गृहपृष्ठ नेकपाका प्रतिनिधिको असन्तुष्टि : हिटलरको शैलीमा नगरसभा
नेकपाका प्रतिनिधिको असन्तुष्टि : हिटलरको शैलीमा नगरसभा
भेरीगंगा नगरपालिकाले हिटलरको शैलीमा नगरसभाबाट बजेट पास गरेको आरोप नगरपालिका–१३ का अध्यक्ष टिकाराम सुवेदीले लगाएका छन् । बामगठबन्धन तर्फका २८ जना जनप्रतिनिधिले बुधबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी यस्तो आरोप लगाएका हुन् ।
‘गत असार ३२ गते भेरीगंगा नगरपालीकाले नगरसभाको आयोजना गरी सत्तापक्षको आडमा विपक्षीको मागलाई ध्यान नदिई हिटलरको शैलीमा सभाबाट आगामी वर्षको नीति तथा बजेट पास गरेको छ,’ उनले भने, ‘यसमा वामगठबन्धनतर्फका सबै जनप्रतिनिधि असन्तुष्ट छौं ।’
बहुमतको आडमा नेपाली कांग्रेसबाट जितेका नगर प्रमुख तथा उपप्रमुखले वामगठबन्धनका प्रतिनिधिलाई विगतदेखि नै पेल्दै आएको उनले बताए । ‘भेरीगंगा नगरपालिकाका प्रत्येक वडालाई एक–एक करोड रकम माग गरे पनि नगरपालिकाले २५–३० लाखमा झारो टारेको छ,’ सुवेदीले भने । आफूहरु प्रतिपक्षको हैसियतमा बोलेको नभई जनताको माग सम्बोधन गर्न विरोेधमा उत्रिएको सुवेदीको भनाइ छ ।
कार्यक्रममा भेरीगंगा–११ का अध्यक्ष तिलक डाँगीले बहुमतले गरेको निर्णय भए पनि जनताको हितविपरीत भएकाले त्यसलाई सच्याएर अगाडि बढ्नुपर्ने बताए । भेरीगंगा नगरपालिकाले अझै पनि आफूहरुको मागको सुनुवाइ नगरेमा कडाभन्दा कडा आन्दोलनमा जाने असन्तुष्ट वामगठबन्धनका जनप्रतिनिधिले चेतावनी दिएका छन् ।
प्रकाशित समय २०:३१ बजे

















