभएको दशकौं भइसक्यो । तर, हेलिकप्टरहरु भने उडान र अवतरण हुनेगरेका छन् । स्याङ्बोचे विमानस्थल धुले विमानस्थल हो । हेलिकप्टरले कार्गो उडान गर्ने यो विमानस्थलमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीस्थित विमानस्थल फाप्लुबाट विभिन्न सामग्री ल्याइन्छ ।
नाम्चेबाट दुई घन्टाको उकालो हिँडेपछि ३ हजार ८ सय ८० मिटर उचाइमा रहेको एभरेस्ट भ्यु होटल पुग्न सकिन्छ । दशकमै जापानी नागरिकले सञ्चालनमा ल्याएको यो होटल नाम्चे नजिकैबाट सगरमाथा अवलोकन गर्ने उत्कृष्ट थलो हो । सगरमाथा हेर्न, सहज र रमणीय दृश्यावलोकन गर्न पनि पर्यटकहरु हेलिकप्टर चार्टर गरेरसमेत एभरेस्ट भ्यु जाने गर्छन् । मौसम खुलेका बेला एभरेस्ट भ्युबाट सगरमाथाका साथै तेबुचे, लोत्से, न्हुप्त्से, आमादब्लम, थामसेर्कुलगायत दर्जन हिमाल देख्न सकिन्छ ।
अधिकांशलाई लाग्न सक्छ, नाम्चेभन्दा पनि राम्रो ठाउँ अर्को कुन सक्छ ? तर, त्यहाँ पुग्ने र घुम्नेलाई थाहा छ, खुम्जुङ क्षेत्रको आकर्षण । तीन हजार ६ सय मिटर उचाइमा रहेको ‘हिडन ग्रिन भ्याली’को उपमा पाएको खुम्जुङलाई अलि टाढाबाट नियाल्दा अति सुन्दर देखिन्छ । सगरमाथा बेस क्याम्प नाम्चेबाटै जाने भएकाले उक्त क्षेत्र केही छायाँमा परेको छ । तर, अगाडिपट्टि हिउँ नबस्ने नाङ्गो डाँडोलाई त्यस क्षेत्रका बासिन्दाले भगवानको रुपमा पूजा गर्छन् । खुम्जुङ गाउँको शिरमा रहेको योे पहाडलाई खुम्बियुला नामले चिनिन्छ ।


खुम्जुङ यसै चुचुरोको फेदीमा अवस्थित एक आकर्षक गाउँ हो । जहाँ तीन दर्जनभन्दा बढी होटल छन् । शेर्पा समुदायको परम्परागत गाउँ पनि हो यो । यहाँका मानिसको लवाइखवाइ र रीतिरिवाज पनि पुरानै पाराको छ ।

 

खुम्जुङ गाउँ पूरै भ्रमण गरिसकेपछि खाना खाएर यहाँ केहीबेर विश्राम पनि गर्न सकिन्छ । त्यसपछि पुनः नाम्चे झर्न सकिन्छ । जाँदा जुन कठिनाइ थियो, फर्कन धेरै गुणाले सहज छ । ओरालो बाटो फर्किंदा नाम्चेको मनमोहक दृश्यपान फरक ढंगले गर्न पाइन्छ ।

चौथो दिन ः फेरि लुक्ला
चौथो दिन यहाँबाट सगरमाथा वा गोक्योका लागि फरक दुई जुनसुकै यात्रा पनि तय गर्न सकिन्छ । हिमालको काखमा बिताएका क्षणहरु संगाल्दै राजधानी फर्किन पनि सकिन्छ । फर्किंदा यहाँबाट एक दिनमै लुक्ला आइपुगिन्छ ।

पाँचौं दिन ः खुम्बुको अानन्द संगाल्दै काठमाडाैं
पाँचौं दिन बिहान जहाज चढेर पुन काठमाडौं फर्कन सकिन्छ । हिमालय क्षेत्र भएकाले मौसम सधैं अनु्कूल हुन्छ भन्ने छैन । प्रतिकूल मौसम भए जहाजको पर्खाइमा अरु दिन पनि बिताउनुपर्ने हुन्छ । सामान्यतः मानिस जहाजबाट सहजै राजधानी फर्कन सक्छन् । यसरी सहजै खुम्बु यात्रा गर्न सकिन्छ । यसरी पाँच दिनको यात्राका लागि जहाज टिकटसहित २० देखि २५ हजार रुपैयाँमा खुम्बु भ्रमणको आनन्द लिन सकिन्छ ।

प्रकाशित समय १३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु