गृहपृष्ठ ट्रेड युनियन कांग्रेसलाई पनि कम्युनिस्टकै डर

ट्रेड युनियन कांग्रेसलाई पनि कम्युनिस्टकै डर

नवनिर्वाचित अध्यक्ष अाचार्य भन्छन्– कम्युनिस्ट सर्वसत्तावाद रोक्छौं

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसका नवनिर्वाचित अध्यक्ष पुष्कर आचार्यले आफ्नो मुख्य कार्यभार कम्युनिस्ट सर्वसत्तावाद रोक्ने र पार्टी सुदृढीकरण गर्ने रहेको बताएका छन् ।
राज्यका कुनै पनि अंगमा आफ्नो उपस्थिति रहने र शून्य अवस्थामा पुगेको पार्टी सदृढीकरणमा जोड दिने उनको भनाइ छ । ‘हाम्रो संगठन कमजोर भएको छ । त्यसलाई मजबुत बनाउनुपर्नेछ । त्यसका लागि संगठनको दायरा बढाउन जरुरी छ,” न्युजकारोबारसँग आचार्यले भने । कर्मचारीलाई आर्थिक रुपमा बलियो बनाउन भूमिका निर्वाह गर्ने उनले बताए ।
आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । गुट–उपगुटले गाँजिएको कांग्रेसको ट्रेड युनियनमा निर्वाचित आचार्यलाई काम गर्न त्यति सहज भने हुने छैन । सभापति शेरबहादुर देउवा पक्षले उनलाई अफ्ठ्यारो पार्ने रणनीति लिनसक्छ । तर, आचार्यले भने त्यसो हुन नदिने दाबी गरे । ‘अन्तरविरोध व्यक्तिसँग हुन्छ तर संगठनको हितका लागि कदापि अन्तरविरोध हुँदैन र हुन दिँदैनौं,’ उनले भने ।
केन्द्रदेखि प्रदेश सरकार कहीँ पनि कांग्रेसले नेतृत्व नपाउँदा र स्थानीय सरकारमा पनि न्यून उपस्थिति हुँदा कम्युनिस्ट सर्वसत्तावादको खतरा रहेको भन्दै नवनिर्वाचित अध्यक्ष आचार्यले त्यसतर्फ जनतालाई सजग गराउने बताए । ‘अहिले मुलुक छुट्टै ढंगले हिँड्न थालेको छ । कम्युनिस्टलाई घमण्ड र दम्भले छपक्कै छोपेकाले जे पनि गर्न सक्छन्,’ उनले भने, ‘मुलुकलाई विधिअनुरुप चलाउन पनि सिकाउनुपने छ । त्यसतर्फ हाम्रो ध्यान विशेष रहन्छ ।’
आचार्यले कम्युनिस्टहरुले एकजुट भएर जनताको नाममा एकतन्त्रीय शासन लाद्न खोजेको आरोप लगाए । संविधानबाट पाएको अधिकार र संसदबाट कानुन बनाएर लिएको अधिकार खोसिने डर कांग्रेसलाई रहेको उनले बताए ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु