गृहपृष्ठ बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनीपछि संसदीय सुनुवाइ फेरि अनिर्णीत

बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनीपछि संसदीय सुनुवाइ फेरि अनिर्णीत

depakraj joshi-newskarobar

 

सत्तापक्ष र विपक्षी दलका सांसदबीच मत बाझिँदा संसदीय सुनुवाइ समितिको बैठक बुधबार पनि अनिर्णीत बनेको छ । प्रस्तावित प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अनुमोदन गर्ने विषयमा सहमति नजुट्दा बैठक दुई दिन पछि धकेलिएको हो ।

बुधबार दिउँसो ३ बजे बोलाइएको सुनुवाइ समितिको बैठक दुई घण्टा ढिलो गरी बसे पनि कुनै निर्णय हुन सकेन । समितिका सदस्यबीच सहमतिको प्रयास जारी राख्ने र शुक्रबार बिहान १० बजे निर्णय लिने समिति सदस्यहरुले बताएका छन् ।

सत्तारुढ दलका सांसदले अनुमोदन नगर्ने बताएपछि कांग्रेसका सांसदले बैठक स्थगन गर्न माग गरेका थिए । पूर्वसांसद कृष्णकुमार जोशीको निधनको शोकमा बैठक स्थगित गर्न भनिएपछि जेष्ठ सदस्यको हैसियतमा सभापति रहेका लक्ष्मणलाल कर्णले बैठक स्थगन गरेका थिए ।

समितिमा रहेका कांग्रेसका चार सांसदले बैठक स्थगन नभए बहिष्कार गर्ने चेतावनी दिएपछि सभापति कर्ण स्थगन गर्न बाध्य भएका हुन् । १५ सदस्यीय समितिका सदस्यमध्ये सत्तापक्ष प्रधानन्यायाधीशमा जोशीको नाम कुनै हालतमा अनुमोदन नगर्ने र प्रतिपक्षका सांसद जोशीलाई अनुमोदन गर्नैपर्ने अडानमा उभिएपछि समिति अनिर्णयको बन्दी बन्दै आएको छ ।

यसअघि, दुईपटक समितिको बैठक राखेर बस्दै नबसी स्थगित गरियो भने एकपटक बैठक बसे पनि निर्णय हुन सकेको थिएन । गएको बिहीबारै जोशीको सुनुवाइ सकिएको हो ।

प्रकाशित समय १८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु