गृहपृष्ठ सुनसरीमा जीप दुर्घटना, ६ जनाको मृत्यु ४ घाइते
सुनसरीमा जीप दुर्घटना, ६ जनाको मृत्यु ४ घाइते

सुनसरीमा भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । पूर्व—पश्चिम राजमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिका–४ कोशी कटानमा सोमबार राति भएको उक्त दुर्घटनामा परी अन्य ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतको विहार राज्यको सुपौल जिल्लास्थित लक्ष्मीणीया बस्ने ४० वर्षीय संजीव कुमार र सोही ठाउँका गोनुकुमार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मृतक ६ जनामध्ये दुईजनाको मात्र नाम खुलेको र बाँकी चारजनाको नाम खुल्न बाँकी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिए ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर ०६ पीबी ६४१८ नम्बरको स्कारपिओ जिप आफैँ अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परी तीनजनाको घटनास्थलमा र तीनजनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ ।
घटनास्थलमा मृत्यु भएका तर नाम नखुलेका तीनजनाको शव जिल्ला अस्पताल, इनरुवामा राखिएको छ भने उपचारका क्रममा मृत्यु भएकाको शव विराटनगरस्थित अस्पतालमै राखिएको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:०० बजे