गृहपृष्ठ दाहाल बिहीबार दिल्ली जाँदै, माेदिसँग पनि भेट गर्ने
दाहाल बिहीबार दिल्ली जाँदै, माेदिसँग पनि भेट गर्ने
फाइल तस्बिर
नेपा कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार दक्षिणी छिमेकी मुलुक भारत भ्रमणमा जाँदै छन् । प्रचण्ड दिउँसो साढे ३ बजे एयर इन्डियाको हवाइजहाजबाट नयाँ दिल्ली जान लागेका हुन् । पत्नी सीता, छोरी गंगा, स्वकीय सचिव जोगबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मासहति दाहाल दिल्ली जाने उनको सचिवालयले जनाएको छ ।
दिल्ली पुगेपछि बिहीबार नै उनी नेपाली राजदूतावासको सामान्य भेटघाट कार्यक्रममा सहभागी हुनेछन् । शुक्रबार उनले आईसीडब्लूएको कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यसपछि राजनीतिक भेटघाट सुरु गर्ने दाहालले भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गरेपछि अरु नेताहरूसँग भेटघाट गर्नेछन् ।
उनले भारतीय प्रधानमन्त्री र अन्य राजनीतिक दलका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । नेपालको राष्ट्रिय हित, विकासप्रति जनताको आकांक्षा सम्बोधन गर्ने र विगतमा नेपाल र भारतबीच भएका सहमति–सम्झौता कार्यान्वयनमा केन्द्रित रहेर भारतीय प्रधानमन्त्रीलगायत नेताहरूसँग छलफल गर्ने बताईएको छ ।
भारत बसाईका क्रममा दाहालले त्यहाँका बुद्धिजीवी र पत्रकारसँग पनि भेटघाट गर्नेछन् । भारत सरकारको निमन्त्रणामा दिल्ली जान लागेका उनी ३ दिनपछि स्वदेश फर्कने तालिका छ । स्वदेश फर्केपछि दाहाल भदौ ३० मा अर्काे छिमेकी चीनको भ्रमणमा जाने कार्यतालिका छ ।
प्रकाशित समय १३:३५ बजे

















