गृहपृष्ठ नेकपाको पहिलो स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

नेकपाको पहिलो स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

बैठकले पार्टी सञ्चालन नियमावली पारित गर्ने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । नेकपा एमाले र माओवादी केन्द्र एकीकरणपछि गठन भएको नेकपाको यो पहिलो स्थायी कमिटी बैठक हो ।
नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ । स्थायी कमिटीमा तत्कालीन एमालेका पदाधिकारीसहित स्थायी कमिटी सदस्य तथा तत्कालीन माओवादी केन्द्रका केन्द्रीय कार्यालय कमिटीका सदस्य तथा अरु केही नेता सदस्य छन् ।
बैठकमा पार्टीको केन्द्रदेखि स्थानीयसम्मको संरचना विस्तारमा केन्द्रित रहेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्नेछन् । त्यसपछि महासचिव विष्णु पौडेलले एकता प्रक्रियादेखि यसबीच भएका संगठनात्मक कामको विवरण प्रस्तुत गर्नेछन् । बैठकले पार्टी सञ्चालन नियमावली पारित गर्नेछ । स्थायी कमिटी सदस्यहरुलाई आवश्यक सुझावसहित बैठकमा उपस्थित हुन भनिएको छ ।
पार्टी सञ्चालन नियमावली पारितपछि केन्द्रीय कमिटीको बैठक बसेर अनुमोदन गर्ने स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । विधान र नियमावली बनेपछि त्यसैलाई टेकेर तलका कमिटी एकीकरण गर्ने उनले बताए । ‘प्रतिवेदन पारितपछि प्रदेश कमिटी, जिल्ला किमिटीलगायतका कमिटी गठन गर्न बाटो खुल्नेछ,’ भुसालले भने ।
बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको आसन्न चीन भ्रमणबारे पनि छलफल हुनेछ । स्थायी कमिटी बैठकअघि नौ सदस्यीय केन्द्रीय सचिवालयको बैठक बालुवाटारमै बसेको थियो ।

प्रकाशित समय १६:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु